(तेस्रो वार्षिक साधारणसभामा २०८२/८३ को प्रगति समीक्षा, वातावरणीय स्वास्थ्यलाई अभियानको केन्द्रमा राख्ने घोषणा; आगामी वर्षका लागि रु. २२ लाख ६० हजारको प्रस्तावित बजेट)
नबराज काफ्ले
भक्तपुर, ३० श्रावण ।
‘राष्ट्रका लागि २ घण्टा’ अभियान अब केवल सडक सफाइ, फोहोर व्यवस्थापन वा वृक्षारोपणमा सीमित नरही वातावरणीय स्वास्थ्य, स्वस्थ जीवनशैली, व्यवहार परिवर्तन र जिम्मेवार नागरिक निर्माणको अभियानका रूपमा विस्तार हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
राष्ट्रका लागि २ घण्टा अभियान प्रवर्द्धन केन्द्र नेपालको आयोजनामा शुक्रबार मध्यपुर थिमी–५, राधेराधेस्थित रोयल थाई हस्पिटालिटीमा आयोजित पहिलो सत्रको कार्यशाला गोष्ठी तथा दोस्रो सत्रको संस्थाको तेस्रो वार्षिक साधारणसभाले वातावरणीय स्वच्छतालाई जनस्वास्थ्यसँग जोडेर अघि बढाउने दिशालाई थप स्पष्ट गरेको हो ।
कार्यक्रमको पहिलो सत्रमा ‘स्वास्थ्य प्रवर्द्धनका लागि वातावरणीय स्वास्थ्यको वर्तमान अवस्था, समस्या तथा चुनौती’ विषयमा विषयविज्ञको प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो । दोस्रो सत्रमा संस्थाको वार्षिक प्रगति, अध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमाथि छलफल गरी आवश्यक निर्णय गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता अभियानका अध्यक्ष मधु ढुङ्गेलले गर्नुभएको थियो भने बागमती प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्का, सूर्यविनायक नगर अस्पतालका सुपरिटेण्डेन्ट प्रा.डा. राकेश बर्मा, सूचना अधिकारी डा. मनिषा कार्की, भक्तपुर अस्पतालका रेडियोलोजिष्ट डा. अम्बिका पोखरेल तथा जीवन विज्ञानका योग प्रशिक्षक सुरेन्द्रमान बिजुक्छेले वातावरण, स्वास्थ्य र नागरिक जीवनबीचको अन्तरसम्बन्धबारे आ–आफ्नो क्षेत्रगत दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री किरण थापाले वातावरणीय समस्या केवल वातावरण मन्त्रालय वा स्थानीय सरसफाइसँग सम्बन्धित विषय नभई प्रत्यक्ष रूपमा जनस्वास्थ्यसँग जोडिएको विषय भएको धारणा राख्नुभयो । उहाँले प्रदूषित हावा, अव्यवस्थित फोहोर, दूषित पानी, प्लास्टिकजन्य प्रदूषण, धुलो–धुवाँ तथा जलवायु परिवर्तनका असरले नागरिकको स्वास्थ्यमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज र समुदायबीचको सहकार्यलाई संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँको दृष्टिकोणमा वातावरण संरक्षणलाई अभियानात्मक गतिविधिमा मात्र सीमित नराखी नीति, स्वास्थ्य सेवा, शिक्षा र नागरिक व्यवहारसँग जोडेर दीर्घकालीन जनस्वास्थ्य रणनीतिका रूपमा अघि बढाउनु आवश्यक छ ।
जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अञ्जना खड्काले वातावरणीय स्वच्छता र जनस्वास्थ्य एकअर्काका परिपूरक भएको उल्लेख गर्दै रोग लागेपछि उपचार गर्नुभन्दा रोगको वातावरणीय कारण न्यूनीकरण गर्नु प्रभावकारी हुने धारणा राख्नुभयो । उहाँले स्वच्छ पानी, सफा बस्ती, सुरक्षित खाद्य व्यवहार, विद्यालयको स्वच्छ वातावरण, सरसफाइ र समुदायस्तरको स्वास्थ्य सचेतनालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सूर्यविनायक नगर अस्पतालका सुपरिटेण्डेन्ट प्रा.डा. राकेश बर्माले वातावरणीय जोखिमले स्वास्थ्य संस्थामाथि बढाउँदै गएको भारलाई रोक्न उपचार प्रणालीसँगै रोकथाममुखी अभियान आवश्यक रहेको बताउनुभयो । उहाँले अस्पतालमा आउने स्वास्थ्य समस्याको ठूलो हिस्सा जीवनशैली, प्रदूषण, अस्वस्थ वातावरण तथा जोखिमपूर्ण व्यवहारसँग सम्बन्धित हुने भएकाले स्थानीय स्तरमै स्वस्थ वातावरण निर्माण गर्नु स्वास्थ्य क्षेत्रको महत्वपूर्ण पूर्वसर्त भएको धारणा राख्नुभयो ।
अस्पतालका सूचना अधिकारी डा. मनिषा कार्कीले वातावरणीय स्वास्थ्यका विषयमा तथ्यमा आधारित सूचना र जनचेतनाको भूमिका महत्वपूर्ण हुने बताउँदै नागरिकलाई सही सूचना सही समयमा पुर्याउने संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार वातावरणीय स्वास्थ्यका विषयलाई सामाजिक सञ्जाल, सञ्चारमाध्यम, विद्यालय तथा समुदायस्तरका कार्यक्रममार्फत निरन्तर संवादको विषय बनाउन सकिएमा व्यवहार परिवर्तनलाई गति दिन सकिन्छ ।
भक्तपुर अस्पतालका रेडियोलोजिष्ट डा. अम्बिका पोखरेलले प्रदूषण, धुलो–धुवाँ र अस्वस्थ वातावरणले विशेषगरी श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी स्वास्थ्यमा पार्न सक्ने दीर्घकालीन असरप्रति नागरिक सचेत हुनुपर्ने धारणा राख्नुभयो । वातावरणीय जोखिमलाई प्रारम्भमै कम गर्न सके स्वास्थ्य जटिलता र उपचारको बोझसमेत घटाउन सकिने उहाँको जोड थियो ।
जीवन विज्ञानका योग प्रशिक्षक सुरेन्द्रमान बिजुक्छेले स्वस्थ वातावरण र स्वस्थ जीवनशैलीबीचको सम्बन्धलाई जोड्दै योग, श्वास–प्रश्वास अभ्यास, नियमित शारीरिक सक्रियता तथा प्रकृतिसँगको सन्तुलित सम्बन्धलाई दैनिक जीवनको संस्कार बनाउनुपर्ने बताउनुभयो । वातावरण सफा राख्ने जिम्मेवारी बाह्य सरसफाइमा मात्र सीमित नभई व्यक्तिको आहार, व्यवहार, जीवनशैली र सोचसम्म विस्तार हुनुपर्ने उहाँको धारणा थियो ।
अभियान प्रवर्द्धन केन्द्रका सचिव गोविन्द प्रसाद आचार्यले दोस्रो सत्रमा संस्थाको वार्षिक प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले अभियानले विगतमा सञ्चालन गरेका गतिविधि र वातावरणीय स्वास्थ्यसँग त्यसको सम्बन्धबारे जानकारी गराउनुभयो ।
वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा अभियानले स्थानीय तह, विद्यालय, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज र स्वयंसेवकसँगको समन्वयमा विभिन्न वातावरणीय कार्यक्रम सञ्चालन गरेको छ ।
हरियाली अभियानअन्तर्गत सूर्यविनायक, मध्यपुर थिमीलगायतका विभिन्न क्षेत्रमा करिब १,८०० भन्दा बढी बिरुवा रोपण गरी त्यसको संरक्षण, गोडमेल र नियमित अनुगमनसमेत गरिएको प्रतिवेदनमा उल्लेख छ। वृक्षारोपणलाई केवल एकदिने कार्यक्रमका रूपमा नराखी रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणमा जोड दिनुलाई अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
अभियानले हरेक शनिबार अरनिको राजमार्ग तथा विभिन्न सार्वजनिक स्थलमा नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ। यस क्रममा स्वयंसेवक, स्थानीयवासी तथा अभियानकर्मी गरी करिब २,५०० जनाको सक्रिय सहभागितामा ३५ टनभन्दा बढी फोहोर संकलन तथा व्यवस्थापन गरिएको प्रतिवेदनले देखाएको छ । चाँगुनारायण मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक स्थलको सरसफाइमा समेत अभियानले सहभागिता जनाएको छ ।
यससँगै अभियानले विद्यालयलाई वातावरणीय संस्कार विकासको केन्द्रका रूपमा अघि बढाएको छ। सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमीका विद्यालयमा शिक्षक अभिमुखीकरण, विद्यार्थीका लागि वृक्षारोपण तथा वातावरणीय व्यवहारसम्बन्धी अभ्यास, मल–माटो व्यवस्थापन, तरकारी तथा फूलखेतीलगायतका कार्यक्रम सञ्चालन गरिएको छ । चाँगुनारायण–२ को मित्रश्री पाठशालादेखि मध्यपुर थिमीका विभिन्न विद्यालयसम्म विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराएर वातावरणीय शिक्षा र व्यवहारिक सीप प्रदान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
अभियानले वातावरण संरक्षणलाई सडक र विद्यालयमा मात्र सीमित नराखी ट्राफिक सचेतना, वृक्ष संरक्षण, नीति संवाद तथा जलवायु–मैत्री यातायातसँग समेत जोडेको छ। नेपाल ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम, वन कार्यालय तथा जिल्ला समन्वय समितिको सहयोगमा वृक्ष संरक्षणसम्बन्धी तालिम र अभियान सञ्चालन गरिएको थियो ।
विश्व वातावरण दिवसका अवसरमा ‘प्रकृतिबाट प्रेरणा लिऔँ, जलवायु परिवर्तनसँग लडौँ’ भन्ने सन्देशसहित सानोठिमीबाट नगरकोटसम्म विद्युतीय सवारीसहितको वातावरणमैत्री र्याली आयोजना गरिएको थियो । यसले अभियानले वातावरणीय मुद्दालाई नागरिकको दैनिक यातायात व्यवहारसँग जोड्ने प्रयास गरेको देखाउँछ ।
अभियानको प्रगति प्रतिवेदनमा वातावरणीय गतिविधिसँगै संस्थागत संरचनालाई सुदृढ बनाउने कामलाई समेत प्राथमिकता दिइएको छ। प्रत्येक मंगलबार नियमित बैठकमार्फत कार्यक्रम समीक्षा, आगामी योजना, नीति निर्माण, जिम्मेवारी बाँडफाँट र समसामयिक विषयमा निर्णय गर्ने अभ्यास विकसित गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को अवधिमा संस्थाले स्थानीय सरकार, विद्यालय, सरकारी निकाय, गैरसरकारी संस्था, नागरिक समाज, स्वयंसेवक तथा निजी क्षेत्रसँग सहकार्य विस्तार गरेको छ । संस्थामा ६८ जना साधारण सदस्यले सदस्यता नवीकरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
यसले अभियानलाई व्यक्तिको उत्साहमा मात्र निर्भर नराखी प्रणाली, जिम्मेवारी, नियमित समीक्षा र संस्थागत निर्णय प्रक्रियामार्फत दीर्घकालीन बनाउने प्रयास भएको देखिन्छ ।
कार्यक्रमको दोस्रो सत्रमा संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भयो । अध्यक्ष मधु ढुङ्गेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अभियानले सीमित स्रोतसाधनका बाबजुद स्थानीय तह, विद्यालय, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था र स्वयंसेवकको सहकार्यमा उल्लेखनीय गतिविधि अघि बढाउन सफल भएको बताउनुभयो ।
उहाँले आगामी दिनमा अभियानलाई अझ व्यापक बनाउँदै स्वच्छ, हरित, स्वस्थ र जिम्मेवार समाज निर्माणको साझा अभियानका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संस्थाका सचिव गोविन्द प्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो, जसमा वृक्षारोपण, वृक्ष संरक्षण, नियमित सरसफाइ, विद्यालय केन्द्रित कार्यक्रम, वातावरणीय सचेतना, ट्राफिक सचेतना, नीति संवाद, वातावरणमैत्री यातायात तथा विभिन्न सरोकारवाला निकायसँगको सहकार्यलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो ।
कोषाध्यक्ष नरेश रञ्जितले आय–व्यय तथा आगामी आर्थिक वर्षको आर्थिक व्यवस्थापनसम्बन्धी विवरण प्रस्तुत गर्नुभयो । प्रस्तावित आर्थिक वर्ष २०८३/८४ का लागि संस्थाले रु. २२ लाख ६० हजारको बजेट प्रस्ताव गरेको छ । बजेटका प्रमुख प्राथमिकतामा वातावरण तथा स्वास्थ्य, वातावरणमैत्री विद्यालय तथा विद्यार्थी कार्यक्रम, वृक्षारोपण र वृक्ष संरक्षण, नियमित सरसफाइ, सचेतनामूलक गतिविधि, विश्व वातावरण दिवस, संस्थागत विकास तथा समीक्षा कार्यक्रमलाई समेटिएको छ ।
बजेटको स्रोतका रूपमा सदस्यता शुल्क, सदस्यता नवीकरण, सहयोग, चन्दा–दान, स्थानीय तथा प्रदेश सरकार, डिभिजन वन कार्यालय, साझेदार संस्था तथा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (CSR) लगायतका सम्भावित स्रोतलाई समेटिएको छ। खर्च व्यवस्थापनमा मितव्ययिता, पारदर्शिता, वित्तीय अनुशासन र परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
साधारणसभाबाट अघि सारिएको आगामी वर्षको नीति तथा कार्यक्रमले अभियानको भावी दिशालाई थप स्पष्ट गरेको छ । अब वृक्षारोपणसँगै विरुवाको संरक्षण, गोडमेल, मलजल र दीर्घकालीन हरियाली व्यवस्थापनलाई प्राथमिकता दिइनेछ ।
त्यस्तै, प्रत्येक शनिबार सञ्चालन हुँदै आएको सरसफाइ अभियानलाई सार्वजनिक स्थल, धार्मिक क्षेत्र, नदी–खोला, सडक तथा सामुदायिक क्षेत्रसम्म विस्तार गर्दै निरन्तरता दिने योजना छ । विद्यालयमा वातावरणीय शिक्षा, प्लास्टिक न्यूनीकरण, फोहोर वर्गीकरण, कम्पोस्ट मल निर्माण तथा व्यवहारिक वातावरण संरक्षण कार्यक्रमलाई अझ व्यापक बनाइनेछ ।
अभियानले वातावरणीय स्वास्थ्य, सरसफाइ, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा स्वास्थ्य सचेतनालाई वर्षभरिका विभिन्न अवसरमा समुदायसम्म पुर्याउने नीति अघि सारेको छ । साथै, अभियन्ताबीच समन्वय, सहकार्य र प्रेरणा अभिवृद्धिका लागि नीति संवाद, अन्तरक्रिया, वातावरणीय अवलोकन तथा रिफ्रेसमेन्ट कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।
अभियानका सल्लाहकार जुना बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्दै अभियानले वातावरण संरक्षणलाई सामाजिक उत्तरदायित्व र नागरिक संस्कारसँग जोड्दै अघि बढाएकोमा प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा अभियानलाई अझ व्यापक जनसहभागितासहित अघि बढाउन शुभकामना व्यक्त गर्नुभयो ।
अभियानका महासचिव नबराज काफ्लेले दोस्रो सत्रमा मन्तव्य प्रस्तुत गर्दै अभियानले विगतमा सञ्चालन गरेका गतिविधिहरू तथा वातावरणीय स्वास्थ्यसँग यसको अन्तरसम्बन्धबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो । उहाँले अभियान केवल कार्यक्रमको सूची नभई नागरिक चेतना र व्यवहार परिवर्तनको निरन्तर यात्रा भएको उल्लेख गर्दै “स्वच्छता, हरियाली र स्वास्थ्यलाई एकै सूत्रमा बाँधेर अघि बढ्नु नै हाम्रो मूल उद्देश्य हो” भन्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा अभियानका सल्लाहकार अञ्जनादेवी मधिकर्मी र भागिरथा सिटौला, पत्रकार, अभियानका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका सक्रिय अभियन्ताहरूको सहभागिता थियो ।
दोस्रो सत्रको कार्यक्रम अभियानका सचिव चन्द्रकृष्ण श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष जयराज पौडेलले स्वागत तथा धन्यवाद ज्ञापनसहित समापन मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘राष्ट्रका लागि २ घण्टा’ अभियानको वार्षिक प्रतिवेदन र आगामी नीति–कार्यक्रमलाई समग्रमा हेर्दा यसको यात्रा सडक सफाइबाट सुरु भएर वृक्षारोपण, वृक्षसंरक्षण, विद्यालय शिक्षा, फोहोर व्यवस्थापन, ट्राफिक सचेतना, वातावरणमैत्री यातायात हुँदै वातावरणीय स्वास्थ्य र जनस्वास्थ्यको बृहत् अवधारणासम्म पुगेको देखिन्छ ।
यस अभियानको आगामी चुनौती भनेको कार्यक्रमको संख्या बढाउनु मात्र नभई त्यसबाट दिगो परिणाम, नागरिकको व्यवहारमा परिवर्तन र संस्थागत स्वामित्व निर्माण गर्नु हो । वृक्षारोपणपछि बिरुवा जोगाउने, सरसफाइपछि फोहोर नफाल्ने संस्कार विकास गर्ने, प्लास्टिक हटाएपछि पुनःप्रयोगयोग्य सामग्रीको प्रयोग बढाउने र वातावरण संरक्षणलाई स्वास्थ्यसँग जोड्ने अभियानले अब आफ्नो प्रभावको वास्तविक मापन गर्नुपर्ने देखिन्छ ।
त्यसैले तेस्रो वार्षिक साधारणसभाले दिएको मूल सन्देश स्पष्ट छ-राष्ट्रका लागि हरेक नागरिकले दैनिक दुई घण्टा मात्र होइन, आफ्नो समय, श्रम, सीप र जिम्मेवारीको केही अंश समाज र वातावरणका लागि समर्पित गर्ने संस्कार विकास गर्न सके स्वच्छ वातावरण, स्वस्थ नागरिक र जिम्मेवार समाज निर्माणको अभियान अझ बलियो बन्न सक्छ । त्यसैगरी “दुई घण्टा राष्ट्रका लागि, उज्यालो भविष्य सबैका लागि”भन्ने आदर्श वाक्यलाई संस्थाको आगामी वर्षको मुल नाराको रुपमा साधारणसभाले अनुमोदन गरेको छ ।












Leave a Reply