स्वतन्त्र पत्रकार संघ भक्तपुरले गरयो दसै के हो र कसरी मनाउने? बारे अन्तरक्रिया

भक्तपुर । दसैँको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै भक्तपुरमा ‘दसैँ के हो र कसरी मनाउने ?’ विषयक अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
स्वतन्त्र पत्रकार संघ भक्तपुरको आयोजनामा भक्तपुरमा आयोजित कार्यक्रममा इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ भक्तपुरका संस्थापक अध्यक्ष डा. इन्दुल केसी, संघका केन्द्रीय सदस्य प्रेमध्वज लामालगायतले दसैँको महत्व र यसको मौलिकताबारे धारणा राखेका थिए ।
कार्यक्रममा संस्कृतिविद् श्रेष्ठले दसैँको ऐतिहासिक तथा सांस्कृतिक पक्षबारे प्रकाश पार्दै यसको परम्परा, सामाजिक महत्व र मौलिकतालाई बुझेर चाडपर्व मनाउनुपर्ने विषयमा चर्चा गरेका थिए । उनले दसैँलाई केवल टीका, जमरा र खानपिनमा मात्र सीमित नगरी यससँग जोडिएका सांस्कृतिक मान्यता, परम्परा र ऐतिहासिक पक्षको अध्ययन गर्नुपर्नेमा जोड दिएका थिए ।
इतिहास तथा संस्कृतिविद् प्रा.डा श्रेष्ठले दसैँलाई हिन्दू धर्मावलम्बीको पर्वमा मात्र सीमित गरेर हेर्न नहुने बताए । दसैँ नेपालको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचानसँग जोडिएको पर्व भएको उनंले उल्लेख गरे । श्रेष्ठले दसैँको ऐतिहासिकता र सांस्कृतिक महत्व रहेको बताए । उनंले यसको महत्वलाई धार्मिक सीमाभन्दा व्यापक रूपमा बुझ्नुपर्नेमा जोड दिए ।
नेपालमा दसैँ धार्मिक आस्थासँगै पारिवारिक पुनर्मिलन, सामाजिक सम्बन्ध र सांस्कृतिक अभ्याससँग जोडिएको पर्वका रूपमा विकसित भएको उनले बताए । यद्यपि, यसको राष्ट्रिय स्वरूप र विभिन्न समुदायसँगको सम्बन्धलाई एउटै धार्मिक दृष्टिकोणबाट मात्र व्याख्या गर्न नसकिने विषयमा पनि अध्ययन तथा बहस हुँदै आएको उनंको भनाई छ ।
श्रेष्ठले दसैँ भारतबाट आएको पर्व हो भन्ने मान्यता गलत रहेको बताउँदै यसको ऐतिहासिक पृष्ठभूमि र नेपाली समाजमा विकसित मौलिक परम्पराको अध्ययन आवश्यक रहेको धारणा राखे । उनले दसैँलाई करिब दुई हजार वर्ष पुरानो संस्कृतिका रूपमा व्याख्या गर्दै यसको ऐतिहासिकता बुझ्न धार्मिक मान्यतासँगै समाजको सांस्कृतिक विकासक्रमलाई पनि हेर्नुपर्ने बताए ।
उनले दसैँलाई राष्ट्रिय सुरक्षा दिवसका रूपमा समेत बुझ्नुपर्ने धारणा राखे । यसले दसैँको परम्परागत धार्मिक पक्षसँगै राज्य, राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको ऐतिहासिक पक्षलाई पनि स्मरण गराउने उनको भनाइ थियो । श्रेष्ठको विचारमा संस्कृति कुनै समाजको चाडपर्व र रीतिरिवाजमा मात्र सीमित हुँदैन । संस्कृति नै समाजको पहिचान र निरन्तरताको आधार हो । संस्कृतिको संरक्षण र निरन्तरता कायम रहन नसके देशको मौलिक पहिचानसमेत कमजोर हुँदै जाने भएकाले सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
दसैँलाई केवल टीका, जमरा, खानपिन र पारिवारिक भेटघाटका रूपमा मात्र बुझ्दा यसको गहिरो ऐतिहासिक तथा सांस्कृतिक पक्ष ओझेलमा पर्न सक्ने उनको विचार थियो । त्यसैले नयाँ पुस्तालाई दसैँको परम्परा, यसको ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक अर्थबारे जानकारी गराउनुपर्ने आवश्यकता उनले औँल्याए ।
स्वतन्त्र पत्रकार संघ भक्तपुरका संस्थापक अध्यक्ष डा. केसीले दसैँजस्ता चाडपर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचारा कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए । उनले चाडपर्वका नाममा हुने विकृति र विसंगतिलाई निरुत्साहित गर्दै मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
संघका केन्द्रीय सदस्य प्रेमध्वज लामाले दसैँको सांस्कृतिक महत्व, सामाजिक सद्भाव र परम्पराको निरन्तरताबारे धारणा राखेका थिए । वक्ताहरूले चाडपर्वलाई आफ्नो संस्कृति, परम्परा र सामाजिक सम्बन्धलाई बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका थिए । कार्यक्रममा दसैँ मनाउने परम्परा, यसको बदलिँदो स्वरूप तथा नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने विषयमा समेत विचार आदानप्रदान गरिएको थियो ।
आयोजक संघका जिल्ला अध्यक्ष रेणु त्वानाबासुलगायतले पनि दसैँको सामाजिक महत्व, सांस्कृतिक मौलिकता र आपसी सद्भावबारे धारणा राखे । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकार, नेवा पत्रकार राष्टिय दवू भक्तपुरका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ (गोपाल), स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य सुरेश सैंजू, संघका उपाध्यक्ष मणिराम लामिछाने, सहसचिव राजन कार्की, प्रेस सेन्टर नेपालका अध्यक्ष मदन ढुंगानालगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । स्वतन्त्र पत्रकार संघ, भक्तपुरको आयोजनामा सम्पन्न कार्यक्रममा दसैँको ऐतिहासिक तथा सांस्कृतिक पक्षमाथि छलफल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूले एकअर्कालाई दसैँको शुभकामना व्यक्त गरेका थिए ।
दसैँको उत्पत्ति र ऐतिहासिक विकासक्रमबारे इतिहासकारहरूबीच विभिन्न व्याख्या पाइन्छन् । इतिहासकार महेशराज पन्तले नेपालमा दसैँ मनाइएको लिखित प्रमाण कम्तीमा सन् १३७५ सम्म पछ्याउन सकिने उल्लेख गर्नुभएको छ । यसले दसैँको ऐतिहासिकता अध्ययन गर्दा मौखिक परम्परा, धार्मिक ग्रन्थ, अभिलेख र लिखित प्रमाणलाई छुट्टाछुट्टै विश्लेषण गर्नुपर्ने देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *