ख्वपकी  १६ वर्षीया आराध्य घिमिरेको पहलमा ‘ब्याडिज रन’ हुँदै

भक्तपुर — महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै खेलकुद तथा शारीरिक गतिविधिप्रति आकर्षित गर्ने उद्देश्यले ‘ब्याडिज रन २०२६’ आयोजना हुने भएको छ। १६ वर्षीया आराध्य घिमिरेको पहलमा आगामी नोभेम्बर २१ अर्थात् मंसिर ५ गते शनिबार ललितपुरमा ५ किलोमिटर दौड आयोजना हुन लागेको हो।

ख्वप माध्यमिक विद्यालयमा कक्षा १२ को मानविकी संकायमा अध्ययनरत घिमिरेले महिलाहरूलाई एकै ठाउँमा जोड्दै उनीहरूबीच आपसी सहयोग, हौसला र आत्मविश्वास बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेकी हुन्।

कम उमेरमै सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय घिमिरे आफैंले कार्यक्रमको अवधारणा विकास गर्नेदेखि आवश्यक अनुमति तथा प्रशासनिक प्रक्रिया पूरा गर्ने, प्रायोजकसँग समन्वय गर्ने, स्वयंसेवक परिचालन गर्ने र व्यवस्थापनको जिम्मेवारीसमेत सम्हाल्दै आएकी छन्।

आयोजकका अनुसार दौडमा सहभागी हुने महिलाहरूले ५ किलोमिटर दूरी पार गर्नुपर्नेछ। दौड पूरा गर्ने सहभागीलाई पदक प्रदान गरिने व्यवस्था गरिएको छ। महिलाहरूले आफ्नो शारीरिक क्षमता प्रदर्शन गर्नुका साथै एकअर्कालाई प्रोत्साहन गर्ने साझा मञ्चका रूपमा कार्यक्रमलाई अघि बढाइएको घिमिरेले बताएकी छन्।

ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स कलेज नजिकैको सार्वजनिक पार्कबाट बिहान ६ बजे दौड सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन इच्छुकले पोस्टरमा रहेको क्यूआर कोड स्क्यान गरी नाम दर्ता गर्न सक्नेछन्।

१६ वर्षीया किशोरीको नेतृत्वमा आयोजना हुन लागेको यो कार्यक्रम खेलकुदमार्फत महिला सहभागिता अभिवृद्धि गर्नुका साथै युवा नेतृत्व र सामुदायिक सक्रियताको उदाहरणसमेत बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *