काठमाडौं — लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिसम्बन्धी विषयमा पुनरावलोकन गरी आवश्यक निर्णय लिन जेन्जी २.० ले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
जेन्जी २.० ले नियुक्तिसँग सम्बन्धित कानुनी आधार, आवश्यक योग्यता, पात्रता तथा प्रक्रियाको निष्पक्ष परीक्षण गर्न सरकारसँग माग गरेको हो।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको राष्ट्रिय गौरव तथा अन्तर्राष्ट्रिय महत्त्व बोकेको क्षेत्र भएकाले त्यहाँको विकास, व्यवस्थापन र नेतृत्वसँग सम्बन्धित नियुक्तिहरू पारदर्शी, कानुनसम्मत र जवाफदेही हुनुपर्ने जेन्जी २.० को धारणा छ।
संगठनले नियुक्तिसँग सम्बन्धित कागजात तथा विवरण आधिकारिक निकायबाट प्रमाणीकरण गरी आवश्यक छानबिन गर्नुपर्नेमा जोड दिएको छ। साथै, छानबिनबाट नियुक्ति प्रचलित कानुनविपरीत भएको प्रमाणित भएमा कानुनी प्रक्रिया पूरा गरी नियुक्ति रद्द गर्नसमेत सरकारसँग माग गरेको छ।
जेन्जी २.० ले आफ्नो माग कुनै व्यक्तिप्रतिको पूर्वाग्रहमा आधारित नभई सार्वजनिक पदमा नियुक्ति गर्दा कानुनी मापदण्ड, पारदर्शिता र जनविश्वास कायम हुनुपर्ने मान्यतामा आधारित रहेको जनाएको छ।
संगठनले यस विषयमा निष्पक्ष र तथ्यमा आधारित निर्णय लिन तथा लुम्बिनी विकास कोषको गरिमा र विश्वसनीयता कायम राख्न सरकारसँग आग्रह गरेको छ।










Leave a Reply