भक्तपुरमा साङ्गीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा मङ्सिर १२ गते सल्लाघारी मैदानमा ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने जनाइएको छ । दृष्टिकोण, लुपिक्स इन्टरटेनमेन्ट र दी रोयल इभेन्ट्सको संयुक्त आयोजनामा हुन लागेको साङ्गीतिक मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्वलाई मुख्य उद्देश्य बनाइएको छ ।
उक्त साङ्गीतिक कार्यक्रमबाट सङ्कलन हुने व्यावसायिक आम्दानी (प्रायोजन र स्टल भाडा) को ५० प्रतिशत रकम तथा प्रत्यक्ष डिजिटल माध्यमबाट प्राप्त हुने सम्पूर्ण दान सहयोग समुदायमा आधारित पुनर्गठन संस्था (सिबिआरओ), भक्तपुरलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ । विसं २०४२ (सन् १९८५) मा स्थापित सिबिआरओले विगत लामो समयदेखि अपाङ्गता भएका बालबालिकाको अधिकार, शिक्षा र समावेशी समाज निर्माणमा निरन्तर कार्य गर्दै आएको छ ।
महोत्सवको मुख्य आकर्षणका रूपमा लोकतन्त्र र आधुनिक सङ्गीतको सम्मिश्रण प्रस्तुत गर्दै आएको ‘कुमा सागर एन्ड दी ख्वप ब्यान्ड’ ले भक्तपुरमा आफ्नो पहिलो बृहत् प्रस्तुति दिने छ । साथै रक ब्यान्ड मुक्ति एन्ड रिभाइभल तथा निवा डङ्गोल र चबाही डबुको साङ्गीतिक प्रस्तुति रहने छ । साङ्गीतिक प्रस्तुतिका साथै नेवारी संस्कृतिको जगेर्नाका लागि देवी नाच, कवान्चा नाच, जङ्गली नाच र खिचा नाच प्रदर्शन गरिने छ । ५० जना धिमे वादक र एक सय जना महिला नर्तकीको सहभागितामा विशेष धिमे नृत्य महोत्सवको मुख्य आकर्षण रहने आयोजकले जनाएका छन् ।











Leave a Reply