गृहमन्त्री गुरुङ बोल्दै नबोली कार्यक्रम स्थलबाट बिदा भए

भक्तपुर : राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानले आयोजना गरेको नयाँ वर्ष ११४७ को शुभकामना आदानप्रदान तथा राष्ट्रिय विभूति शंखधर साख्वा: काे प्रतिमामा माल्यार्पण कार्यक्रममा सरकारको प्रतिनिधित्व गर्दै आएका गृहमन्त्री सुधन गुरुङ बोल्दै नबोली फर्किएका छन् । नयाँ थिमिस्थित शंखधर चोकमा मंगलबार बिहान आयोजित कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित गृहमन्त्री गुरुङ बोल्दै नबोली बाहिरिएका हुन् । उनी बिदाइ हुनासाथ प्रमुख अतिथि रहेका प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले कार्यक्रमलाई सम्बोधन गरेका थिए । आयोजकले गृहमन्त्री गुरुङ बसन्तपुरमा आयोजित नेपाल सम्वतकै कार्यक्रममा सहभागी हुन हतारिएको बताए पनि प्रमुख अतिथिले बोलिरहेका bela उनी फोटो सेसनमा व्यस्त बनेका थिए ।

आयोजक रहेको प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले बोल्नेक्रममा गृहमन्त्री गुरुङले  नेपाल सम्वतबारे सरकारले गरेका चार महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्ने घोषणा गरेका थिए। त्यस्तैगरी प्रतिनिधि सभा सदस्य रुकेश रन्जित र मदनकृष्ण श्रेष्ठले पनि गृहमन्त्री गुरुङले सरकारको निर्णय सार्वजनिक गर्ने बताएका थिए । सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्रीले बोल्ने भनेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई पनि तीन मिनेट मात्र मन्तब्यको लागि समय दिइएको थियो । आफ्नो बोल्ने पालो आएको बेला गृहमन्त्री गुरुङ भने बोल्दै नबोली कार्यक्रम स्थलबाट बिदा भए ।

श्रोतले जनाए अनुसार हरेक वर्ष प्रधानमन्त्री सहभागी हुँदै आएको कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित हुने भएपछि रास्वपाको स्थानीय नेताकार्यकर्ताको दबाबमा गृहमन्त्री गुरुङले सहभागिता जनाएका थिए । वक्ताहरुले सरकारको धारणा गृहमन्त्रीले उद्घोष गर्ने बताएपछि तयारी बिना आएका उनले शुभकामना दिन समेत माइक समाएनन् ।

कार्यक्रममा प्रधानमन्त्री शाहले पठाएको शुभकामना संदेश गृहमन्त्रीले पढ्न सक्थे । तर, उनको छुट्टै मन्तब्यको कार्यतालिका रहेकाले प्रधानमन्त्रीको संदेश प्रतिष्ठानका पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धरले पढेर सुनाए । संदेशमा प्रधानमन्त्री शाहले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘कुनै शासकीय शक्तिबाट नभई एक परोपकारी र त्यागी नागरिकको प्रेरणाबाट प्रारम्भ भएको नेपाल संवत् हाम्रो मौलिकता, राष्ट्रियता र ऐतिहासिक स्वाभिमानको प्रतीक हो।’उनले भनेका छन्, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको सेवा गर्ने साख्वाःको दूरदर्शी योगदान हाम्रा लागि सधैँ प्रेरणादायी छ।’

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय विभूति शंखधर साख्वाःले आफ्नो व्यक्तिगत सम्पत्तिले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराउनु सामाजिक न्याय र लोककल्याणको अनुपम उदाहरण भएको उल्लेख गरे।

​’शंखधर साख्वाःको जीवनले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि हुनुपर्ने हामीलाई महत्वपूर्ण सन्देश दिएको छ।’ सभामुख अर्यालले भने, ‘यही मूल्य आजको राजनीति, प्रशासन र सामाजिक जीवनमा आत्मसात् गर्न आवश्यक छ।’ नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गरिनु महत्वपूर्ण उपलब्धि भएको तर, यो मान्यता घोषणामा मात्र सीमित हुनु नहुने उनको भनाइ छ।

कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापामगरले नेपाल भाषालाई बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाएको स्मरण गर्दै शंखधर साख्वाः प्रतिष्ठानलाई तेह्रवटै जिल्लनमा बिस्तार गर्न बजेट छुट्टयाएको बताए । त्यस्तै,  मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शंखधर साख्वाबारे थप अध्ययन अनुसन्धान गर्नुपर्ने र राष्ट्रिय संग्रहालय स्थापना गर्नुपर्ने आवश्यकता औल्याए । नगरपालिकाले शंखधरको प्रतिमा देशभर निशुल्क हस्तान्तरण गरिरहेको पनि उनले जानकारी गराए ।

सो अवसरमा बागमती प्रदेश सभा सदस्यहरु, नगर उपप्रमुख बिजयकृष्ण श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधि, नेपाली कांग्रेसका उपसभापति मधु आचार्य लगायत राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्कासहित सुरक्षा निकायका प्रमुखहरु तथा सरोकारवाला र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरुले राष्ट्रिय विभुती शंखधर साख्वास्को प्रतिमामा माल्यार्पण गर्नुका साथै नयाँ वर्ष नेपाल सम्वत ११४७ को शुभकामना आदानप्रदान गरेका थिए ।

आजभन्दा ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा सर्वसाधारण जनतालाई आफ्नो ब्यक्तिगत सम्पत्तिबाट ऋणमुक्त गराई जनहित र समाज सुधारको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाःले नेपाल संवत् प्रचलनमा ल्याएका प्रतिष्ठानका सचिव बाबुकाजी साछेँ श्रेष्ठ बताउँछन् । २०५६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

२०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिने घोषणा गरेको थियो भने २०६९ सालमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाल संवतको नयाँ वर्षका दिन सार्वजनिक बिदा दिने निर्णय तथा न्हूदँलाई राष्ट्रिय पर्वको मान्यता दियो ।

२०८० सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वको सरकारले सरकारी कामकाज तथा आधिकारिक कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेको देखिन्छ । Annapurna

Leave a Reply

Your email address will not be published. Required fields are marked *