ताथलीमा बृहत् वृक्षारोपण तथा ९ विधाका उत्कृष्ट व्यक्तित्वहरू सम्मानित: इतिहास, संस्कृति र वातावरण संरक्षणमा हातेमालो गर्ने सामूहिक प्रतिबद्धता
नबराज काफ्ले
भक्तपुर, ६ असोज
चाँगूनारायण नगरपालिका वडा नं. ९ स्थित हलालगाउँ, ताथलीमा वातावरण संरक्षण, स्थानीय ऐतिहासिक सम्पदाको सम्वर्द्धन र समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘बृहत् वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रम–२०८३’ भव्यताका साथ सम्पन्न भएको छ ।
जनसञ्चार टेलिभिजनका स्टेशन म्यानेजर सुरेश प्रसाद सैंजूको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको सञ्चालन नेपाल टेलिभिजनका पत्रकार अंजिरसिंह बिकले गर्नुभएको थियो ।
हालसालै रसुवा,नुवाकोट,धादिङ,गोर्खा,चितवनमा आएको बाढीमा परी दिवङ्गत भएकाहरूप्रति एक मिनेट मौनधारण गरी सुरु गरिएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक प्रेमध्वज लामाले उपस्थित सम्पूर्ण अतिथि एवं सहभागीहरूलाई शब्दद्वारा हार्दिक स्वागत गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासक, सुरक्षा निकायका प्रमुख, समाजसेवी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले भक्तपुरको अमूल्य ऐतिहासिक सम्पदा र प्राचीन चट्टान अभिलेखको संरक्षण तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्न सरकारी तवरबाट आवश्यक पहलकदमी लिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँले समाजका विभिन्न विधामा योगदान पुर्याई सम्मानित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्नुभयो ।
जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले समाजको सर्वाङ्गीण विकासका लागि स्वास्थ्य क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने बताउँदै स्वास्थ्य विधालाई समेत समावेश गरी समर्पित व्यक्तित्वहरूलाई सम्मान गरेकोमा आयोजक टिमलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
पत्रकार महासङ्घ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जिप शुभचिन्तकले स्थानीय ऐतिहासिक सम्पदा तथा संस्कृतिको प्रचारप्रसारमा प्रविधिको प्रयोगमा जोड दिनुभयो । उहाँले हरेक नागरिकको हातमा रहेको मोबाइल र आधुनिक प्रविधिलाई आफ्नै सम्पदाको प्रवर्द्धनमा प्रयोग गर्न आग्रह गर्दै विकास र संरक्षणका लागि सधैँ अरूको मुख नताकी स्थानीयवासी आफैँ जागरूक हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
पुरातत्वविद् विश्वमोहन जोशीले भक्तपुर क्षेत्र पुरातात्विक र ऐतिहासिक दृष्टिले अत्यन्त धनी रहेको उल्लेख गर्दै यस्ता अमूल्य सम्पदाहरूको खोजी, अध्ययन र संरक्षणमा राज्यका साथै नागरिक स्तरबाट पनि निरन्तर प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
सम्मानित व्यक्तित्व सामाजिक अभियन्ता डा. नवराज काफ्लेले निष्काम भावले गरिने सत्कर्मको मूल्याङ्कन समाजले सुक्ष्म रूपमा गरिरहेको हुन्छ भन्ने कुरा आजको सम्मानले बोध गराएको बताउनुभयो। उहाँले यस्ता सम्मानले सामाजिक सेवा, वातावरण संरक्षण र निःस्वार्थ भावले काम गर्न थप ऊर्जा र जिम्मेवारीबोध गराउने उल्लेख गर्नुभयो।
कार्यक्रममा समाजसेवा, इतिहास, संस्कृति, स्वास्थ्य, शिक्षा, सञ्चार, कानुन, खेलकुद तथा कला-साहित्य गरि ९ वटा विधामा उत्कृष्ट योगदान पुर्याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मानपत्रद्वारा विभूषित गरियो ।
सामाजिक योगदान विधा अन्तर्गत योग प्रवर्द्धन/विस्तार,समाज रूपान्तरण, निःस्वार्थ जनसेवा, वातावरण जोगाउने वृक्षारोपण अभियान तथा सामाजिक एकता अभिवृद्धिमा पुर्याउनुभएको निरन्तर योगदानको कदर गर्दै डा.नबराज काफ्ले, प्रा.डा.सर्वज्ञभक्त मल्ल र प्रा.कोमल मदन मल्ललाई विशिष्ट सामाजिक सेवा सम्मान,पुरातात्विक संरक्षण विधा अन्तर्गत भक्तपुरको अमूल्य ऐतिहासिक सम्पदा, प्राचीन चट्टान अभिलेख एवं पुरातात्विक धरोहरहरूको खोज, अध्ययन र संरक्षणमा पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै विश्वमोहन जोशी (इतिहास विषयका शिक्षक), लक्ष्मणजित मल्ल (मुद्रा सङ्कलक तथा संरक्षक), समृद्धि मल्ल (मुद्रा सङ्कलक तथा संरक्षक) लाई पुरातात्विक तथा ऐतिहासिक धरोहर संरक्षण सम्मान, त्यसैगरी स्वास्थ्य विधा अन्तर्गत मानव जीवनको रक्षा, स्वास्थ्य सचेतना अभिवृद्धि र निःस्वार्थ सेवा भावका साथ समुदायको आरोग्यका लागि अहोरात्र खटिएर पुर्याउनुभएको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै
अञ्जना खड्का (प्रमुख, जनस्वास्थ्य कार्यालय भक्तपुर), श्यामसुन्दर धौभडेल (अध्यक्ष, सिद्धि स्मृति प्रतिष्ठान)लाई उत्कृष्ट स्वास्थ्य सेवा सम्मान,उत्कृष्ट जनप्रतिनिधि विधा अन्तर्गत स्थानीय विकास, जनसेवा, सुशासन, ऐतिहासिक धरोहर तथा वातावरण संरक्षणको अभियानमा नेतृत्वदायी र अनुकरणीय भूमिका निर्वाह गर्नुभएकोमा गणेश त्यात (वडाध्यक्ष, चाँगूनारायण न.पा.-९),विद्यापति थापा (वडा सदस्य) ,रविन बासुकला (वडा सदस्य),कमला गिरी (वडा सदस्य),सुमित्रा दर्जी (वडा सदस्य) लाई उत्कृष्ट जनप्रतिनिधि सम्मान, शिक्षण विधा अन्तर्गत ज्ञानको दीप प्रज्वलित गरी अनुशासित, नैतिकवान् र राष्ट्रप्रेमी नागरिक तयार पार्नुका साथै स्थानीय इतिहास र सांस्कृतिक चेतना अभिवृद्धिमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै हरिशरण दुलाल (देवी मा.वि. का पूर्व शिक्षक), सञ्जीव पुरी (सरस्वती मा.वि. का विद्यालय व्यवस्थापक)लाई उत्कृष्ट शिक्षासेवी सम्मान,सञ्चार विधा अन्तर्गत सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाहका माध्यमबाट समाजलाई सचेत गराउनुका साथै ऐतिहासिक चट्टान अभिलेख संरक्षण र वातावरणीय मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउनुभएकोमा सञ्जीव घिमिरे ‘शुभचिन्तक’ (अन्नपूर्ण पोष्ट), अंजिर बिक (नेपाल टेलिभिजन), कृष्ण किसी (नागरिक दैनिक), देवेन्द्र श्रेष्ठ (मैत्री न्यूज डट कम),सङ्गम लामा (पत्रकार) लाई उत्कृष्ट सञ्चारकर्मी सम्मान,कानुन विधा अन्तर्गत न्यायको रक्षा, कानुनी सचेतना अभिवृद्धि एवं सार्वजनिक तथा पुरातात्विक सम्पदाको कानुनी संरक्षणका लागि पुर्याउनुभएको विशिष्ट योगदानको कदर गर्दै रविन्द्र प्रधान (नेपाल बार एसोसिएसन भक्तपुरका पूर्व अध्यक्ष),देवकुमार मोक्तान (नेपाल बार एसोसिएसन काभ्रेका अध्यक्ष) लाई कानुन तथा न्याय सेवा सम्मान,खेलकुद विधा अन्तर्गत खेलकुदका माध्यमबाट युवा जनशक्तिमा अनुशासन, विकास, स्वास्थ्य चेतना र राष्ट्रिय/स्थानीय पहिचानलाई उच्च बनाउन पुर्याउनुभएको योगदानको कदर गर्दै कृष्णराम जाकीबञ्जार (राष्ट्रिय कराते प्रशिक्षक),सूर्यबहादुर लामा (राष्ट्रिय कराते प्रशिक्षक), केदार तुइतुइ (राष्ट्रिय बक्सिङ रेफ्रि तथा कोच), रामशरण राना (सितेरियो कराते)लाई उत्कृष्ट खेलकुद प्रतिभा सम्मान,कला तथा साहित्य विधा अन्तर्गत ईश्वर थोकर, हरिसुन्दर छुकां,विकास प्रहरलाई उत्कृष्ट कला तथा साहित्य सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय भक्तपुरका प्रमुख हेमन्त कार्की, भूमि प्रशासन कार्यालयका प्रमुख अर्जुन राई, नापी कार्यालय भक्तपुरका प्रमुख पूर्णप्रसाद पाण्डे, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख नवराज अधिकारी, डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख श्रद्धा सिग्देल, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, भक्तपुर ईट्टा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ ह्याँम्बा, भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद गोरा लगायत समाजसेवीहरू मञ्जित मल्ल, रविन्स लामा, अमृत लाकाजु, हेमन्त लामा, नापी संरक्षक लक्ष्मण बञ्जारा, नेपाल बैंक लि. भक्तपुरका कार्यालय प्रमुख सुनिल थुसा तथा चन्द्रप्रसाद भट्टराईको विशिष्ट उपस्थिति रहेको थियो ।
आजको आधुनिक युगमा एकातिर वातावरण विनाश र प्रदूषण तीव्र गतिमा बढिरहेको छ भने अर्कातिर हाम्रा मौलिक ऐतिहासिक सम्पदा र पुरातात्विक धरोहरहरू संरक्षणको अभावमा लोप हुने जोखिममा छन्। यस्तो अवस्थामा ताथलीमा आयोजित ‘वृहत वृक्षारोपण तथा विशिष्ट व्यक्तित्व सम्मान’ केवल एउटा औपचारिक कार्यक्रम मात्र नभई प्रकृति र संस्कृतिको सन्तुलित संरक्षणका लागि एक अनुकरणीय पहलकदमी भएको स्थानीयबासी बताउछन् ।
वृक्षारोपणले भावी पुस्तालाई स्वच्छ वातावरण दिनेछ भने समर्पित व्यक्तित्वहरूको सम्मानले समाजमा निःस्वार्थ सेवा, अनुशासित जीवनशैली र सिर्जनशीलताको संस्कृतिलाई निरन्तरता दिन उत्प्रेरित गर्नेछ। आयोजक टोलीको यो बहुआयामिक कदम अत्यन्तै सराहनीय र अनुकरणीय छ।










Leave a Reply