भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) का प्रतिनिधिमण्डलले निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा शुक्रबार ध्यानाकर्षण पत्र हस्तान्तरण ग¥यो ।
नगर प्रमुख प्रजापतिले लकडाउनका कारण देशभरका विद्यालय, उद्योग—व्यवसायहरु ठप्प रहँदा देशको अर्थतन्त्र खस्किँदै गएको बताउनुहुँदै रोगको सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाल सरकारले गरेको लकडाउनको पालना गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
उहाँले सिंगो समाजलाई कोभिड १९ को संक्रमण फैलनबाट कसरी जोगाउने भन्ने विषयमा नगरपालिकाले गम्भीरतापूर्वक आवश्यक सतर्कता अपनाउँदै आएको बताउनुहुँदै संकटको घडीमा कक्षामा विद्यार्थी भेला गरेर पढाउन भन्दा विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्नु नै उचित हुने बताउनुभयो ।
सम्भावित जोखिमलाई ध्यानमा राखी भक्तपुर नपाले नजिकिंदै गरेको घण्टाकर्ण, गुँला पर्व, गाईजात्रालगायतका पर्वहरुलाई औपचारिकतामामात्र सीमित गर्न नगरबासीहरुमाझ अनुरोध गरिसकेको बताउनुहुँदै उहाँले कोभिड १९ को संक्रमण समुदायस्तरमा फैलिन नदिन सम्बन्धित सबैले आ—आफ्नो ठाउँबाट सहयोगको लागि आग्रह गर्नुभयो ।








