काठमाडौँ — नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान गुरुङले ११३औँ बिपी जयन्तीका अवसरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं समाजवादी चिन्तक विश्वेश्वरप्रसाद कोइरालाप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गरेका छन्। एक सन्देश जारी गर्दै नेता गुरुङले बिपीका विचार, आदर्श र सिद्धान्तहरू कुनै समयसापेक्ष वा सीमित दायरामा बन्धनमा रहने विषय नभएको बताएका छन्। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आधारभूत मन्त्र आजको बदलिँदो परिवेशमा पनि देशको मुहार फेर्न र युवाहरूलाई जोड्न उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारेका छन्। राजनीति भनेको पद वा अवसर मात्र नभई जनताको सेवा र सिद्धान्तप्रतिको निष्ठा हो भन्ने बिपीको मान्यता रहेको उल्लेख गर्दै नेता गुरुङले आजको युवा पुस्तालाई नेपाली कांग्रेसको वैचारिक धारमा आकर्षित गर्नुपर्नेमा जोड दिएका छन्। युवाहरूको ऊर्जालाई राष्ट्र निर्माणमा लगाउनु नै बिपीप्रतिको सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ छ। बिपीको विचारबाट प्रेरणा लिँदै समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको सङ्कल्पमा जुट्न उनले आह्वान गरेका छन्।
११३औँ बिपी जयन्ती: राजनीति पद वा अवसर होइन, जनताको सेवा र निष्ठा हो – नेता विद्वान गुरुङ












Leave a Reply