अष्ट्रेलियाको एडिलेडमा सामूहिक म्हपूजा

 न्हूदँ समारोह सम्पन्न
कात्तिक । अष्ट्रेलियाको एडिलेडमा गुथि एसए (Guthi SA) को आयोजनामा नेपाल संवत् ११४७ को अवसर पारेर सामूहिक म्हपूजा तथा न्हूदँ समारोह भव्यताका साथ सम्पन्न भएको छ ।
गुथि एसएले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रममा यस वर्ष बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब ७५ जनाको सहभागिता रहेको थियो । स्थानीय Taste of The Himalayas मा साँझ ५ बजेदेखि सुरु भएको कार्यक्रममा सहभागीहरूले हर्षोल्लासका साथ सामूहिक म्हपूजा गरेका थिए । कार्यक्रममा सिड्नी र पर्थबाट समेत नेपालीहरूको सहभागिता रहेको थियो ।
नेवार समुदायमा म्हपूजा अर्थात् आत्मपूजा आफ्नै शरीर, आत्मा र जीवनको सम्मान गर्दै शुद्धता, आरोग्यता, सुख, शान्ति तथा दीर्घायुको कामना गर्ने मौलिक सांस्कृतिक परम्परा हो । नेपाल संवत्‌को नयाँ वर्षको दिन गरिने यस पूजामा मण्डल बनाएर आफ्नो पूजा गर्ने चलन छ । यसले आत्मसम्मान, आत्मशुद्धि र सकारात्मक जीवनको सन्देशसमेत दिन्छ ।
कार्यक्रममा नेपाल संवत् ११४७ लाई स्वागत गर्दै सहभागीहरूले एकापसमा न्हूदँ (नयाँ वर्ष) को शुभकामना आदानप्रदान गरेका थिए । विदेशमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा निरन्तरताका लागि गुथि एसएले गर्दै आएको प्रयासको प्रशंसा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *