अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापालाई निलम्बन गरेको छ।
थापालाई एन्फाको विधान विपरितका गतिविधि गरेको भन्दै आगामी साधारणसम्मका लागि निलम्बन गरिएको हो।
एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार
उनलाई जेठ ५ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको हो। एन्फाले थापाको
स्थानमा ललितपुरका महासचिव प्रविण श्रेष्ठलाई कार्यभार दिइएको छ।
थापाले गत वैशाख २२ मा एन्फा दिवसको दिन
भाइबर ग्रुपमा आक्रोशित जवाफ दिएका थिए। एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम
नेम्बाङले ए, बी र सी डिभिजन क्लबहरुको भाइबर ग्रुपमा एन्फा दिवसको
शुभकामना दिएकोमा उनले असन्तुष्टि जनाउँदै ‘आज एन्फा दिवस होइन। चोरहरूको
श्री गणेश डे हो।’ भनेका थिए।
एन्फा दिवसमा आफ्नो असन्तुष्टि पोखेका
ललितपुरका अध्यक्ष थापालाई एन्फाले वैशाख २४ गते लिखित स्पष्टिकरण पेश गर्न
भन्दै पत्र काटेको थियो। थापाले भाइबरमा गरेको टिप्पणी सामाजिक सञ्जालको
दुरुपयोग गरेको भन्दै ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ। एन्फाले थापालाई
कानुनविपरितको कार्य गरेको भन्दै ४८ घन्टाभित्र स्पष्टिकरण पेश गर्न भनेको
थियो।
थापाले दुई दिनपछि स्पष्टिकरण पेश गरेका
थिए। उनले एन्फा दिवसलाई आफूले भावानात्मक रुपमा आफ्नो मान्न नसकिएकोले
‘चोरहरुको दिवस’ भन्दै बाध्य भएको ब्यहोरा लेखेर स्पष्टिकरण पेश गरेका थिए।
उनले आफूले कसैलाई इङ्गित नगरेको भन्दै
माफी समेत मागेका थिए। उनले पत्रमा फिफासँग आबद्ध भएको दिनलाई एन्फा दिवसको
रुपमा मनाउन समेत सुझाव दिएका थिए।










