भक्तपुर । देवी माध्यमिक विद्यालयलाई रु. चार करोडको लागतमा बनेको भवन हस्तान्तरण गरेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलस्थित सो विद्यालयको नवनिर्मित भवन बिहीबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
सांसद सुवालले उद्घाटन गरेपछि जिल्ला आयोजना इकाई(शिक्षा) का प्रमुख भरतबहादुर श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला र विद्यालयका प्रधानाध्यापक राजाराम छुकांलाई संयुक्त रुपमा विद्यालयको साँचो हस्तान्तरण गरे । भवन निर्माणका लागि रु. ३ करोड ७३ लाख ७७ हजार बजेट विनियोजन भएको थियो ।
भवन निर्माणको काम २०७५ पुस २५ गतेबाट सुरु भएको थियो । गत बैशाखमै निर्माण सम्पन्न उक्त भवन कोरोना महामारीको कारण रोकिएको थियो ।
गुणस्तरीय शिक्षा दिने उत्कृष्ट विद्यालयको रुपमा रहेको सो विद्यालयमा विद्यार्थीको आर्कषणका कारण कक्षाकोठा अभाव थियो । भवन हस्तान्तरणसँगै विद्यालयको उक्त समस्या हल हुने जिल्ला आयोजना इकाई(शिक्षा)का प्रमुख भरतबहादुर श्रेष्ठले जानकारी दिए ।










