भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सातौं नगरसभाको आइतबार बसेको बैठकमा विधायन समितिका संयोजक हरिराम सुवालले ‘भक्तपुर नगरपालिकाको वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणसम्बन्धी विधेयक २०७७ पेश गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक भक्तपुर नगर क्षेत्रमा बढ्दो सहरीकरणसँगै नगरलाई मौलिक स्वरुप कायम गर्न र नगरभित्र वातावरणीय संरक्षणमार्फत स्वच्छता कायम गर्दै ध्वनी, दृश्य एवम् वातावरणीय प्रदूषण नियमन र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले यो विधेयक ल्याइएको बताउनुभयो ।
उक्त विधेयकमा विश्व सम्पदा क्षेत्र र पुरानो नगर क्षेत्रमा अत्यधिक धुँवा तथा रसायनिक पदार्थ निष्कासन हुने उद्योग सञ्चालन भएमा र भक्तपुर नगरमा कसैले तोकिएको समय र स्थानमा बाहेक फोहरमैला फालेमा र चोक तथा खुला क्षेत्रमा स्थानीय वडा कार्यालयको अनुमतिमा बाहेक जथाभावी सवारीसाधन पार्किङ गरेमा प्रदूषणजन्य कसुर ठहर्ने उल्लेख छ ।
विधेयक छलफलमा सभासद्हरू राजेन्द्र माक, शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी, सितादेवीनेपाली, ज्ञानकुमार मगजु, कृष्णगोपाल चौगुठी र गोबिन्द दुवालले विद्युतीय शवदाह गृह निर्माण गर्नुपर्ने, सार्वजनिक बाटोमा राँगो काटेर फोहर गर्नेलाई दण्ड गरिनुपर्ने, छाडा चौपाया व्यवस्थापन गर्नुपर्ने, वडा निरीक्षकलाई नापजाँचको तालिम दिनुपर्ने, कमलविनायक पोखरीलाई पनि सांस्कृतिक क्षेत्रभित्र परिनुपर्ने, फोहर व्यवस्थापनको लागि बाल्टिन वितरण गर्नुपर्नेलगायतका धारणा व्यक्त गर्नुभयो ।
सभाको विशेष समयमा सभासद्हरूले नगरको विकास निर्माण र समसामयिक विषयहरूबारे आ–आफ्नो जिज्ञासा प्रस्तुत गरेका थिए ।
सभामा उठेका जिज्ञासामाथि प्रष्ट पार्दै भक्तपुर नपाद्वारा गठित शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका संयोजक रबिन्द्र ज्याख्वले सरकारले ढिलो बजेट पठाएका कारण नपाका विद्यालयहरूमा स्यानिटरी प्याड वितरण गर्न असमर्थ भएको बताउनुहुँदै लकडाउनको समयमा पनि जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले बिरामीहरूको सेवा निरन्तर गरिरहेको प्रष्ट पार्नुभयो ।
यसैगरी निर्माण समितिका संयोजक उकेश कवांले सीमित बजेटभित्र बसेर नगरपालिकाले आफ्नो कार्य सञ्चालन गर्नुपर्ने बाध्यता भएको बताउनुहुँदै लकडाउनका कारण प्रदेश र संघबाट बजेट समयमै नआएको गुनासो पोख्नुभयो ।
सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नगरभित्र सञ्चालित सहकारी संस्थाहरूमा देखिएको बेथितिलाई सुधार गर्न नगरपालिकाले नियमित रुपमा अनुगमन गरिरहेको र भनपाले घरजग्गा मूल्यांकन कर निकै कम मात्र उठाइरहेको बताउनुभयो ।
कृषि समिति तथा बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराले नेपालमा पनि सलह किराको प्रकोप देखिँदै आएको र यसको नियन्त्रणको लागि आवश्यक छलफल भइरहेको बताउनुहुँदै बजार अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तुहरू नष्ट गरी आवश्यकताअनुरुपको कारबाही गरिरहेको बताउनुभयो ।
आज बसेको बैठकमा आ.व. २०७७÷७८ को विनियोजन बजेटमाथि छलफल भयो । नगरसभाको अर्को बैठक असार १६ गते १ः०० बजे बस्ने गरी स्थगित गरियो ।









