नबराज काफ्ले
सूर्यविनायक, भक्तपुर,२०८३ असोज २९
“दिगो विकास व्यवस्थापन गर्दै आएको हाम्रो सूर्यविनायक नगर, स्वच्छ समृद्ध सूर्यविनायक नगर” भन्ने मूल नाराका साथ सूर्यविनायक नगरपालिका औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासन युक्त नगरपालिका’ घोषित भएको छ। असोज २९ गते आयोजित विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापाको प्रमुख आतिथ्यता तथा नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा उक्त ऐतिहासिक घोषणा सम्पन्न भएको हो ।
समारोहको सुरुआत पानसमा दीप प्रज्वलन, राष्ट्रिय गान तथा नगर गान प्रस्तुतिबाट गरिएको थियो । कार्यक्रममा नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले स्वागत मन्तव्य राख्दै सम्पूर्ण अतिथि, जनप्रतिनिधि, बालअधिकारकर्मी तथा नगरवासीलाई शाब्दिक स्वागत गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन गरी हासिल गरेको उपलब्धिप्रति बधाई ज्ञापन गर्नुभयो। सम्बोधनका क्रममा मुख्यमन्त्री थापाले भक्तपुर जिल्लालाई समग्र प्रदेशकै विशिष्ट पहिचानसहितको मोडल जिल्लाका रूपमा विकास गर्ने प्रादेशिक योजना सार्वजनिक गर्नुभयो। उहाँका अनुसार प्रदेश सरकार भक्तपुरलाई गुणस्तरीय तथा सुलभ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, बालमैत्री एवं आधुनिक प्रविधियुक्त शैक्षिक केन्द्रका रूपमा विकास गर्ने,ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने,शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग र प्राकृतिक चिकित्सा प्रणालीको विस्तार गर्ने सोचका साथ अघि बढिरहेको बताउनुभयो।
यस्तै, बागमती प्रदेश सरकारका प्रमुख सचिव कमल भट्टराईले बालमैत्री स्थानीय शासनको ऐतिहासिक महत्त्व, प्रशासनिक उत्तरदायित्व र यसको निरन्तरतामा जोड दिनुभयो। कार्यक्रमका अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले बालमैत्री घोषणा कागजी प्रक्रियामा मात्र सीमित नरहने र यसलाई दिगो बनाउन नगर प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले घोषणापछिको कार्यान्वयनलाई प्रभावकारी बनाउन नीति, बजेट र संरचनागत स्थायित्व दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुर्यविनायक नगरपालिका,सामाजिक विकास समितिका संयोजक एवं नगर प्रवक्ता/वडा अध्यक्ष रविन्द्र सापकोटाले नगरपालिकाको बालमैत्री स्थानीय शासन अभियानको विस्तृत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदन अनुसार २०८१ साल वैशाख ९ गतेदेखि सुरु भएको यस अभियानले ५२ वटा न्यूनतम सूचकहरू पूरा गर्दै बालअधिकारका चारै स्तम्भ बाल बचाउ,बाल संरक्षण,बालविकास र बालसहभागीतामा उल्लेखनीय प्रगति हासिल गरेको छ । साथै प्रत्येक वडामा बालमैत्री सम्पर्क व्यक्ति र बालमैत्री सहजकर्ता (१० जना) परिचालन, बालमैत्री पूर्वाधार (खानेपानी, शौचालय, खेल मैदान) निर्माण तथा ‘बाल वस्तुगत विवरण पुस्तिका’ प्रकाशन गरिएको छ।
नगर बाल सञ्जालकी अध्यक्ष मानसी काफ्लेले बालबालिकाका तर्फबाट अभियानको अनुभव, बालअधिकारको प्रयोग र भविष्यका अपेक्षाबारे प्रकाश पार्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। घोषणा समारोहमा विविध सांस्कृतिक झाँकी तथा बालकेन्द्रित प्रस्तुतिहरू आकर्षणका रूपमा रहेका थिए । भरतनाट्यम नृत्य, स्वागत नृत्य, र चेतनामूलक गीती नाटक, कविता वाचन र नृत्य,धिमेबाजा, चण्डी नाच, तामाङ सेलो, खैजडी नाच र नेवारी परम्परागत नृत्यहरू प्रदर्शन गरिएका थिए। सोही अवसरमा नगर बालपत्रिका विमोचन गरिनुका साथै बालमैत्री निर्माणको क्रममा भएका गतिविधि समेटिएको भिडियो डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियोे ।
अभियानमा उत्कृष्ट योगदान पुर्याउने १० वटै वडाका अध्यक्षहरू, कर्मचारी, विद्यालय बाल क्लबका सहजकर्ताहरू तथा नगर बाल सञ्जालका पूर्व अध्यक्षहरू लगायतलाई कदरपत्रद्वारा सम्मान गरियो । कार्यक्रममा बागमती प्रदेश सरकारका सचिव उमेश कुमार ढकाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार,राजनीतिक दलका प्रतिनिधि, बालअधिकारकर्मी तथा नागरिक समाजको व्यापक उपस्थिति रहेको थियो। कार्यक्रमको अन्त्यमा सूर्यविनायक नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रदीप कार्कीले धन्यवाद ज्ञापन गर्दै समारोहको औपचारिक समापन गर्नुभएको थियो।












Leave a Reply