भक्तपुर । भक्तपुरको दरवार क्षेत्र जहाँ एउटा सम्पदा हेरेर अर्को सम्पदा पुग्न घण्टौँ हिँड्नु पर्दैन । केही पाइला अघि बढ्दा अर्को इतिहास भेटिन्छ । केही बेर उभिँदा अर्को संस्कृति देखिन्छ । केही मिनेटमै मन्दिर, दरबार, चोक, पाटी र कलात्मक वास्तुकलाको संसार आँखा अघि खुल्छ । त्यसैले भक्तपुर दरबार स्क्वायरलाई एउटा वाक्यमा चिनाउनु पर्दा भन्न सकिन्छ– ‘जहाँ एक मिनेटको हिँडाइमै संसार देखिन्छ ।’
यो संसार आधुनिक भवन र चम्किला सडकको संसार होइन । यो सयौँ वर्ष पुरानो कला, संस्कृति, धर्म, वास्तुकला र सभ्यताको संसार हो । यहाँको प्रत्येक ढुंगा, इँटा, काठ र धातुमा एउटा कथा लुकेको छ, अर्काे कथा छिपेको छ ।
भक्तपुर दरबार क्षेत्र नेपालको मध्यकालीन कला र वास्तुकलाको अनुपम केन्द्र हो । यहाँं प्रवेश गर्ने प्रमुख चल्तीको मार्ग हो खौमा गेट । कलात्मक यो गेटबाट भित्र पसेपछि नयाँं तर पुरानै संसार देखिन्छ । यही गेटबाट प्रवेश गर्न विदेशी पर्यटकले तिर्नुपर्छ प्रति पर्यटक दुई हजार रुपैयाँं प्रवेश शुल्क ।
यो गेटबाट प्रवेश गरेपछि देखिन्छ, संसारमै प्रख्यात ५५ झ्याले दरबार । यही परिसरमै छ गोल्डेन गेट अर्थात् सुनको ढोका । थन्थु दरबार, फसी देग, पशुपति मन्दिर, कृष्ण मन्दिर मात्रै होइन यहाँं लाल बैठक (दरवार) पनि छ । यहाँं लामो पाटी, एल आकारको अर्काे लामो पाटी मात्रै होइन, ५५ झयाले दरवार बनाउन लगाउने राजा भूपतिन्द्र मल्लको अग्लो ढुंगामा विन्ती गरिराखेको शालिक पनि छ । राष्टिय संग्राहलय पनि यही भित्र छ, जहाँं अवलोकनका लागि नेपाली र विदेशी दुवैले प्रवेश शुल्क तिर्नुपर्छ । यसबाहेक अन्यका लागि पैसा तिर्नु पर्दैन ।
खौमा गेटबाट भित्र आउने वितिकै देखिन्छ, नेपालकै पुरानोमध्येका एउटा स्कुल श्री पदम मावि । यो स्कुलमा पहिला बसन्तपुर दरवार रहेको थियो, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पुरातत्व विभाग संग्रहालय तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी कार्यबाहक प्रमुख एवं सम्पदा अधिकृत रज्जु हाडा भन्छिन्, तत्कालिन शाशक पदम शमशेरले पछि शिक्षाका लागि भन्दै स्कुल सञ्चालमा ल्याए ।
यो स्कुलको ठिक दाया साइडमा पर्छ कृष्ण मन्दिर अर्थात् गोपीनाथ कृष्ण मन्दिर छ । यो मन्दिरबाट केही पाइला अगाडि वढेपछि राष्यिय कला संग्राहलय छ । यहाँं भित्र गएर विभिन्न पुराना कुराहरु हेर्न सकिन्छ टिकट काटेर । त्यही संग्राहलयसँंगै जोडेर उही सेप साइज तर सेतो रंगमा छ लाल बैठक । यही बैठकसँंग जोडेर छ गोल्डेन गेट । यही गेटसँंगै जोडिएको छ ५५ झ्याले दरवार । यसको उल्टो दिशामा भने पशुपति मन्दिर र लामोपाटी रहेका छन् । यति क्षेत्र भौगोलिक हिसावले भक्तपुर नगरपालिका वडा नं ३ मा पर्दछ ।
केही दूरीमै यति धेरै ऐतिहासिक संरचना भेटिनु नै भक्तपुरको सबैभन्दा ठूलो विशेषता हो, दसक अघिदेखि पर्यटन गाइडका रुपमा कार्यरत एकजना पर्यटक गाइड असिम शाह भन्छन्, नेपालको कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालयका रूपमा परिचित भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ– आखिर यति सानो क्षेत्रमा यति धेरै इतिहास कसरी अटाएको होला ?
भक्तपुर दरबार स्क्वायरको विशेषता नै यही हो । यहाँ एक ठाउँबाट अर्को ऐतिहासिक सम्पदा पुग्न लामो यात्रा गर्नु पर्दैन । केही पाइला हिँड्ने बित्तिकै अर्को सम्पदा भेटिन्छ । त्यसैले भक्तपुर दरबार क्षेत्रलाई ‘जहाँ एक मिनेटको हिँडाइमै संसार देखिन्छ’ भन्दा अतिशयोक्ति नहोला, उनी थप्छन् ।
मध्यकालीन मल्लकालीन कला, वास्तुकला, संस्कृति र धार्मिक आस्थाको अनुपम संगम रहेको दरबार क्षेत्रमा प्रवेश गर्ने बित्तिकै पुरानो भक्तपुरको जीवनशैलीसँग साक्षात्कार हुन्छ । यहाँका इँटाका गल्ली, कलात्मक झ्यालढोका, मन्दिर, पाटी, पोखरी, चोक र दरबारका अवशेषले भक्तपुरको समृद्ध इतिहासलाई आज पनि जीवित राखेका छन् ।
५५ झ्याले दरबार
दरबार क्षेत्रमा रहेको ५५ झ्याले दरबार भक्तपुरको प्रमुख आकर्षणमध्ये एक हो । काठमा कुँदिएका कलात्मक झ्याल, ढोका र वास्तुशैलीले तत्कालीन नेपाली शिल्पीहरूको अद्भुत सीपको परिचय दिन्छ । दरबार परिसरमा प्रवेश गर्ने पर्यटकहरूका लागि यो दरबार इतिहास हेर्ने मात्र नभई नेपाली वास्तुकलाको अध्ययन गर्ने महत्वपूर्ण स्थलसमेत बनेको छ ।
५५ झ्याले दरबार भक्तपुरको दरबार क्षेत्रको प्रमुख पहिचान हो । यसको नामसँगै जोडिएको ‘५५ झ्याल’ आफैँमा वास्तुकलाको आकर्षण हो । काठमा कुँदिएका झ्याल, ढोका र विभिन्न कलात्मक आकृतिले तत्कालीन शिल्पीको अद्भुत दक्षता देखाउँछन् । पर्यटकहरू ती झ्यालका अगाडि उभिएर तस्बिर खिच्छन् । तर ती झ्याल केवल तस्बिर खिच्ने पृष्ठभूमि होइनन् । तिनले भक्तपुरको तत्कालीन दरबारी जीवन, काष्ठकलाको विकास र वास्तुकलाको उचाइ सम्झाइरहेका छन् ।
यो दरवार केही वर्ष अगाडि सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । हप्तामा एक दिन मंगलबार मंगलबार सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । तर अहिले पनि वन्द छ । दरवारको सरक्षालाई ध्यानमा राखी सर्वसाधारणलाई प्रवेश निशेध गरिएको जनाइएको छ ।
गोल्डेन गेट अर्थात् स्वर्णद्वार
दरबार क्षेत्रको सबैभन्दा चर्चित दृश्यहरूमध्ये एक हो गोल्डेन गेट अर्थात् स्वर्णद्वार । सुनौलो आभाले चम्किरहेको यो ढोका हेर्दा पर्यटक केही क्षण रोकिएर त्यसको कलात्मक बनोट नियाल्छन् । धातु र काठमा गरिएको सूक्ष्म कलाले तत्कालीन नेपाली शिल्पकलाको उच्च स्तरलाई प्रस्तुत गर्छ यसले ।
गोल्डेन गेट भक्तपुरको एउटा प्रवेशद्वार मात्र होइन । यो यहाँको कला र वास्तुकलाको परिचयपत्र जस्तै बनेको छ । यसै क्षेत्रमा रहेका मन्दिर, दरबार र चोकसँग यसको सम्बन्धले भक्तपुरको धार्मिक तथा सांस्कृतिक जीवनको एउटा पूर्ण चित्र प्रस्तुत गर्छ ।
