नबराज काफ्ले
भक्तपुर, गुण्डु,आश्वीन
सूर्यविनायक नगरपालिकालाई दशैंपछि तत्काल “योगनगर” घोषणाको प्रक्रियामा अगाडि बढाईने नगर प्रवक्ता रविन्द्र सापकोटाले प्रतिबद्धता व्यक्त गरेका छन्। गुण्डुमा आयोजित विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले यो उद्घोष गरेका हुन्। पातञ्जल योग समिति नेपाल गुण्डु योग साधना केन्द्रले विजया दशमीको पावन अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वडा अध्यक्ष समेत रहेका सापकोटाले योगनगर घोषणाको प्रक्रिया अघि बढाउन नगरपालिकाभित्र योग साधनामा अभ्यस्त संस्थाहरूलाई सहयोग र सहकार्यमा जुट्न हार्दिक अपील गरे। पातञ्जल योग समिति नेपालका महासचिव नवराज काफ्लेले समिति देशभरका ७५३ वटै पालिकालाई योगनगर बनाउने अभियानमा जुटिरहेको जानकारी दिए। उनका अनुसार कतिपय पालिकामा घोषणा भई कार्यारम्भसमेत भइसकेको छ। सूर्यविनायकमा पनि यस्तो घोषणाको उद्घोष गरेकोमा उनले नगरपालिकालाई धन्यवाद ज्ञापन गरे। समितिका उपाध्यक्ष योग प्रसाद आचार्यले गुण्डु योग साधना केन्द्रले पुर्याएको योग प्रबन्ध विस्तारको कामका लागि धन्यवाद दिँदै शुभकामना व्यक्त गरे। समितिका केन्द्रीय सल्लाहकार अभय श्रेष्ठले पातञ्जल योग समिति नेपालको योगदानको विशेष चर्चा गरे। योग साधनाबिनाको जीवन कल्पना गर्न नसकिने भन्दै उनले सबैलाई यसमा आबद्ध हुन आह्वान गरे। पातञ्जल योग समिति नेपाल भक्तपुर जिल्ला शाखाकी अध्यक्ष रिता पाख्रीनले योगनगर घोषणाले जिल्लाभित्रको योग जागरणमा एउटा इँटा थप्ने विश्वास व्यक्त गरिन्। साधाना केन्द्रका अध्यक्ष पविना थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोपिला मैनालीले स्वागत मन्तव्य राखेकी थिइन्। प्रेमकृष्ण नगरकोटी, दिलीप राज दाहाल र जिल्ला समन्वय समिति भक्तपुरकी पूर्व उपप्रमुख सरिता कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरे। कार्यक्रममा सूर्यविनायक नगरपालिकाका विभिन्न भूगोलबाट आएका योग साधक, साधिका, स्थानीय समाजसेवी र बुद्धिजीवीको सहभागिता थियो।












Leave a Reply