नबराज काफ्ले
भक्तपुर,आश्वीन ०२
चाँगुनारायण नगरपालिका–२ दुवाकोट मोडदेखि के.एम.सी. अस्पताल चोकसम्मको सडकमा बढ्दै गएको अव्यवस्थित सवारी पार्किङका कारण आवागमनमा समस्या हुन थालेपछि वडा कार्यालयले ‘पार्किङ क्यालेन्डर’ लागू गर्ने नयाँ पहल थालेको छ।
सडकको दुवै किनारामा जथाभावी सवारी साधन पार्किङ गर्ने प्रवृत्तिलाई व्यवस्थित गर्दै सडक आवागमन सहज बनाउने उद्देश्यले वडा कार्यालयले दुवाकोट प्रहरी प्रभागसँग सहकार्य गरी यो व्यवस्था अघि सारेको हो।
वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अब बारअनुसार सडकको एकातर्फ मात्र सवारी पार्किङ गर्नुपर्नेछ। जसअनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार सडकको पश्चिमतर्फ तथा सोमबार, बुधबार र शुक्रबार पूर्वतर्फ सवारी पार्किङ गर्नुपर्नेछ। यसबाट सडकको दुवै किनारामा एकैपटक हुने पार्किङ नियन्त्रण भई आवागमनका लागि पर्याप्त स्थान उपलब्ध हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष सोमप्रसाद प्रधानले पार्किङ व्यवस्थापनलाई केवल कारबाहीको विषय नभई स्थानीय नागरिक, व्यवसायी, चालक र प्रहरी सबैको सहकार्यबाट समाधान गर्नुपर्ने विषयका रूपमा अघि बढाइएको बताएका छन्। उनका अनुसार दुवाकोटको मुख्य सडकमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङका कारण पैदलयात्री तथा सवारी चालक दुवैले असहजता भोग्दै आएका छन्। त्यसैले सरल र व्यवहारिक नियम बनाएर स्थानीयस्तरमै कार्यान्वयन सुरु गरिएको हो।
दुवाकोट प्रहरी प्रभागका खिलबहादुर दुलालले पनि वडा कार्यालयसँगको समन्वयमा पार्किङ व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण र निगरानी गरिने बताएका छन्। सार्वजनिक सडकमा जथाभावी पार्किङ गर्दा पैदलयात्री, एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारी तथा अन्य सवारी साधनको आवागमन प्रभावित हुन सक्ने भएकाले निर्धारित नियम पालना गर्न उनले सबैलाई आग्रह गरेका छन्।
सामाजिक अभियन्ता नवराज काफ्लेले दुवाकोटमा सुरु गरिएको पार्किङ क्यालेन्डरलाई सडक अनुशासन र नागरिक संस्कारसँग जोडेर कार्यान्वयन गर्नुपर्ने बताएका छन्। उनका अनुसार नियम बनाएर मात्र पुग्दैन, ‘व्यक्ति होइन, व्यवस्था’ भन्ने भावनाका साथ सबैले पालना गर्ने वातावरण बनाउन आवश्यक छ। पार्किङ क्षेत्रलाई क्रमशः चिन्ह लगाउने, सडक किनारामा स्पष्ट संकेत बोर्ड राख्ने, पैदलयात्रीका लागि सुरक्षित स्थान छुट्याउने तथा प्रारम्भिक चरणमा नागरिकलाई सचेत गराउने अभियानसँगै अघि बढाउन सके व्यवस्था अझ प्रभावकारी हुने उनको सुझाव छ।
वडा कार्यालयले जथाभावी पार्किङ गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेसमेत सूचनामार्फत जानकारी गराएको छ। स्थानीय तह, प्रहरी र समुदायबीचको समन्वयमा सुरु गरिएको यो पहलले दुवाकोटको व्यस्त सडकलाई व्यवस्थित, सुरक्षित र सहज बनाउने दिशामा स्थानीयस्तरको व्यावहारिक अभ्यासका रूपमा महत्व राखेको छ।
पार्किङ क्यालेन्डर :-
आइतबार: सडकको पश्चिमतर्फ
सोमबार: सडकको पूर्वतर्फ
मंगलबार: सडकको पश्चिमतर्फ
बुधबार: सडकको पूर्वतर्फ
बिहीबार: सडकको पश्चिमतर्फ
शुक्रबार: सडकको पूर्वतर्फ
शनिबार: सडकको पश्चिमतर्फ









Leave a Reply