नबराज काफ्ले
भाद्र १० काठमाडौं — माथिल्लो क्षेत्रमा भोटेकोशी नदीमा आएको बाढीका कारण नदी आसपासका बस्तीमा जोखिम बढेको सूचना प्राप्त भएपछि बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापाले रसुवासहित धादिङ, गोरखा, नुवाकोट र चितवन आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै अत्यन्त जरुरी सार्वजनिक अपिल जारी गर्नुभएको छ। मुख्यमन्त्री थापाले विशेषगरी नदी तथा खोला किनार, तल्लो भूभाग र जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई तत्काल सुरक्षित तथा उच्च स्थानतर्फ सर्न आग्रह गर्नुभएको छ। उहाँले सम्भावित जोखिमलाई सामान्य रूपमा नलिई समयमै सावधानी अपनाउन तथा आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ। अपिलमार्फत मुख्यमन्त्री थापाले बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै परिवार, छिमेकी तथा आसपासका नागरिकलाई समेत जोखिमबारे तत्काल जानकारी गराउन आह्वान गर्नुभएको छ। उहाँले सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धारमा खटिएका निकायबाट जारी हुने आधिकारिक सूचना र निर्देशनलाई अनिवार्य रूपमा पालना गर्नसमेत आग्रह गर्नुभएको छ। बाढी तथा विपद्को संवेदनशील अवस्थामा अफवाहमा नपरी आधिकारिक सूचनालाई मात्र आधार बनाउन र उद्धार तथा राहत कार्यमा खटिएका निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न उहाँले अनुरोध गर्नुभएको छ। मुख्यमन्त्रीको अपिलमा विपद्को यस कठिन घडीमा मानवता, सहकार्य र एकताको भावना अझ बलियो बनाउनुपर्नेमा जोड दिइएको छ। बाढी प्रभावित क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीलाई आवश्यक सहयोग गर्न, उद्धार तथा राहत कार्यमा खटिएका निकायलाई पूर्ण सहयोग र समन्वय गर्न तथा एक–अर्काको जीवन सुरक्षामा सहयोगी बन्न उहाँले सबैमा आग्रह गर्नुभएको छ। ‘यो समय सतर्कता र सुरक्षित रहनुपर्ने समय हो’ भन्ने सन्देश दिँदै मुख्यमन्त्री थापाले सम्भावित जोखिमबाट बच्न नागरिक स्वयं सचेत हुनुपर्ने र आसपासका व्यक्तिलाई समेत सुरक्षित बनाउन सहयोग गर्नुपर्ने बताउनुभएको छ। मुख्यमन्त्री थापाले अन्त्यमा “आफू सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित रहन सहयोग गरौँ” भन्ने भावनाका साथ सबै नागरिकलाई विपद्को यस संवेदनशील घडीमा संयमित, सचेत र जिम्मेवार बन्न हार्दिक अपिल गर्नुभएको छ। बागमती प्रदेश सरकार नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक पहलमा प्रतिबद्ध रहेको जनाएको छ।












Leave a Reply