गबुँ गणेश टोल सुधार समितिद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै परम्परा, संस्कृति र सामाजिक सद्भाव संरक्षणमा जनाए सामूहिक प्रतिबद्धता नबराज काफ्ले
भक्तपुर,आश्वीन २८
चाँगुनारायण नगरपालिका–२ स्थित गबुँ गणेश टोल सुधार समितिले विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
स्थानीय उपभोक्ताबीच आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अभियन्ता, ज्येष्ठ नागरिक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
टोल सुधार समितिका अध्यक्ष बलराम सुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोमप्रसाद प्रधान, स्थानीय सामाजिक अभियन्ता डा. नवराज काफ्ले, ज्येष्ठ नागरिक समाजका अध्यक्ष मेदिनी प्रसाद उप्रेती तथा फैटोका गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद प्रधान लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित वक्ताहरूले नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेका चाडपर्वले परिवार, समुदाय र पुस्ताबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आपसी प्रेम, सद्भाव, सहिष्णुता र सहकार्यको भावना अभिवृद्धि गर्ने धारणा व्यक्त गरे। चाडपर्वलाई केवल औपचारिक उत्सवका रूपमा मात्र नभई मौलिक परम्परा, सांस्कृतिक मूल्य–मान्यता र सामाजिक एकतालाई जीवन्त राख्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्नेमा उनीहरूले जोड दिए। वक्ताहरूले आधुनिकता र बदलिँदो जीवनशैलीसँगै मौलिक संस्कार तथा सांस्कृतिक परम्पराको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, इतिहास र सामाजिक उत्तरदायित्वबारे परिचित गराउन यस्ता सामुदायिक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, टोलको विकास, सरसफाइ, सामाजिक सहयोग र सामूहिक हितका कार्यमा स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा मन्तव्य राख्दै वडाध्यक्ष सोमप्रसाद प्रधानले वडा क्षेत्रभित्र सञ्चालन गरिने विकास निर्माण तथा सामाजिक गतिविधिलाई समावेशी बनाउँदै सबै समुदाय र वर्गको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४७ लाई विशेष महत्वका साथ समावेशी ढङ्गले मनाउने गरी योजना बनाएको जानकारी दिँदै उक्त अभियानलाई सफल बनाउन सम्पूर्ण स्थानीयवासी, संघसंस्था तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आह्वान गरे।
नेपाल संवत् नेपाली समाजको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचानसँग जोडिएको मौलिक संवत् भएकाले यसको प्रवर्द्धन र संरक्षणमा स्थानीय तह, सामाजिक संघसंस्था तथा नागरिकको साझा भूमिका आवश्यक रहेको वडा अध्यक्ष प्रधान बताउछन् । यस कार्यक्रमले चाडपर्वका माध्यमबाट समुदायबीच आत्मीयता बढाउनुका साथै स्थानीयस्तरमा सहकार्य, एकता र सांस्कृतिक संरक्षणको भावनालाई थप बलियो बनाउने टोल सुधार समितिका अध्यक्ष बलराम सुवालको विस्वास रहेको छ । कार्यक्रमको अन्त्यमा अध्यक्ष सुवालले उपस्थित सम्पूर्ण अतिथि, वक्ता तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्दै शुभकामना आदानप्रदान कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।












Leave a Reply