काठमाडौँ । बुधबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ । तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिका फोरमले विज्ञप्ति नै जारी गरेको छ ।
‘यहि भदौ १८ गतेदेखि लागु हुनेगरी थपिएको निषेधाज्ञामा दिउँसो दुई बजेदेखि साँझ ९ बजेसम्म विकास निर्माणका पसल–व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,’ ‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गरिन्छ ।’
मध्यपुर ठिमीका मेयर श्रेष्ठले अहिले उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहनुभएको र उहाँसँग भर्चुअलसम्बाद गरी विज्ञप्ति जारी गरेको जानकारी दिनुभयो ।
मेयर श्रेष्ठले काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत तिब्ररुपमा बढिरहेको सन्दर्भमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रुपमा निषेधाज्ञा आवश्यक रहेको उपत्यका नगरपालिका फोरम, काठमाडौँको ठहर रहेको पनि जानकारी दिनुभयो । ‘वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिदैँ आएका अत्यावश्यक बाहेकका सेवा–प्रवाह भदौ २४ सम्म बन्द रहने पनि यसै विज्ञप्ति मार्फत जानकारी गराउँछौँ,’ विज्ञप्तिमै भनिएको छ ।










