भक्तपुरका मासु, मिठाई र खाजा पसल व्यवसायीहरुको भेला सकियो

भक्तपुर, २३ चैत । भक्तपुर नगरपालिकाको अनुगमन समितिको आयोजनमा मासु, मिठाई र खाजा पसल व्यवसायीहरुको भेला नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा सभाहलमा बुधबार सम्पन्न भयो ।
प्रमुख अतिथि नगरप्रमुख सुनिल प्रजापतिले भक्तपुर एउटा व्यवस्थित शहरको रुपमा विकास गर्दै लगेकोले अरुबाट सम्मानित शहर भएको बताउनुभयो । उहाँले अरुबाट सम्मानित हुन सभ्य र सुसंस्कुत भई व्यवसायीहरुलाई जरिवाना र बल प्रयोग गर्न नपर्ने गरी कानुनी दायर भित्र व्यवसाय संचालन गर्न अनुरोध गर्नुभयो । उहाँले घरदैलो फोहर संकलन गरिरहँदा समेत बेलुका पसल बन्द गर्ने समयमा बाटोमा फोहर फाल्ने कार्य सभ्याता नभएको र सचेतताको लागि भनपाको हरेका गाडीले माईकिङ्ग गराई रहेको बताउँदै सरसफाई सभ्याताको चिन्ह हो भन्नुभयो । उहाँले भक्तपुरमा उद्योगधन्दाको विकास गर्ने सम्भावना नभएकोले धेरै भन्दा धेरै पर्यटक भित्र्याई रोजगारीको प्रर्वद्धन गर्ने तर्फ नगरपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले विदेशमा एउटा मन्दिर हेर्न ५÷१० डलर लिन्छ तर भक्तपुर नगर पुरै हेर्न १५ डलरमात्र लिई पर्यटकहरुलाई पनि सेवा गरिरहेको बताउँनुभयो । उहाँले फोहरबाट दुर्गन्ध नआउने गरी नयाँ किसिमले कम्पोष्ट मल बनाई रहेको बताउँदै एक दुई जना मानिसहरुले भक्तपुरलाई बदनाम गर्न जथाभावी फोहर फालिरहेको छ तर नगरपालिका नगरबासीहरुको साझा संस्थाको रुपमा विकास गर्नु पर्ने बताउनुभयो । उहाँले कुकुर व्यवस्थापन गर्न धेरै खर्च भई रहेकोले व्यवसायीहरुले खानेकुरा र मासु जथाभावी फाल्दा कुकुरहरु अन्यत्रबाट आएर कुकुर बढी रहेको बताउँदै त्यस्तो सामान जथाभावी नफाल्न अनुरोध गर्नुभयो । उहाँले दिउँसो मात्र होइन रात्रीकालीन पर्यटन व्यवसाय विकास गर्न चहलपहल बढाई रहेको बताउँदै बाटोमा धुलो उडेर व्यवसायी र बटुवाहरुलाई समस्या भएकोले ईट्टाको ठाउँमा ढुङ्गा छपाई गरेको बताउनुभयो । उहाँले संसारको राम्रो ठाउँ बनाउन परम्परागत घर बनाउनेलाई अनुदान दिएको बताउनुभयो । उहाँले व्यापारमा म्याद नाघेको सामानहरु नबेच्न अनुरोध गर्दै कोरोनाको समयमा पनि पर्यटन विकास गर्न रानी पोखरी लगायत सम्पदाहरु पुनःनिर्माण गरिरहेको त्यसलाई ख्वप मोडेलबाट कहलिन थालेको बताउनुभयो । भक्तपुर भनेपछि पहिला नाक खुम्चाउन पर्नेमा सचेत र सभ्य नागरिक भई सम्मानित भएको छ भन्नुभयो । उहाँले एकतामा बल र क्षमता हुने बताउँदै कोरोनाको समयमा बैदेशिक सहयोग नलिई आफ्नै खुट्टामा उभिएर जनताको कर र सहयोगले अगाडि बढेको बताउनुभयो । उहाँले पर्यटकहरुले संसारको जिवित संग्राहलय भक्तपुर बनेको बताउनुभयो ।
कार्यक्रम अनुगमन समितिका संयोजक एवम् ३ नं वडाध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा सम्पन्न कार्यक्रमा सभापतिको आसनबाट नयाँ बर्ष र विस्केट जात्रामा मासु, खाजा र मिठाई पसलहरुमा धुइच्चो लाग्ने भएकोले व्यवसायीहरुले स्वस्थ तरिकाबाट संचालन होस् भने चाहनाले भेला राखेको बताउँदै भक्तपुर नगर उत्कृष्ट भनेर जुन समाचारहरु आईरहेको छ त्यसमा व्यवसायीहरु लगायत नगरबासीहरुको ठूलो योगदान छ भन्नुभयो । उहाँले व्यवसायी र नगरपालिका नङ्ग र मासुको सम्बन्ध प्रगाढ हुनु पर्नेमा सानो फाटोले धेरै दुखाई हुने बताउनुभयो । उहाँले तराजु नविकरणमा भएको समस्या, मासु, मिठाई पसल व्यवसाय र खाजा पसल व्यवसायीहरुले गर्नुपर्ने भुमिका र समस्याहरुबारे बोल्नु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै अनुगमन समितिका सदस्य एवम् कार्यपालिका सदस्य रोशन मैंया सुवालले व्यवसायीहरुको व्यवसाय प्रर्वद्धन गर्न नै भेला राखेको बताउँदै प्रतिस्पर्धी युग भएकोले व्यवसाय अगाडि बढाउन गा¥हो भएपनि नीति नियम भित्र बसेर कर तिर्ने, म्याद नाघेको सामानहरु नबेच्ने, ढुसि परेको, बासी सामानहरु नबेच्न, उपभोक्ता ठगि नगर्न सुझाब दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय कृष्ण गिरीले उद्यमीहरु व्यवसायी आचारसंहितामा बसेर जनतालाई अधिकतम सेवा गर्न र सचेत, नियमन र कानुनी दायरामा बसेर काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रम वडा निरिक्षक रामकृष्ण प्रजापतिले संचालन गर्नु भएको थियो भने व्यवसायी रोज बहादुर तामाङ्गले पनि बोल्नु भएको थियो ।