ऐतिहासिक तथा पौराणिक विवरण
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालस्थित ब्रम्हायणी मन्दिरको वरिपरि रहेको नवदुर्गा ज्वलः (खाँच भएको जङ्गल) मा नवदुर्गा प्रकट भई नाच्ने र बाटो हिंड्ने मानिसहरूलाई ललाई फकाई लगि भोग बली लिने गर्दा जनजीवन भयावह बनेको थियो । नालाका एक सिद्ध तान्त्रिक आचार्य सोही बाटो भएर भक्तपुर आउँदा नवदुर्गा गणको फन्दामा परे । उनले चलाखीपूर्वक पहिले सबै देवी गणको पूजा गर्छु र त्यसपछि मात्र भोग बली लिनु भनी बिन्ती गरे । देवीहरूलाई लस्करै उभिन लगाएर पुजाका लागि तयार भए पछि उनले आफ्नो मन्त्र शक्तिद्वारा आफ्नो गोजीबाट अक्षता निकाली देवी गणलाई सूक्ष्म रूपमा परिणत गरी कलाँली (नेवार समुदायको पूजा सामग्री राख्ने भाँडो) मा विराजमान गराई नाला स्थित आफ्नो घरको गोप्य कोठामा लगि नित्य पूजा अनुष्ठान गर्न थाले ।
तान्त्रिक आचार्यको अवसानपछि नियमित पूजा रोकिएकाले नवदुर्गा गण मन्त्रबाट उम्की पुनः नवदुर्गा ज्वलमा पुगी पहिलेभन्दा उग्र रूपमा मानिसहरूको भोग बली लिन थाले । मानिसहरूलाई झुक्याई ब्रम्हायणी जङ्गलमा लगि भोग बली लिने क्रम बढेपछि भयावह स्थिति भयो । यसैक्रममा भक्तपुर इपाछे टोलका सिद्धः ब्राह्मण कर्मकाण्ड गर्न संयोगवश तान्त्रिक आचार्यको घरमा पुगेर समस्याको चुरो पत्ता लगाए ।
सोमराज नामक सिद्ध ब्राह्मण कर्मकाण्ड गर्न संयोगवश तान्त्रिक आचार्यको घरमा पुगेर समस्याको चुरो पत्ता लगाए । उनले मन्त्र शक्तिद्वारा सबै देवी गणलाई आह्वान गरी पुनः कलाँलीमा आहित गराई आफ्नो वासस्थान इपाछेंमा ल्याई भुइँतल्लाको सुरक्षित कोठामा राखी नित्य पूजा गर्न थाले । तर एक दिन सोमराजका मठ्याहा (माहिली) स्वास्नीले कौतुहलतावश लोग्ने घरमा नभएको मौका छोपी त्यो कोठा खोलिन् । त्यो कुरा नवदुर्गा गणले चाल पाए र आफ्नो गोप्यता भंग भएपछि क्रोधित देवीगण आफ्नो पूर्व स्थान जङ्गलतर्फ नै प्रस्थान गर्न इपाछेंको ढोकाबाट निस्कने क्रममा ढोका सामुन्ने बसेको अभक्ष जीव सुंगुरको समेत भोग बली लिन पुगे । (यसैकारण नवदुर्गा गणले सुंगुरको भोग बली लिएको लोकवाद छ) ।
सोमराजले नवदुर्गा ज्वलमा आएर अनेक अनुनय विनय गरेपनि देवीहरू सुँगुर बली लिएको हुनाले फर्कन सम्भव भएन । समस्या समाधानका लागि नवदुर्गा गणको आज्ञा मुताबिक सबै देवीगण समावेश भएको एउटा तान्त्रिक नाच वनमालाहरू (गाथा) लाई सिकाई दुनियाँका अगाडि देखाइने भयो । यसका लागि मोहनी (कालो टिका) साधना र देव प्रतिनिधिक (शरीरमा नवदुर्गा प्रवेश) गराउने चलन बस्यो ।
भक्तपुरको गछें टोलमा हालको नवदुर्गा मन्दिर स्थापना गरियो र वनमालाहरू पूजारी रहे । ब्रम्हायणी मन्दिरभित्र नवदुर्गा गणको आदी पीठ भएकाले हरेक वर्ष कार्तिक शुक्ल नवमी (जुवार नवमी) को मध्यरातमा यहाँ विशेष पुजा अनुष्ठानका लागि वनमालाहरू जामा लगाई पुजा सामग्री लिई ठुली ब्रम्हायणी मन्दिरमा आई पुजा गर्ने चलन हाल सम्म पनि रहेको छ ।
यो आदी पीठ भक्तपुर शहर भन्दा टाढा भएको हुनाले आदीकाल (लिच्छवीकाल र मल्लकालका वीचको समय) मा राजा आनन्द देवले सुडालको डाबु शहरबाट भक्तपुरमा राजधानी सार्ने क्रममा शहरमा सुरक्षाका लागि अष्टकोणमा अष्टमात्रिका स्थापना गर्नका लागि एक जना किसानलाई खर्पनमा आदी पीठबाट ब्रम्हायणी ल्याउन लगाएको र हाल चा.न.पा. ९ र भ.न.पा. ८ को सिमानामा अवस्थित ब्रम्हायणी पीठ रहेको स्थानमा खर्पन विसाउँन लाग्दा त्यो मूर्ति शिला भएकोले सोही शिलालाई त्यहीं प्राण प्रतिस्थापण गरी सोही स्थानमा ब्रम्हायणी मन्दिर बनाउन लगाइएको भन्ने कथन रहेको छ । त्यसैगरी सुडाल “डाबु“ (जसलाई नेवारहरूले डाबुँ भन्ने गरेका छन्) मा मध्यकालिन समयमा शहर थियो र राजा आनन्ददेवले यहीं बसेर राज्य चलाउँथे । उनको दरवारको भग्नावशेषमा रहेको ईट्राले सुडालका पुराना पुराना घरहरू बनाएको प्रमाणहरू अझै भेटिन सक्छ । त्यस शहरमा पनि ब्रम्हायणी गणको स्थापना गरिएको थियो भनिन्छ । सोही स्थान अहिले अधिकारी टोल नजिकै हाल पनि ब्रम्हायणी मन्दिर अद्यावधि रहेको छ ।
सुडाल क्षेत्र तथा भक्तपुर नगर क्षेत्रमा बस्ने बुढापाकाहरू साविक सुडाल–३ मा अवस्थित ब्रम्हायणीलाई जेठी, सुडाल–१ मा अवस्थित ब्रम्हायणीलाई माहिली र चा.न.पा. ९ अवस्थित ब्रम्हायणीलाई कान्छी ब्रम्हायणी भन्ने गरेका छन् । यी तीन ब्रम्हायणी एक आपसमा भेटघाट गर्न मध्यरातमा सेतो घोडा चढी आउने जाने गर्छन् भन्ने किंवदन्ती रहेको छ ।
आदी पीठ ब्रम्हायणीदेखि भक्तपुरको ब्रम्हायणी पीठसम्म जाने बाटोमा पक्की ईटा छापिएको थियो । बाटो विस्तारको क्रममा सो संरचना हाल देखिने अवस्थामा छैन तर पनि उत्खनन् गरी हेरिएको खण्डमा ठाउँठाउँमा उक्त छापिएको ईट्टा भेट्न सकिन्छ । यसले पनि यस मन्दिरको महत्वलाई झल्काउँछ ।
आदी पीठमा रहेको ब्रम्हायणीको हालको मन्दिर राजमान छिपाले ढुङ्गा कुँदेर निर्माण गरी क्षेमा पूजा गर्दा ब्रम्हायणीले मान्छेको भोग बली माग्दा आफ्नो देव्रे हातको बुढी औंला काटी भोग बली चढाएको थियो भन्ने आख्यान पनि रहेको छ ।
आदी पीठ रहेको नवदुर्गा ज्वल (जङ्गल) मा रहेको रुख विरुवा काट्नु हुँदैन यदि काटेको खण्डमा उसको मृत्यु हुन्छ भन्ने पनि गरिन्छ । डाबुमा रहेको महेन्द्रग्राम मा.वि.को पुरानो भवन वि.सं. २०२१ तिर निर्माणको क्रममा सुडाल–१ निवासी रामप्रसाद सुवेदीले सोही जङ्गलको रुख काट्दा रगत छादेर मृत्यु भएकोलाई यसको प्रमाणको रूपमा लिने गरिन्छ । यस जंगलको पात पतिङ्गर सोत्तरको रूपमा प्रयोग गर्नु हुँदैन यदि गरेको खण्डमा वस्तुभाउले आँखा देख्न सक्दैन र आँखा पनि फुल्ने÷सुन्निने र विरामी पनि हुने गर्छ भन्नेकुरा अहिले पनि जनसमुदायमा आख्यान पाइन्छ ।
आदी पीठ देखि भक्तपुर सम्मको पुरानो इँटा छापिएको बाटोको भग्नावशेष ठुली ब्रम्हायणी मन्दिर परिसरमा १०८ शिवलिङ्गको साथै पशुपतिनाथको मन्दिर पनि रहेकोछ । यहाँ शिवरात्री, हरितालिका तीज र बाला चतुर्दशीको अघिल्लो दिन बेलुकादेखि रातभर दिवंगत पितृहरूको सम्झनामा दीप प्रज्वलन गरि भोलिपल्ट सत्वीज छर्न घुईचो मेला लाग्ने गर्दछ । हालसालै नमूना पुरातात्विक महत्वको कलात्मक मृतिका शैली (टेराकोटा) को सत्तलले गर्दा त झन ठुली ब्रम्हायणी मन्दिरको शोभा सुन माथि सुवर्ण भने झैँ भएको छ ।
सुडालका समुदायबाट ब्रम्हायणीको प्रतिमा रथारोहण सहित गरिने हरेक सालको चैत्र मसान्त र बैशाख सङ्क्रान्ति (दुई दिन) बिस्केट अन्तर्गत ब्रम्हायणी जात्रा र सापारू (गाइजात्रा) मा तहामचा साँ बनाई घिन्ताङ घिसी नाच सहित ब्रम्हायणी मन्दिर परिक्रमा गरी बाजागाजाका साथ जात्रा पनि गरिन्छ ।
आउनुहोस् यस्तो अलौकिक शक्तिको महिमा भएको माँ ठुली ब्रम्हायणीको दर्शन गरौँ । पुण्य कमाऔँ । अवलोकन गरौँ । आन्तरिक पर्यटनको विकास गरौँ ।
जय श्री ब्रम्हायणी माई की जय !!!
(सुडाल ब्रम्हायणी विकास समितिबाट प्रकाशित ब्रोसरबाट)
चाँगुनारायण ८ नवदुर्गा गणको उत्पत्तिस्थल सुडालको ठुली ब्रम्हायणी माताको ऐतिहासिक तथा पौराणिक किम्बदन्ती












Leave a Reply