कात्तिक २४ गते, केके मानन्धर ।
ज्येष्ठ नागरिकहरूको सुस्वास्थ्य, सुख, शान्ति, खुशी तथा दीर्घायुको कामना गर्दै न्हापांगु पलाः नेवाः मिसा पुचःले सामूहिक रूपमा म्हपूजा गरेको छ । सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको समूहले हरेक वर्ष म्हपूजा कार्यक्रम आयोजना गर्दै आएको छ । समूहकी अध्यक्ष शिला सायमिका अनुसार ज्येष्ठ नागरिकहरूको सम्मान, आत्मीयता, आपसी सद्भाव र सकारात्मक सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । ३४ जना जेष्ठ नागरिहरुलाई सामुहिक म्हपूजा गरिएको उनले जनाइन् ।
विगतका वर्षहरूमा नियमित रूपमा आयोजना हुँदै आएको म्हपूजा कार्यक्रम कोभिड–१९ महामारीका कारण भएको लकडाउन तथा आवतजावतमा लगाइएको प्रतिबन्धले गर्दा तीन वर्षसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि पुनः ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई सामूहिक म्हपूजा गरिएको अध्यक्ष सायमिले बताइन् ।
समूहले ज्येष्ठ नागरिकहरू भेला गराएर ज्याथःजिथि मुनां झी निभाः पाना भन्ने नारा दिएर काम गर्दैआएको छ । कार्यक्रममा परम्परागत विधिअनुसार आफ्नो शरीरको पूजा गरी एकअर्काको सुस्वास्थ्य, खुशी र दीर्घायुको कामना गरेका थिए ।
म्हपूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्व
नेपाल संवत्को नयाँ वर्ष अर्थात् कछलाथ्व पारुका दिन विशेषगरी नेवार समुदायमा म्हपूजा मनाउने परम्परा छ । ’म्ह’ को अर्थ शरीर भएकाले म्हपूजा भनेको आफ्नै शरीरलाई सम्मान गर्दै गरिने पूजा हो । यसलाई आत्मसम्मान, आत्मशुद्धि र सकारात्मक जीवनदृष्टिको प्रतीकका रूपमा लिइन्छ । म्हपूजामा मण्डल बनाएर त्यसमा बत्ती, फूल, अक्षता, फलफूल, धूपलगायत पूजाका सामग्री राखी विधिपूर्वक पूजा गरिन्छ । परिवारका सदस्य तथा सहभागीहरूलाई सगुन दिई दीर्घायु, सुख, समृद्धि र आरोग्यको कामना गरिन्छ । यस अवसरमा परिवार तथा समुदायका सदस्यहरूबीच आपसी सद्भाव, प्रेम र एकताको भावना पनि अभिवृद्धि हुन्छ ।
म्हपूजाले शरीरसँगै मन र वचनको शुद्धता तथा एकाग्रतालाई समेत महत्व दिन्छ । मन र वचनलाई पवित्र राख्दा खराब विचार तथा नकारात्मक भावनाहरू हटेर सकारात्मक र सिर्जनशील सोचको विकास हुने धार्मिक विश्वास छ । मन एकाग्र हुँदा धर्मभाव उत्पन्न हुने र मानिसलाई असल कर्म गर्न प्रेरणा मिल्ने मान्यता पनि रहेको छ ।
ज्येष्ठ नागरिकको सक्रिय जीवनका लागि विभिन्न गतिविधि
न्हापांगु पलाः नेवाः मिसा पुचःले वि.सं. २०७२ सालदेखि हजुरबुबा तथा हजुरआमाहरूलाई लक्षित गरी डे केयरको अवधारणामा विभिन्न सामाजिक, सांस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । ज्येष्ठ नागरिकहरूलाई घरभित्रै सीमित नराखी सामाजिक जीवनमा सक्रिय बनाउने, एक्लोपन कम गर्ने, आपसी सम्बन्ध विस्तार गर्ने तथा शारीरिक र मानसिक रूपमा स्वस्थ राख्ने उद्देश्यले समूहले नियमित रूपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
समूहले सञ्चालन गर्दै आएका प्रमुख गतिविधिहरूमा भजन–कीर्तन, धार्मिक कथा तथा प्रवचन श्रवण, नृत्य, सांस्कृतिक कार्यक्रम, सामूहिक भेटघाट र विभिन्न सामाजिक कार्यक्रममा सहभागिता रहेका छन् । यस्ता गतिविधिले ज्येष्ठ नागरिकहरूलाई आफ्नो रुचि र क्षमता प्रस्तुत गर्ने अवसर दिनुका साथै मनोरञ्जन, आत्मीयता र मानसिक सन्तुष्टि प्रदान गर्दै आएको छ । ज्येष्ठ नागरिकहरूका अनुभव, ज्ञान र जीवनभोगाइलाई सम्मान गर्दै उनीहरूलाई समाजको सक्रिय सदस्यका रूपमा स्थापित गर्नु समूहको महत्वपूर्ण उद्देश्य रहेको छ ।
समूहकी अध्यक्ष सायमिका अनुसार ज्येष्ठ नागरिकहरूको जीवनलाई खुशी, सक्रिय र अर्थपूर्ण बनाउन यस्ता कार्यक्रम निरन्तर आवश्यक छन् । म्हपूजा जस्ता सांस्कृतिक तथा धार्मिक कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला हुने, आफ्ना साथीभाइसँग भेटघाट गर्ने र आपसी आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्छन् ।
न्हापांगु पलाः नेवाः मिसा पुचःको यो प्रयासले ज्येष्ठ नागरिकको सम्मान र हेरचाहसँगै नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
नेवाः मिसा पुचःद्वारा सामूहिक म्हपूजा












Leave a Reply