पशुपति र कृष्ण मन्दिर
भक्तपुरमा पनि पशुपति मन्दिर छ भन्दा अहिले पनि धेरै भक्तपुरे अच्चमित हुन्छन् । तर यही दरवार क्षेत्रभित्र छ पशुपति मन्दिर । यसलाई यक्षश्वर महादेव पनि भनिन्छ । यो मन्दिर अरु मन्दिर जस्तै हो तर यो भन्दिरको प्रत्येक तोरणमा एउटा फरक दृश्य हेर्न सकिन्छ, त्यो हो यौन आसन । यो मन्दिरका दर्जन वढी तोरणहरुमा यौन सम्पर्कका फरकफरक आसनहरु काठले कुँदेरै बनाइएका छन् ।
गोपीनाथ कृष्ण मन्दिर दरवार क्षेत्रभित्रका धेरै मन्दिरमध्येको एक हो । यो मन्दिर खौमा गेटबाट दरवार क्षेत्र प्रवेश गर्ने वितिकै देखिन्छ । मन्दिर विहानविहान पुजारीले पूजाका लागि खोलेका हुन्छन् ।
दरबार क्षेत्रमा रहेका पशुपति मन्दिर र कृष्ण मन्दिरले भक्तपुरको धार्मिक जीवनलाई थप समृद्ध बनाएका छन् । मन्दिरमा पुग्दा वास्तुकला र आस्था एकैसाथ देखिन्छ । बिहान पूजाका लागि आउने स्थानीयदेखि ऐतिहासिक संरचना हेर्न आउने पर्यटकसम्म एउटै परिसरमा भेटिन्छन् । पर्यटकका लागि मन्दिर वास्तुकलाको नमुना हो भने स्थानीयका लागि यो आस्था र परम्परासँग जोडिएको जीवित सम्पदा हो । यही नै भक्तपुरको विशेषता हो । यहाँ सम्पदा संग्रहालयभित्र थन्किएको वस्तु होइन । मानिसको दैनिक जीवनसँग जोडिएर आज पनि बाँचिरहेको संस्कृति हो ।
फसीदेग मन्दिर अर्थात् शिलु महादेव
शिलु महादेव मन्दिरलाई फरक–फरक नामले चिनिन्छ । नेपाली भाषामा यस मन्दिरलाई शिलु महादेव मन्दिर भनेर चिनिन्छ जुन रसुवाको गोसाइँकुण्डको नेवारी नामबाट आएको हो । यो मन्दिरको अर्काे नाम फसी देग मन्दिर पनि भनिन्छ । फर्सी जस्तो देखिने भएकोले यो मन्दिरलाई फसी देग पनि भनेर व्यापक रूपमा प्रयोग गरिन्छ । यो मन्दिरको अर्को नाम नीलकण्ठेश्वर महादेव मन्दिर पनि हो ।
किंवदन्ती अनुसार जब भक्तपुरको पाँचतले मन्दिर निर्माण गरिँदै थियो, त्यसबेला कान्तिपुरका राजाले भक्तपुरका राजालाई एउटा मन्दिर आफैँ निर्माण गरिदिने भनेका थिए । भक्तपुरका राजाले प्रस्ताव स्वीकार गरे अनि तब उनले मन्दिर निर्माण गर्नको लागि एक वर्षको लागि म्याद तोक । तर, एक वर्षभित्र पनि मन्दिरको निर्माण पूरा भएन र मन्दिर निर्माणको काम बीचैमा रोकियो । यसका कारण मन्दिरको नाम “मजाः देग’ (अधुरो मन्दिर) बाट चिनिन थालियो भन्ने इतिहासमा उल्लेख छ । शिलु महादेव मन्दिर भक्तपुरका राजा जगतप्रकाश मल्लको पालामा वि.सं १७०७ सालमा निर्माण भएको थियो भनिन्छ र केही विवरणका अनुसार यो मन्दिर जितामित्र मल्लको शासनकालमा बनेको भनिन्छ ।
गोसाइँकुण्डमा तीर्थयात्रीमा जान नसक्ने बच्चाहरू, बूढाबूढी र अशक्तहरूका लागि यो मन्दिर बनाइएको थियो भन्ने कहावत छ । यो मन्दिर सुरुमा शिखर शैलीमा बनेको थियो । ९० सालको महाभूकम्पले मन्दिर भत्कियो । २०७८ सालमा यस मन्दिरको मौलिक रूपमा पुनर्निर्माण गरियो ।
थन्थु दरवार
थन्थु दरवार हाल निर्माणाधिन छ । यही दरवारमा थियो, भक्तपुर नगरपालिका कार्यालयको कार्यालय । तर २०७२ सालको महाभूकम्पपछि यो दरवार भत्कियो । त्यसपछि हाल भक्तपुर नगरपालिकाको कार्यालय सारियो । हाल भक्तपुर नगरपालिकाको नयाँं कार्यालय भक्तपुर नगरपालिका वडा नं २ व्यासीमा रहेका छ । यो दरवार नगरपालिकाले पुननिर्माण गरिराखेको छ । दरवारलाई इटा, काठ, माटोबाटै परम्परागत शैलिमा पुननिर्माण जारी छ अर्थात् डन्डी सिमेन्ट डसी केही पनि प्रयोगमा छैन यो दरवार पुननिर्माणमा ।
पर्यटकका लागि खुला संग्रहालय
भक्तपुर दरबार स्क्वायरलाई खुला संग्रहालय भन्नुको कारण यही हो । यहाँ संग्रहालयभित्र राखिएका वस्तु हेरेजस्तो मात्र हुँदैन, सडकमा हिँड्दा इतिहास देखिन्छ । मन्दिरमा पूजा भइरहन्छ । पाटीमा मानिस बसिरहेका हुन्छन् । पसलमा स्थानीय उत्पादन देखिन्छ । परम्परागत घरका झ्यालबाट पुरानो वास्तुकला झल्किरहेको हुन्छ । पर्यटकले यहाँ केवल ‘हेर्ने’ होइन, अनुभव गर्ने अवसर पाउँछन् ।
यहाँं इटाले विछ्याइएको सुन्दर भुइँ हेर्न सकिन्छ । इँटाको वास्तुकला छुन सकिन्छ । मन्दिरको घण्टी सुन्न सकिन्छ । चोकमा बसेर स्थानीय जीवन नियाल्न सकिन्छ । यही कारण भक्तपुरको पर्यटन अन्य धेरै गन्तव्यभन्दा फरक छ र त सिमानामा रहेको एउटै जिल्ला मध्यपुर थिमि नगरपालिका जुन काठमाडौंसँंग जोठिएको छ मा प्रवेश शुल्क नलिए पनि पर्यटक शुन्य छ तर भक्तपुर नगरपालिकाले प्रति पर्यटक दुई हजार प्रवेश शुल्क लिए पनि यहाँं पर्यटकले भरिभराउ छ ।
९९ चोकको खोजी
भक्तपुर दरवार क्षेत्रभित्र ९९ वटा चोक रहेको बताइन्छ । दरबार क्षेत्रमा रहेका विभिन्न चोकमध्ये ९९ चोकले पनि भक्तपुरको दरबारी तथा सांस्कृतिक इतिहासको अर्को पक्ष सम्झाउँछ । तर अहिले ती सवै चोकहरु छैनन् । यही चोकको खोजी र उत्खनन्मा पनि छ भक्तपुर नगरपालिका । यही कारण दरवार क्षेत्रभित्र पछि भत्काउन अप्ठेरो हुने गरी ढलानका घरहर बनाउन दिइएको छ । पुरानो शारदा मावि इटा माटोबाटै बनेको छ । नयांँ भबन बनाउनु परेपछि जिल्ला अदालत सारिएको छ । हाल जिल्ला अदालत भक्तपुर दरवार क्षेत्रबाट भक्तपुरको च्याम्हासिंह कमलविनायकमो प्लानिग जग्गामा छ ।
एक मिनेटमा कति संसार ?
भक्तपुर दरबार स्क्वायरको सबैभन्दा रोचक पक्ष यही हो– दूरी छोटो, अनुभव विशाल । एउटा सम्पदाबाट अर्को सम्पदासम्म पुग्न केही मिनेट मात्र लाग्छ । तर ती केही मिनेटको पैदल यात्रामा पर्यटकले शताब्दी लामो इतिहास पार गरिरहेको हुन्छ । ५५ झ्याले दरबार हेर्दै सुरु भएको यात्रा गोल्डेन गेटसम्म पुग्छ । त्यहाँबाट पशुपति मन्दिर, कृष्ण मन्दिर र तलेजुको धार्मिक संसार देखिन्छ । केही कदम अघि बढ्दा पाटी र चोकहरू भेटिन्छन् अर्थात् यहाँको यात्रा किलोमिटरमा होइन, इतिहासका तहमा नापिन्छ । एक मिनेटको हिँडाइले एउटा संरचनाबाट अर्को संरचनामा मात्र पु¥याउँदैन, एउटा समयबाट अर्को समयमा पु¥याउँछ ।
तलेजुः इतिहास र आस्थाको केन्द्र
दरबार क्षेत्रको अर्को महत्वपूर्ण सम्पदा हो तलेजु । तलेजु भवानीसँग भक्तपुरको राजकीय इतिहास र धार्मिक परम्परा गहिरोसँग जोडिएको छ । यसको परिसरमा पुग्दा भक्तपुरको तत्कालीन धार्मिक तथा राजकीय जीवनको झल्को पाइन्छ । यहाँको वास्तुकला, धार्मिक परम्परा र ऐतिहासिक महत्वले भक्तपुरलाई पर्यटकीय गन्तव्य नभई अध्ययन र अनुसन्धानको केन्द्रसमेत बनाएको छ । इतिहास बुझ्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता, वास्तुकला प्रेमी तथा संस्कृति अध्येताका लागि भक्तपुर दरबार क्षेत्र खुला पुस्तकालयजस्तै हो । गोल्डेन गेट हुँंदै भित्र पसेपछि तलेजु पुग्न सकिन्छ ।
नयाँ पुस्ताका लागि जीवित पाठशाला
भक्तपुर दरबार क्षेत्र इतिहास पढ्ने विद्यार्थीका लागि पनि महत्वपूर्ण पाठशाला हो । किताबमा पढिने मल्लकालीन कला र वास्तुकला यहाँ आँखाअघि देखिन्छ । परम्परागत समाज, धर्म, संस्कृति र सामुदायिक जीवनका धेरै पक्षलाई यहाँ प्रत्यक्ष रूपमा बुझ्न सकिन्छ । नयाँ पुस्ताले आफ्नो इतिहास र संस्कृति बुझ्न यस्ता सम्पदासँग प्रत्यक्ष जोडिनु आवश्यक छ । आधुनिक प्रविधिको युगमा हुर्किरहेका बालबालिकाका लागि भक्तपुरको दरबार क्षेत्र इतिहाससँग प्रत्यक्ष संवाद गर्ने अवसर हो ।
सम्पदा जोगाउनु सबैको दायित्व
