भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया दशमीको पावन अवसरमा विभिन्न जिल्लामा कार्यरत भक्तपुरका शिक्षकहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले शिक्षकहरू अध्ययनशील, इमानदार र कर्तव्यनिष्ठ हुनुपर्ने बताउँदै सामाजिक विकृति, विसङ्गति तथा राजनीतिक बेथितिविरुद्ध आवाज उठाउन विद्यार्र्थीहरूलाई प्रेरित गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षकहरूले सामाजिक सञ्जालको सही सदुपयोग गर्न सिकाउनुका साथै विद्यार्थीमा आफ्नै बौद्धिक क्षमताप्रति आत्मविश्वास जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । शिक्षकको गुणस्तर र इमानदारिताले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
कार्यक्रमका विशेष अतिथि एवं वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता र वैदेशिक हस्तक्षेपका कारण देशको विकासमा चुनौती थपिएको उल्लेख गर्दै शिक्षकहरू देशका बौद्धिक वर्ग भएकाले आ–आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । नेपाल क्रान्तिकारी शिक्षक संघ, केन्द्रीय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले दशैँ–तिहारजस्ता सांस्कृतिक पर्वलाई रचनात्मक गतिविधिसहित मनाउनुपर्ने तथा शिक्षक सरुवालाई विद्यालयको आवश्यकताका आधारमा व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधानअनुसार कक्षा १२ सम्मको शिक्षासम्बन्धी अधिकार स्थानीय तहमा रहेकाले सरकारले सोहीअनुरूप आवश्यक नियम लागू गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, नेक्राशिसंघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले शिक्षक सरुवाका व्यावहारिक चुनौतीबारे चर्चा गर्दै शिक्षकहरू जुनसुकै जिल्लामा कार्यरत भए पनि निष्ठा, कर्मठता र इमानदारीका साथ काम गर्नुपर्ने बताउनुभयो । जिल्ला समितिका सदस्य राकेश सुकुपायोले शिक्षा नीति, शिक्षा ऐन तथा शिक्षा नियमावलीको दसौँ संशोधनसम्बन्धी विषयमा चर्चा गर्नुभयो । अतिथि गणेश माध्यमिक विद्यालय, भार्वाचोका प्रधानाध्यापक लक्ष्मीसुन्दर सुवालले विद्यालयका शिक्षक तथा कर्मचारीका कानुनी अधिकारबारे प्रकाश पार्नुभयो । सम्पर्क समितिका संयोजक गोपालसुन्दर गोसाईको सभापतित्वमा सम्पन्न सो कार्यक्रम समितिका सदस्य सर्जु फसिकवाले सञ्चालन गर्नुभएको थियो ।












Leave a Reply