उपत्यकाका तीन सहरलाई एउटै स्वरमा जोड्दै कपिल

भक्तपुर, काठमाडौं र ललितपुरको सांस्कृतिक पहिचान गीतमार्फत प्रस्तुत गर्ने प्रयास भक्तपुर । गायक तथा गीतकार कपिल कसपालले काठमाडौं उपत्यकाका तीन ऐतिहासिक सहर भक्तपुर, काठमाडौं र ललितपुरलाई गीतमार्फत जोड्ने सांगीतिक यात्रा अघि बढाएका छन्। तीनवटै सहरको सांस्कृतिक पहिचान समेटिएका फरक–फरक गीतमा कसपालले स्वर दिएका छन्। भक्तपुरका लागि कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’को शब्द र बीबी अनुरागीको संगीत, काठमाडौंका लागि उत्तम विचारको शब्द र रिमेश कुमारको संगीत तथा ललितपुरका लागि निर्मलरत्न शाक्यको शब्द र मनराजा नकर्मीको संगीत रहेको छ। भक्तपुरसम्बन्धी ‘नेपाली शीरको कालो टोपी भक्तपुर भक्तपुर’ गीतमा भक्तपुरका सम्पदा, कला, भाषा, संस्कृति, परम्परा तथा पर्यटनलाई समेटिएको छ। गीतको भिडियोमा भक्तपुरका विभिन्न सांस्कृतिक तथा पर्यटकीय क्षेत्र प्रस्तुत गरिएको छ। तीन सहरका गीतमा शब्द र संगीत सिर्जना गर्ने व्यक्तित्व फरक भए पनि कसपालको स्वर साझा कडी बनेको छ। यसले उपत्यकाका तीन सांस्कृतिक सहरका फरक–फरक पहिचानलाई एउटै सांगीतिक यात्रामा जोड्ने प्रयास गरेको छ। कसपाल पछिल्लो समय ‘रसिलो ओठ’, ‘मायाको चेक’, ‘नेपाली शीरको कालो टोपी भक्तपुर’ र ‘छमछम पाउजु खनखन चुरा’ लगायतका गीतमार्फत सांगीतिक क्षेत्रमा सक्रिय छन्। स्थानीय संस्कृति, सम्पदा र पहिचानलाई गीत–संगीतमार्फत नयाँ पुस्ता तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्याउने उद्देश्यले अघि बढाइएको यो सांगीतिक यात्राले काठमाडौं उपत्यकाको सांस्कृतिक विविधतालाई एउटै स्वरमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *