ख्वपका शिक्षक–कर्मचारीले दिए आठ लाखभन्दा बढी सहयोग

भक्तपुर, १९ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भक्तपुरस्थित ख्वप माध्यमिक विद्यालय, शारदा क्याम्पस माध्यमिक विद्यालय र ख्वप कलेजका शिक्षक तथा कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन्।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै संस्थाले सहयोगको निर्णय गरेको हो। बाढीमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ। रसुवा जिल्ला प्रशासनले समेत बाढीपछि उद्धार, उपचार तथा राहतसम्बन्धी विवरण सार्वजनिक गर्दै आएको छ।

बाढी प्रभावितका लागि ख्वप माध्यमिक विद्यालय, शारदा क्याम्पस माध्यमिक विद्यालय तथा ख्वप कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीको भदौ महिनाको पारिश्रमिकबाट विभिन्न तहअनुसार एकदेखि तीन दिनसम्मको रकम कट्टा गरी जम्मा रु. ८ लाख २७ हजार ७२२ सहयोग गर्ने निर्णय गरिएको हो।

निर्णयअनुसार सहप्राध्यापक, उपप्राध्यापक तथा अधिकृतस्तरका कर्मचारीको तीन दिनको, हप्तामा ११ वटाभन्दा बढी कक्षा भार हुने शिक्षकको दुई दिनको, सहायकस्तरका कर्मचारीको दुई दिनको, हप्तामा चारदेखि १० वटा कक्षा भार हुने शिक्षकको एक दिनको तथा श्रेणीविहीन कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरिनेछ।

कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जानकारी संस्थाले दिएको छ। पछिल्लो समय भोटेकोशी बाढीपीडितका लागि विभिन्न संस्था तथा व्यक्तिबाट राहत तथा आर्थिक सहयोग जुटाउने क्रम जारी छ।

ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पस माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले जारी गरेको सूचनामा सहयोग रकम बाढी प्रभावितको राहत तथा उद्धारमा उपयोग हुने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *