भक्तपुरको गाईजात्रा सुरु, मुख्य दिन भोलि

गाईजात्राको विशेष दिन भने भोलि हो। विशेष उल्लासकासाथ यहाँ धूमधामकासाथ गाईजात्रा मनाइँदै छ। जात्राको विशेष आकर्षण घिन्तागिसी नाच हो।

भोलिको जात्रा बिहानैबाट सुरु भए पनि भव्य भने दिउँसो हुने गर्दछ। देशभरमै आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालुप्रेमी आउने गर्दछन्।

प्रत्येक वर्ष जनै पूर्णिमाको साँझ तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु हुने परम्परा रही आएको छ। यस दिन साँझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ। यसलाई तलेजुको घिन्तान्गिसी भनिन्छ।

मंगलबारको भक्तपुरको गाईजात्राको विशेष आकर्षण साँझ लाकुलाछें (पोटरीस्क्वायर) बाट निकालिने भैलद्य (परालबाट बनाइएको गाईको प्रतीक) सहितको घिन्तागिन्सी हो।

त्यस दिनको जात्रा समापनसँगै साँझ अन्तिम घिन्तागिन्सीको रुपमा यो निकालिन्छ। त्यस अवसरमा अघिल्लोतिर भैलद्य र पछाडि यो टोलबाट मृत्यु हुने सम्पूर्ण टोलवासीहरुको ताहासाँ (गाईको प्रतिकका रुपमा निकालिने) घिन्तान्गिसी हुन्छ।

भैरवनाथ जात्रा सहयोग समिति लैको लाकुलाछें भक्तपुरका अनुसार यो वर्ष टोलमा २८ जनाको मृत्यु भएको छ। त्यसकारण यो वर्ष २८ परिवारका २८ ताहाचा र एक भैलद्यसासहित २९ टोली हुनेछन्।

यी सबैको घिन्तागिसी टोली भने सामूहिक रुपमा एउटै मात्रै हुने परम्परा छ। अन्य मृतकको ताहाँचा भने छुटाछटै निकालिन्छ। आ-आफ्नो घरबाट सुरु भई त्यही पुगेपछि ती जात्रा अन्त हुन्छ। र त्यही अनुसारको छटाछुटै घिन्तान्गिसी टोली रहेका हुन्छन्।

भक्तपुरको गाईजात्रा आठ रात नौ दिनसम्म चल्ने परम्परा छ। प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरु हुने यहाँको जात्रा कृष्ण अष्टमीसम्म चल्छ। जात्राको यो अवधिमा प्रत्येक दिन साँझ नगरका टोलटोलमा घिन्तान्गिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गर्ने गरिन्छ।

नगरभित्रका पुराना कला संस्कृति परम्परालाई जोगाइराख्न भन्दै भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गर्दै आएको छ।

नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्याङ्कन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधालाई नगद पुरस्कार वितरण गर्दै आएको हो। यो क्रमलाई नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको छ।

इतिहास एं संस्कृतिविद् डा. वीरेन्द्रप्रसाद कायष्ठले भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धूमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने जानकारी दिए।

उनका अनुसार गाईजात्राका लागि गठामुंगल (घण्टाकर्ण) पर्व सकेसँगै टोलटोलमा तयारी सुरु हुने परम्परा छ। यो क्रममा गाईजात्राका दिन (यो वर्ष मंगलबार) यहाँ विशेष नाच घिन्तान्गिसी प्रदर्शन हुने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *