तामाङ संस्कृतिलाई एकरुपता ल्याउन धर्म, जन्मदेखि मृत्यु संस्कारमा गरिने चलनबारे स्पष्ट नीति तयार गर्नुपर्ने

काठमाडौं। तामाङ समुदायको संस्कार संस्कृतिमा एकरुपता ल्याउन ‘तामाङ संस्कार–संस्कृति निर्देशिका’ विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) आयोजनामा काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा सम्पन्न गोष्ठीमा निर्देशिका संशोधनका साथै ह्युलठिम अर्थात विधान नै तयार गर्नुपर्ने सहभागीले सुझाएका छन्।

तामाङ संस्कृतिलाई एकरुपता ल्याउन धर्म, जन्मदेखि मृत्यु संस्कारमा गरिने चलनबारे स्पष्ट नीति तयार गर्नुपर्ने सहभागीको भनाइ थियो। गोष्ठीमा मानवशास्त्री डा. मुक्तसिं लामाले यसबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले तामाङ संस्कारमाथि धर्म परिवर्तन,  विगतमा शासकहरुले गरेको दबाबको प्रभाव देखिन थालेकोले तामाङ समूदायलाई आफ्नो संस्कारजन्य प्रथा हस्तान्तरण गर्न सहयोग पुग्ने गरी निर्देशिका तयार गर्नुपर्ने बताए। उनले संस्कार नेपाली शब्द भएकाले तामाङकै शब्दमा ह्युलठिम अर्थात विधान नै तयार गर्न सकिने बताए।

तामाङ समाज टेक्सासका अध्यक्ष कुमार योञ्जननले तामाङ समुदायको सामूहिक हितका लागि समाजले प्रवासमा रहेर खेल्न सकिने सबै खाले भूमिकाका लागि प्रतिवद्धता जनाए। ‘तामाङ संस्कार, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि यो गोष्ठी महत्वपूर्ण उपलब्धि बन्ने विश्वास लिएका छौँ,’ योञ्जनले भने।

गोष्ठीको व्यवस्थापन सम्हालेको नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङले तामाङ संस्कार, संस्कृतिमा एकरुपता ल्याउन ‘तामाङ संस्कार संस्कृति निर्देशिका’लाई सर्वमान्य बनाउन र सबैतिर कार्यन्वयनमा लैजान घेदुङ तयार रहेको बताए।

गोष्ठीमा संस्कृतिविद्, ताम्बा, गान्बा, अभियन्ता, सञ्चारकर्मी, विभिन्न देशका प्रतिनिधिलेसमेत निर्देशिका र तामाङ संस्कारमा संशोधन गर्नुपर्ने धारणा राखेका थिए। प्राप्त सुझावलाई थप अध्ययन तथा अनुसन्धान गरी डा संग्रामसिंह लामाको नेतृत्वमा रहेको विज्ञ समितिले अन्तिम रुप दिने आयोजक आइटिसीका महासचिव टासी लामाले बताए। यसका लागि तामाङ बसोबास रहेको देशहरुमा थप छलफल हुने र ६ महिनाभित्रमा यसको ड्राफ्ट तयार पारिने महासचिव लामाले बताए।

‘भारत, बर्मा, सिक्किम, भुटानलगायत विभिन्न देशमा यस्तो छलफल गरी राय संकलन गरिनेछ। त्यसैगरी नेपालका तामाङ बसोबास बाक्लो रहेको ठाउँमा अनुसन्धान गरी प्रस्तावनालाई थप समृद्ध बनाएर विज्ञ समितिले अन्तिम रुप दिनेछ,’ महासचिव लामाले भने।

निर्देशिकाको अन्तिम रुप आइटिसीको छैटौं सम्मेलनमा प्रस्तुत गरिने र पारित गर्ने सम्भावना रहेको आयोजकले जनायो। आइटिसीको छैटौं सम्मेलन एक वर्षभित्र गर्ने तयारी रहेको महासचिव लामाले बताए।

निर्देशिकामा तामाङ परम्परा र संस्कारहरू जन्म संस्कार, कर्म संस्कार र मृत्यु संस्कार अन्तर्गत गर्भको रक्षा, न्वारान, कर्म संस्कार, विवाह संस्कार, मृत्यु संस्कार, तथा तामाङ समुदायको पहिचान, भेषभूषा र सांस्कृतिक मापदण्डहरू समावेश गरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *