भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित अन्तरसदस्यीय उडबल प्रतियोगिता शनिबार शहीद स्मृति खेल मैदान, भक्तपुर नगरपालिका–२ मा सम्पन्न भएको छ। भक्तपुर योङ सर्कलको आयोजनामा भएको उक्त प्रतियोगितामा ३३ जना खेलाडी सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुदको विकासका लागि खेल मैदानको अभाव चुनौतीका रूपमा रहेको बताउनुभयो। उहाँले शहीद स्मृति खेल मैदानको स्तरोन्नति गर्ने सोच रहेको उल्लेख गर्दै हराउँदै गएको परम्परागत खेल कसिमला पायलाई भक्तपुर नगरपालिकाले उत्थान गरेको र स्थानीय पाठ्यक्रममा समेत समावेश गरिएको बताउनुभयो।
कार्यक्रममा योङ सर्कलका अध्यक्ष राजन जतिले ‘कला, खेलकुद र मित्रता युवा जगतको आवश्यकता’ भन्ने नाराका साथ योङ सर्कल स्थापना भएको बताउनुभयो। उहाँले आगामी खेलकुद प्रतियोगिताहरूमा उत्साहजनक सहभागिताको अपेक्षा गर्दै खेलाडीहरूलाई शुभकामना दिनुभयो। कम लगानीमा जुनसुकै उमेर समूहका व्यक्तिले सहजै खेल्न सक्ने भएकाले उडबल खेललाई विस्तार गर्न सकिने उहाँको भनाइ थियो। यसअघि ख्वप इन्जिनियरिङ कलेजमा पनि प्रतियोगिता सञ्चालन गरिसकेको जानकारी दिँदै उहाँले निकट भविष्यमा भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी रहेको बताउनुभयो।
योङ सर्कलका सल्लाहकार विनोद चरण रायले शहीद स्मृति खेल मैदानमा पहिलो पटक यस्तो प्रतियोगिता आयोजना भएको बताउँदै यसलाई जिल्लाव्यापी रूपमा सञ्चालन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले प्रतियोगितालाई व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने र नयाँ कार्यसमितिले आगामी दिनमा थप खेलकुद गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, सल्लाहकार रविन्द्र खर्बुजाले नयाँ कार्यसमितिले योङ सर्कलका गतिविधिलाई निरन्तरता दिँदै खेलकुदको विकासका लागि सक्रिय रूपमा लाग्नुपर्ने बताउनुभयो। साथै, प्रतियोगिता सफल बनाउन सहयोग गर्ने तथा सहभागी र विजयी खेलाडीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सर्कलका सदस्य रमा माताङले स्वागत मन्तव्य दिनुभएको थियो भने पुण्यराम स्वङ्गमिखाले पनि बोल्नुभएको थियो ।
प्रतियोगितामा इन्द्रभक्त पञ्च प्रथम, प्रशान्त देशेमरु दोस्रो तथा अनुभव पञ्च र गजेन्द्र खर्बुजा तृतीय हुन सफल भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले विजयी खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा लोकेश्वर बचत तथा ॠण सहकारी संस्थाबाट बासुरी बाजा समेत प्रस्तुत गरिएको थियो ।












Leave a Reply