भक्तपुरको ऐतिहासिक सम्पदा विश्वका लागि आकर्षण भए पनि यसको संरक्षण सबैभन्दा ठूलो चुनौती हो । सम्पदा क्षेत्रको सौन्दर्य कायम राख्न संरचनाको संरक्षणसँगै वातावरण, सरसफाई, परम्परागत वास्तुकला र स्थानीय संस्कृतिको निरन्तरता आवश्यक हुन्छ । सम्पदा संरक्षण सरकार वा स्थानीय तहको मात्र जिम्मेवारी होइन । स्थानीय समुदाय, व्यवसायी, पर्यटक, विद्यार्थी र प्रत्येक नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । किनकि यहाँका मन्दिर र दरबार भक्तपुरका मात्र होइनन् । ती नेपालको इतिहास र पहिचानका हिस्सा हुन् ।
भक्तपुर दरबार स्क्वायरबाट पर्यटकलाई ५५ झ्याले दरबारले वास्तुकला सुनाउँछ, थन्थु दरबारले दरबारी इतिहास सम्झाउँछ, गोल्डेन गेटले शिल्पकलाको कथा भन्छ, पशुपति र कृष्ण मन्दिरले आस्थाको संसार देखाउँछन्, लामो पाटीले सामाजिक जीवन सम्झाउँछ, तलेजुले धार्मिक–राजकीय इतिहासको झल्को दिन्छ, ९९ चोकले पुरानो भक्तपुरको संरचना र जीवनशैलीलाई आँखाअघि ल्याउँछ । यही भएर भक्तपुर दरबार स्क्वायरमा यात्रा भनेको एउटा ठाउँको भ्रमण होइन, धेरै संसारको एकैपटक यात्रा हो । यहाँ दूरी छोटो छ, तर इतिहास लामो छ । यहाँ बाटो छोटो छ, तर कथा अनन्त छन् । यहाँ हिँडाइ सामान्य छ, तर अनुभूति असाधारण छ ।
यहाँं बिहानदेखि बेलुकैसम्म कसैको हातमा क्यामेरा हुन्छ, कसैले मोबाइलको क्यामेराबाट पुराना मन्दिरका तस्बिर कैद गरिरहेका हुन्छन् । कोही कलात्मक झ्याल नियालिरहेका हुन्छन् भने कोही सयौँ वर्ष पुरानो इतिहासलाई छोएर त्यसको सीप अनुमान गरिरहेका हुन्छन् । यसकारण भक्तपुर दरबार स्क्वायरलाई चिनाउने सबैभन्दा सुन्दर वाक्य यही हुन सक्छ— ‘एक मिनेट हिँड्नुहोस्, एउटा नयाँ संसार भेट्नुहोस् ।’
यही कारण यी सम्पदालाई जस्ताको तस्तै जोगाई राख्न विदेशी पर्यटकहरुसँंग २०५० सालदेखि नेपालमै पहिलो पटक प्रवेश शुल्क उठाउन थालेको इतिहास सम्झन्छन् भक्तपुर नगरपालिका पर्यटक सूचना केन्द्रका प्रमुख गोतमप्रसाद लासिवा । हाल गैर सार्क (चिनियाँंबाहेकका) राष्टका पर्यटकसँंग प्रति पर्यटक दुई हजार र सार्क (नेपालीबाहेक चिनियाँंसहित) का पर्यटकहरुसँंग प्रति पर्यटक पाँंच सय रुपैयाँं प्रवेश शुल्क नगरपालिकाले उठाउँंदै आएको छ ।
भक्तपुर दरबार क्षेत्र जहाँ एक मिनेटको हिँडाइमै संसार देखिन्छ












Leave a Reply