डडेलधुरा र बैतडीमा पहिलोपटक कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या
मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको
जनाएको हो ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा
विकास देवकोटाले संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १
जना, बैतडीका १ जना, बाँकेका १४ जना र मोरङका १ जनामा कोरोना संक्रमण
देखिएको बताए ।

कैलालीका संक्रमितहरुको उमेर १९, २३ र २६ छ । सबै
पुरुष हुन् । उनीहरु सबै सरस्वती मावि क्‍वारेन्टाइन जानकी गाउँपालिकामा
रहेका थिए । डडेलधुराका २८ वर्षीय संक्रमित परशुराम–१० डडेलधुराकै हुन् ।

त्यसैगरी
बैतडीका २२ वर्षीय पुरुष शिवनाथ –१ बैतडीका हुन् । बाँकेका संक्रमितको
उमेर १८ देखि ६१ रहेको छ । १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी
१३ जना नरैनापुरका हुन् । मोरङका संक्रमित रतुवामाई–२ मोरङका हुन् ।

शुक्रबार
बिहान थप ३० जनामा संक्रमण पुष्टि भएको थियो । डडेलधुरा र बैतडीमा
पहिलोपटक संक्रमण देखिएको हो । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील
कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा २१ जना
कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसरी निको हुनेको संख्या ७०
पुगेको छ । डिस्चार्ज हुनेमा महिला ९ जना र पुरुष १२ जना रहेका छन् ।

मन्त्रालयका
अनुसार शुक्रबारसम्म नेपालमा आरडीटी विधिबाट ८२ हजार १ सय १६ नमुना
परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ४२ हजार ४ सय ८८ परीक्षणहरु
गरिएका छन् ।

शुक्रबारको अपडेटमा क्वारेन्टाइनमा २७ हजार ८ सय २९ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी ४३३ जना रहेका छन् ।

संक्रमण
पुष्टि भएकामध्ये सिन्धुपाल्चोकमा १ र बाँकेमा १ र गुल्मीमा १ गरी ३ जनाको
मृत्यु भएको छ । हालसम्म ४० जिल्लामा संक्रमण फैलिइसकेको छ ।