जनप्रतिनिधिद्वारा नेपो इण्डष्ट्रिजको अनुगमन
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र औद्योगिक क्षेत्र व्यवस्थापन लि. केन्द्रीय कार्यालयका प्रतिनिधि, औद्योगिक क्षेत्रका सहायक प्रहरी निरीक्षकसहितको टोलीले शुक्रबार भक्तपुर नगरपालिका वडा नं. २ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इण्डष्ट्रिज प्रा.लि. अन्तर्गत सञ्चालनमा रहेको विभिन्न उद्योगहरुबाट भएको ध्वनी र धुँवा प्रदूषणबारे अनुगमन ग¥यो ।
सोही क्रममा स्थानीय पीडित जनताले औद्योगिक क्षेत्र व्यवस्थापन लि. मुख्य कार्यालय काठमाडौंबाट आएका प्रतिनिधि टोलीलाई भक्तपुर औद्योगिक क्षेत्रबाट भएको ध्वनि र धुँवा फाल्ने नेपो इण्डष्ट्रिज उद्योगबारे संयुक्त निवेदन हस्तान्तरण ग¥यो ।
निवेदनमा भक्तपुर नपाको इँताछेँ, खौमा, ब्यासी, भक्तपुर नगरपालिका कार्यालय, वरपरका जनतासमेत घरमा बस्न नहुने गरी सञ्चालित उद्योगहरुले ध्वनी र धुँवा प्रदूषण फाल्ने नेपो इन्डस्ट्रिज स्वचालित टेक्सटाइल मेसिन अगाडितर्फ २८ थान र पछाडितर्फ १४ थान गरी ४२ थान र डाइङ मेसिन गैरकानुनी ढंगले सञ्चालन गरिरहेको हुँदा नेपाल सरकारको सम्बन्धित निकायबाट प्रमाणित नभएसम्म नेपो इन्डष्ट्रिज बन्द गर्नुपर्ने उल्लेख छ ।
औद्योगिक व्यवस्थापन कार्यालयले स्थानीय सरकारबाट अनुमति प्राप्त उद्योगहरुमात्र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालन गर्न अनुमति दिनुपर्ने र अनुमति प्राप्त उद्योगले भक्तपुर नगरपालिकालाई तोकिएबमोजिम कर तिर्नुपर्नेलगायतका बुँदा उक्त निवेदनमा उल्लेख गरिएको छ ।








