शब्दयात्रा प्रकाशनले समाजसेवी पासाङ दोर्ची शेर्पामा ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०८३’ र समाजसेवी पूर्णबहादुर कर्माचार्यमा ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार, २०८३’ समर्पण गरेको छ । आफ्नो जन्मजिल्लाका विभिन्न गाउँमा निःशुल्क रूपमा आँखा तथा साधारण स्वास्थ्यशिविर सञ्चालन, प्राथमिक आँखा उपचार केन्द्रको स्थापना, वीरेन्द्र मा. वि. र भोजपुर बहुमुखी क्याम्पस महिला छात्रावासको भवन निर्माण, धापखर्क शेर्पा प्रा. वि. को निर्माण, भोजपुरको विकासका लागि काठमाडौँमा रहेका भोजपुरेहरूलाई एकताबद्ध गराउन अहम् भूमिका निर्वाह गर्नुभएकोमा पासाङ दोर्ची शेर्पा (भोजपुर) मा ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, २०८३’ समर्पण गरिएको हो । पुरस्कार समर्पण गर्ने क्रममा गीता अधिकारीले पुष्पमाला र उपहार, हरि मञ्जुश्रीले रकम र शब्दयात्रा पट्ट तथा सन्ध्या पहाडीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । काभ्रेपलाञ्चोक जिल्लाको श्रीखण्डपुरमा नेपालकै नमुना मानिएको ढल प्रशोधन केन्द्र स्थापना गरेर बायोग्यास निकाली स्थानीय जनतामा वितरण गर्ने कार्यमा नेतृत्व गर्नुका साथै श्रीखण्डपुरका विषयमा पुस्तकहरू लेखी प्रकाशन गराएर नयाँ पुस्तालाई स्थानीय इतिहास, संस्कृति र परम्पराको जानकारी पनि दिनुभएकोमा पूर्णबहादुर कर्माचार्य (काभ्रेपलाञ्चोक) मा ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार, २०८३’ समर्पण गरिएको हो । पुरस्कार समर्पण गर्ने क्रममा जयनारायण नेपालले पुष्पमाला र उपहार, ज्ञानमणि नेपाल कालोटोपीले रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट र नीरा अधिकारीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । दुवैजनालाई अमृत अधिकारीले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो । ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ को कोष व्यवस्थापन कवि कृष्ण जोशीले र ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ को कोष व्यवस्थापन निरोज थापाले गर्नुभएको हो । पुरस्कृत व्यक्तित्वको चयन हरि मञ्जुश्रीको संयोजकत्वमा गठित पाँच सदस्यीय चयन समितिले गरेको हो ।
पासाङ दोर्ची शेर्पा र पूर्णबहादुर कर्माचार्यमा पुरस्कृत









Leave a Reply