पर्दाभित्रको सम्बन्ध

मोबाइलको पर्दाभित्रको सम्बन्ध र घरभित्रको माया

सामाजिक सञ्जाल आजको जीवनको अभिन्न हिस्सा बनिसकेको छ। यसले टाढालाई नजिक बनाएको छ, अपरिचितलाई परिचित बनाएको छ र संवादका असंख्य ढोका खोलेको छ। तर यही पर्दाभित्र सुरु हुने कतिपय संवादले मानिसको घरभित्रको सम्बन्धलाई भने नजिक होइन, टाढा पनि बनाइरहेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन।

एउटै कोठामा बसेका श्रीमान्–श्रीमती एकअर्कासँग मौन हुन्छन्, तर मोबाइलको पर्दामा कसैसँग घण्टौँ संवाद गरिरहेका हुन्छन्। एउटै घरमा खाना खान बसे पनि ध्यान मोबाइलमै हुन्छ। अझ कतिपय अवस्थामा त जीवनसाथीले आफ्नै मोबाइल अर्को व्यक्तिलाई देखाउन नचाहने अवस्था सिर्जना हुन्छ। मोबाइलको पासवर्डभन्दा ठूलो दूरी मनका ढोकामा पैदा हुन थाल्छ।
तर सामाजिक सञ्जाललाई केवल सम्बन्ध बिगार्ने माध्यमका रूपमा हेर्नु पनि पूर्ण सत्य होइन। यही माध्यमबाट सुरु भएको कुनै संवादले मानिसलाई भावनात्मक रूपमा जोडेको, एक्लोपन हटाएको र अन्ततः विवाह तथा पारिवारिक जीवनसम्म पुर्‍याएको उदाहरण पनि समाजमा देखिन्छ। अर्थात्, माध्यम दोषी होइन; त्यसको प्रयोग, उद्देश्य र मर्यादाले परिणाम निर्धारण गर्छ।

आजको चुनौती सामाजिक सञ्जाल बन्द गर्नु होइन, सम्बन्धभित्र संवाद खुला गर्नु हो। मोबाइलले हामीलाई संसारसँग जोड्दै गर्दा आफ्नै घरको मानिससँग नछुटाओस् भन्ने सचेतना आवश्यक छ। सामाजिक सञ्जालमा सयौँ ‘फ्रेन्ड’ थपिँदा आफ्नै जीवनसाथी अपरिचित बन्दै जानु विडम्बना हो।
प्रेमको वास्तविक परीक्षा मोबाइलको पर्दामा होइन, घरको व्यवहारमा हुन्छ। सामाजिक सञ्जालबाट बनेको सम्बन्ध यदि सम्मान, पारदर्शिता र जिम्मेवारीमा आधारित छ भने त्यसले जीवनलाई सुन्दर बनाउन सक्छ। तर लुकाएर, छल गरेर वा पारिवारिक विश्वासलाई कमजोर बनाएर अघि बढेको सम्बन्धले अन्ततः मनमा चोट र घरमा दरार निम्त्याउन सक्छ।

त्यसैले आजको पुस्तालाई आवश्यक छ—मोबाइलमा कम गोपनीयता होइन, सम्बन्धमा बढी विश्वास; मोबाइलमा कम समय होइन, आफ्ना मानिसका लागि बढी समय; र सामाजिक सञ्जालमा मात्र होइन, घरभित्र पनि प्रेमको संवाद।

प्रविधिले मानिसलाई जोड्न बनाइएको हो, तोड्न होइन। अब हाम्रो जिम्मेवारी यति हो—मोबाइल हातमा रहोस्, तर सम्बन्ध मनमा रहोस्। सामाजिक सञ्जाल चलोस्, तर घरको माया नचलोस्।

किनकि अन्ततः जीवनको सबैभन्दा सुन्दर ‘नेटवर्क’ कुनै सामाजिक सञ्जालको नेटवर्क होइन—विश्वास, संवाद र प्रेमले जोडिएको परिवार हो।

✍️
नबराज काफ्ले,सामाजिक अभियन्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *