कविताः आत्मघात

प्रकाशचन्द्र खतिवडा
म आगोले स्नान गरेर
चिसो वरफ तापिरहेछु
कठोर जीवन संग संझौता नगरी
म जीवन संग बाँच्नका लागि लाप्पा खेलिरहे छु ।
मृत्यु नजिकै होला
तथापि म मृत्युलाई बेवास्ता गरी
जीवनको दौडमा सहभागि भै रहेछु
म टेक्छु यथार्थको धरातल
मैले टेकेको पाइलालाई पछाडि धकेलेर
मानिसहरु अविश्वास गर्छन
मैले जुन रातलाई
उज्यालोको विम्व मानेको थिएँ
मान्छेहरु त्यही रातलाई
औंशीको रात भन्दा रहेछन ।
मान्छेहरु संभोगको तन्द्रा बोकेर
रात अनिदै बिताउँछन
पानी प्राप्त गर्नु
र संभोग गर्नु फरक कुरा हो
संभोग गौण हो
पानी जीवनको उर्जा हो
जीवनको कुण्ठा बोकेर
मान्छेहरु यौन तुष्टि मै निर्लिप्त छन ।
मान्छेहरु रातो रङ औधि मन पराउँछन
रातो रङ क्रान्तिको प्रतीक हो
रातो रङ हाम्रो रगत हो
रगतको खोलो बगिरहेछ भन्दा पनि
विश्वासै नगरी
आफ्नै नसा काट्छन मान्छेहरु ।
पक्षघातपूर्व
मस्तिष्क घात हुन्छ भनेकै थिएँ
मानिसहरु पत्याउदैनन
खिल्लि उडाउँछन मेरो
म मौन छु
मेरो मौनतामा खेलेर
मान्छेहरु हँसि मजाक गर्छन
तथापि म प्रतिवाद गर्ने तयारीमा छु
म कमजोर छैन महाशय !
आगो संग खेल्ने प्रयत्न नगर ।
सपना यथार्थ होइन जानेरै पनि
सपनामा बहकिन्छन मान्छेहरु
सपनाको खोजि गर्ने क्रममा
विपना समेत तुहाउँछन मान्छेहरु ।
संसार सुन्दर होला
आँखीझ्यालबाट चिहाउँदा
त्यति नै कुरुप देखिदो होला
मूल ढोका बाट चिहाउँदा
संसारको सुन्दरता प्रति
बेवास्ता गर्दै
मान्छेहरु ओठ लेप्राउँछन किन ?
यौनाङ्ग छोपेर लाज भाग्ने हो र ?
कथित वस्त्र पहिरिए पनि
निर्वस्त्र देखिन्छ मान्छे ।
जीवनको सार निस्सार हैन
जीवन देखी भाग्नेहरु
आत्मघातको घोषणा गरि रहेछन
कायरता पस्कदै
म जीवनको कथा लेखि रहेछु
जिजीविषा सुम्सुम्याउँदै ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *