मध्यपुर ठिमीमा शुभकामना आदानप्रदानसहित भव्य कार्यक्रम सम्पन्न
नबराज काफ्ले
भक्तपुर, १७ असोज ।
नागरिक र प्रशासन/प्रतिनिधिबीचको दूरी घटाउँदै स्थानीय समस्या समाधान र जनचासोका विषयलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने उद्देश्यले मध्यपुर ठिमीमा आयोजित ‘नागरिक सुनुवाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।
सामुदायिक विकास तथा सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघर, भक्तपुरको आयोजनामा मध्यपुर ठिमी नगरपालिकास्थित ‘जर्मन होम्स’ मा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम आयोजक संस्था सामुदायिक विकास तथा सेवा केन्द्रका अध्यक्ष राजभक्त श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रभावकारी सञ्चालन महासचिव सुशीला श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवातमा सह-अध्यक्ष गोविन्द प्रसाद चौलागाईँले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य र नागरिक सुनुवाइको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । त्यसैगरी संस्थाका उद्देश्यबारे अध्यक्ष राजभक्त श्रेष्ठले स्पष्ट पार्नुभएको थियो ।
‘नागरिक सुनुवाइ’ सत्रमा विभिन्न ५ वटा टेबलबाट नागरिकहरूले सुरक्षा, जनस्वास्थ्य, पूर्वाधार तथा दैनिक जनजीवनका विविध ५ वटा प्रत्यक्ष प्रश्न तथा गुनासोहरू पेस गरेका थिए ।
उठेका प्रश्न र गुनासाहरूको सम्बोधन गर्दै प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरूले नागरिकका समस्या समाधानमा ऐक्यबद्धता प्रकट गर्नुभएको थियो ।
संघीय सांसद राजीव खत्रीले नागरिक स्तरबाट आएका समस्याहरूलाई नीतिगत तवरमै सम्बोधन गर्न पहल गर्ने बताउँदै शुभकामना व्यक्त गर्नुभयो ।
संघीय सांसद मदनकृष्ण श्रेष्ठले समाजमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न नागरिक र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
प्रदेश सांसद देवेन्द्र श्रेष्ठ तथा पूर्व माननीय प्रतिमा श्रेष्ठले प्रादेशिक तवरबाट स्थानीय विकास र नागरिकका अधिकार सुनिश्चित गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख (प्रहरी उपरीक्षक) सूर्यबहादुर खड्काले शान्ति–सुरक्षा सम्बन्धी उठेका गुनासाहरूको तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै प्रहरी र समुदायबीचको सम्बन्ध थप प्रगाढ बनाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।
मध्यपुर थिमी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णहरि आचार्यले स्थानीय तहबाट हुन सक्ने समाधानका उपायहरूबारे प्रस्ट पार्नुभएको थियो ।
कार्यक्रमका सन्दर्भमा बोल्दै संस्थाका उपाध्यक्ष नरेश रञ्जितले नागरिक स्तरमा देखिएका असमझदारी र समस्याहरूलाई प्रत्यक्ष संवादमार्फत निवारण गरी जनचेतना अभिवृद्धि गर्न यो कार्यक्रम एक ‘कोशेढुंगा’ साबित भएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, सुरक्षा निकायका प्रतिनिधिहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, भक्तपुर ट्राफिक प्रहरी तथा स्थानीय प्रहरी प्रभागका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति थियो।
त्यसैगरि पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार,राष्ट्रका लागि २ घण्टा अभियान भक्तपुरका महासचिव डाक्टर नबराज काफ्ले, आयोजक संस्थाका पूर्व पदाधिकारी तथा कार्यसमितिहरुमा पूर्व अध्यक्षहरू नविन चन्द्र श्रेष्ठ, सुरेन्द्र कुमार बोगटी, खेम प्रसाद सुवेदीका साथै वरिष्ठ उपाध्यक्ष हरिशरण रानाभाट, उपाध्यक्ष प्रधुम्न प्रसाद पौडेल, सचिव प्रदिप रुपाखेती, कोषाध्यक्ष उर्मिला श्रेष्ठ, सह-कोषाध्यक्ष निर्जना उदास लगायत कार्यसमितिका सदस्यहरूको सक्रिय सहभागिता थियो ।
नागरिक हयाम्स अस्पताल, अरनिको बचत तथा ऋण सहकारी, अन्नपूर्ण बहुमुखी सहकारी, नमुना बस्ती टोल सुधार समिति, सि.भि.एम. स्कुल, आदर्श माध्यमिक विद्यालय, नागरिक समाज तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान पत्र वितरण गरिएको थियो। सचिव प्रदिप रुपाखेतीले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औपचारिक विसर्जन गर्नुभएको थियो।












Leave a Reply