जनता म्वाःसा भाषा म्वाई अर्थात् जनता बाँचे भाषा बाँच्छ भन्ने मूलनारा लिएर भक्तपुर नगरका टोल–टोलमा नेपालभाषा साहित्य तःमुंज्याबाट साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरु हुँदै आएको छ । यो वर्ष नेपाल सम्बत् ११४६ कौलाथ्व द्वादशी र त्रयोदशी (वि.सं. २०८३ कात्र्तिक ६ र ७ गते) का दिन भक्तपुर नगरपालिकाको वडा नं. ७ स्थित गोल्मढी, याता परिसरमा ४६ औँ तःमुंज्या हुने जानकारी गराउन पाउँदा हामी हर्षित छौं ।
हाम्रो भाषा, साहित्य र कला संस्कृति सँगसँगै अगाडि बढाउने एवम् देश विदेशका समसामयिक राजनीतिक विषयमा जनतालाई सचेत पार्ने उद्देश्य लिएर नेपालभाषा साहित्य तःमुंज्या ४६ वर्ष अगाडि स्थापना भएको हो ।
तःमुंज्याको डबली साहित्यिक सँगसँगै राजनीतिक चेतना दिने डबली पनि हो । यस डबलीले श्रमजिवि वर्गको साहित्य सृजन गर्दै आएको छ ।
नेपालभाषा साहित्य तःमुंज्याको डबलीमा अन्याय, अत्याचार, भ्रष्टाचार, सहकारी ठगी, अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी र एसपिपि परियोजना, भारतीय विस्तारवाद तथा एकाधिकार पुँजीद्वारा नेपालमा सीमा अतिक्रमण र राजनैतिक हस्तक्षेप, विश्वभरि अमेरिकी साम्राज्यवादको व्यापार युद्ध, इजरायलले सिरिया, इरान र प्यालेस्टिनमा गरेको जातीय दमन एवं भूमि कब्जा तथा युक्रेनलाई हतियार दिएर अमेरिकाले थोपरेको युक्रेन युद्ध, अमेरिकी प्रशासनले गरेको भजेजुयलाको राष्ट्रपति माडुरोको अपहरण, इरानी राष्ट्रपतिको हत्याको विरोध तथा देशमा निःशुल्क शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारीको बन्दोवस्त गराउन जोड दिने लगायत विविध विषयमा साहित्यिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ । जनताको हक अधिकार रक्षा गर्न र जनजागरण ल्याउन साहित्य रचना गर्नु साहित्यकारहरुको कर्तव्य हो । औषधी–उपचार, विजुली जस्ता विषयमा समेत कर लगाउने वर्तमान सरकारको जनविरोधी निर्णय र व्यवहारको तःमुंज्या विरोध गर्दछ ।
हरेक वर्ष देश बाढी पहिरो लगायत प्राकृतिक विपत्तिहरुका कारण ठूलो जनधनको क्षति हँुदै आएको छ । यस वर्ष भाद्र १० गते भोटेकोशीमा हिम पहिरोको बितन्दाले गर्दा रसुवा, नुवाकोट, धादिङ्ग र गोरखा लगायतका क्षेत्रमा आएको अकल्पनीय विनाशकारी हिम पहिरोले हजारौं नेपाली दाजुभाइ तथा दिदी बहिनीको ज्यान गएको छ, थुप्रै जनता घाइते र सम्पर्क विहीन अवस्थामा छन् । मृतकहरुप्रति यस नेपालभाषा साहित्य तःमुंज्या गहिरो दुःख व्यक्त गर्नुका साथै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभ हुने विश्वास गर्दछ ।
नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न मजदुर–किसान, युवा, विद्यार्थी, शिक्षक, महिला, उद्योगी, व्यापारी, कर्मचारी लगायतको सहयोग र सहभागिता सदाझैँ जरुरी छ । दाजुभाइ, दिदीबहिनीहरुमा विगतमाझैँ यो वर्ष पनि आर्थिक, भौतिक, नैतिक सहयोग गरी जनताको साहित्य र संस्कृति उत्थान गरी सभ्य र सु–संस्कृत आदर्श समाज निर्माण गर्ने नेपालभाषा साहित्य तःमुंज्याको पाइलामा सहयोग गर्नुहुन विनम्र अनुरोध छ ।
आयोजक
४६ औं नेपालभाषा साहित्य तःमुंज्या
गोमारी–७, ख्वप, ग्वसाखलः
४६ औं नेपालभाषा साहित्य तःमुंज्याको अपिल












Leave a Reply