भक्तपुर, भदौ ६। भक्तपुरको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले येचु बुटिक होटलले आजदेखि साप्ताहिक सांस्कृतिक कार्यक्रम सुरु गरेको छ। कार्यक्रमअन्तर्गत हरेक शनिबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म मौलिक संस्कृति झल्काउने विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुति प्रदर्शन गरिनेछ।
कार्यक्रमको पहिलो दिन लाखे, कुमारी, मञ्जुश्री, भैरव–काली लगायतका परम्परागत तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो। मौलिक भेषभूषा, बाजागाजा र नृत्यमार्फत कलाकारहरूले भक्तपुरको जीवन्त कला, संस्कृति र परम्परालाई प्रस्तुत गरेका थिए।
कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभा सांसद मदनकृष्ण श्रेष्ठले भक्तपुर सांस्कृतिक रूपमा विशिष्ट र समृद्ध रहेको बताउनुभयो। उहाँले भक्तपुरलाई ‘जीवित सम्पदा’का रूपमा उल्लेख गर्दै यहाँ विभिन्न प्रकारका सांस्कृतिक तथा ऐतिहासिक आकर्षणहरू प्रत्यक्ष रूपमा अनुभव गर्न सकिने बताउनुभयो। भक्तपुरको संस्कृति संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रबाट हुने पहल सकारात्मक रहेको उल्लेख गर्दै श्रेष्ठले येचु बुटिक होटलले संस्कृति प्रदर्शन तथा प्रवर्द्धनका लागि थालेको प्रयासको प्रशंसा गर्नुभयो। त्यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले मौलिक कला, संस्कृति र परम्पराको संरक्षणका लागि अझ बढी पहल आवश्यक रहेको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्दै मौलिक संस्कृतिको संरक्षणमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। कार्यक्रममा होटल व्यवसायी संघकी पहिलो महिला अध्यक्ष रोशनी मैया धौबञ्जारले पनि मन्तव्य राख्नुभएको थियो। उहाँले होटल व्यवसायसँगै स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
कार्यक्रमको स्वागत मन्तव्य होटलका तर्फबाट मनीषा उप्रेतीले दिनुभएको थियो। उहाँले भक्तपुरको मौलिक संस्कृति तथा सांस्कृतिक सम्पदालाई होटलको गतिविधिसँग जोड्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताउनुभयो। येचु बुटिक होटलकी व्यवसाय विकास प्रबन्धक रबिता बसुकलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
येचु बुटिक होटलका अनुसार साप्ताहिक रूपमा सञ्चालन हुने कार्यक्रममा प्रत्येक शनिबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म भक्तपुरका विभिन्न मौलिक तथा परम्परागत सांस्कृतिक नृत्य र प्रस्तुतिहरू देखाइनेछन्। कार्यक्रमले भक्तपुरको संस्कृति संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको जीवन्त सांस्कृतिक सम्पदासँग परिचित गराउने अपेक्षा गरिएको छ।












Leave a Reply