चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त सर्जिकल मास्क हस्तान्तरण सम्पन्न
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले मित्र पार्टी चिनिया“ कम्युनिष्ट पार्टीबाट सहयोग प्राप्त स्वास्थ्य सुरक्षा सामग्री ५ हजार थान सर्जिकल मास्क भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई शुक्रबार एक समारोहबीच हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् माननीय प्रतिनिधिसभा सांसद प्रेम सुवालले कोभिड १९ रोग गत वर्षको अक्टोबरमा चीनको उहान सहरमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक खेलकुद प्रतियोगितामा भाग लिन गएका अमेरिकी सैनिकहरुबाट चीनमा संक्रमण फैलिएको बताउनुहुँदै यो यथार्थलाई ढाकछोप गर्न संरा अमेरिकाले ‘उहान भाइरस’ र ‘चिनियाँ भाइरस’ जस्ता भ्रम फैलाइरहेको बताउनुभयो ।
चीनले कोभिड १९ संक्रमित एक सयभन्दा बढी देशहरूमा स्वास्थ्य स्वयम्सेवक र सामग्रीहरू सहयोग प्रदान गर्दै आइरहेको छ भन्नुहुँदै सांसद सुवालले नेपाल–भारत खुला सीमा र आवतजावतका कारण नेपालमा कोभिड संक्रमणको खतरा बढेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा र नेमकिपाको तर्फबाट चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताप्रति धन्यवाद दिनुहुँदै भक्तपुर नपाले चीनलगायत अरु देशहरूले कोरोना भाइरस संक्रमण नियन्त्रणमा गरिरहेको उपायबाट शिक्षा लिंदै काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाकाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोभिड १९ नियन्त्रणको लागि भक्तपुर नपाले गरेका गतिविधिहरु सराहनीय र अरु स्थानीय तहहरुको लागि उदाहरणीय रहेको बताउनुभयो । उहाँले भक्तपुर नपाका कोभिड १९ नियन्त्रणका सबै गतिविधिहरुले गर्दा नगरमा कोभिड १९ नियन्त्रण कार्य प्रभावकारी भइरहेको र सांस्कृतिक नगरको सांस्कृतिक गतिविधिहरुको औपचारिकतामा सीमित गर्न सकिएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल रेडिएसन अनकोलोजिस्ट विभागीय प्रमुख उज्ज्वल चालिसेले संकटको घडीमा अस्पतालले सञ्चालन गरेको सेवा र सुविधाहरूबारे अवगत गराउनुहुँदै लकडाउनको समयमा यातायात अभावका कारण बिरामीहरूलाई अप्ठ्यारो स्थिति सिर्जना भएको बताउनुभयो ।
भक्तपुर अस्पतालका मे.सु. डा. सुमित्रा गौतमले कोभिड १९ नियन्त्रणका लागि भक्तपुर नगरपालिकाले खेलेको भूमिका सराहनीय भएको र निजी अस्पतालले सबै सेवा बन्द गरेको अवस्थामा पनि भक्तपुर अस्पतालले सम्पूर्ण सेवाहरू सञ्चालन गरेको बताउनुभयो ।
जनस्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख डा. रत्नसुन्दर लासिवाले कोभिड १९ नियन्त्रणका लागि केन्द्रबाट गरेको गतिविधिबारे अवगत गराउनुहुँदै लकडाउनमा पनि जनस्वास्थ्य केन्द्रले आकस्मिक सेवा निरन्तर सञ्चालन गरी आवश्यक सेवाहरू प्रदान गरिरहेको बताउनुभयो । २०७२ सालको विनाशकारी भूकम्पमा चिनियाँ कम्युनिष्ट पार्टीले जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरलाई १ लाख थान सर्जिकल मास्क सहयोग गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले कोभिड १९ रोकथामका लागि भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा विभिन्न संघ संस्थाहरूले आर्थिक र भौतिक सहयोग प्रदान गरिरहेको बताउनुभयो ।









