कास्कीमा गृहश्रमिक ट्रेड युनियनको जिल्ला कमिटी गठन

ईश्वरी थापा

काठमाडौँ । नेपाल गृहश्रमिक ट्रेड युनियनको कास्की जिल्ला कमिटी गठन गरिएको छ। विभिन्न पाँच कमिटीबाट नेतृत्व चयन गरी पाँच सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो। कमिटी गठन कार्यक्रममा ५८ जना पेड सदस्यको सहभागिता थियो। दुईदिने कार्यक्रममा नेतृत्व विकास, ट्रेड युनियन शिक्षा, सामाजिक सुरक्षा, महिला सहायता तथा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको थियो। कार्यक्रममा ट्रेड युनियनकी अध्यक्ष ज्ञानु केसी, चन्द्र सागर लामा र अनिता तुलाधरले नेतृत्व विकास, सामाजिक सुरक्षा, महिला सहायता तथा सुरक्षित कार्यस्थलबारे प्रशिक्षण दिनुभएको थियो। गण्डकी प्रदेशका प्रमुख रुद्र खत्रीले नवनिर्वाचित कमिटीलाई बधाई दिँदै श्रमिक अधिकार संरक्षण र संगठन सुदृढीकरणमा ट्रेड युनियनको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। कार्यक्रमपछि सुनचाँदीका गहना बनाउने श्रमिक (गोल्डस्मिथ) ले काम गर्ने कार्यस्थलको स्थलगत अवलोकनसमेत गरिएको थियो। अवलोकनका क्रममा श्रमिकले भोगिरहेका समस्या तथा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका चुनौतीबारे जानकारी लिइएको आयोजकले जनाएको छ। कार्यक्रमले गृहश्रमिक तथा अन्य श्रमिकलाई थप संगठित गर्दै सदस्यता विस्तार, नेतृत्व विकास, श्रमिक अधिकार संरक्षण र सुरक्षित कार्यस्थल निर्माणमा नयाँ आधार तयार गरेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *