फेको प्रविधिबाट निःशुल्क मोतिबिन्दुको शल्यक्रिया

भक्तपुर । चाँगुनारायण नगरपालिका, नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुरको सहकार्यमा चाँगुनारायण नगरपालिकाका नागरिकलाई फेको प्रविधिबाट निःशुल्क मोतिबिन्दुको शल्यक्रिया सेवा प्रदान गर्न सुरु गरिएको छ ।

सोही सहमतिअनुसार चाँगुनारायण नगरपालिका–२, दुवाकोटका पहिलो चरणका पाँच जना बिरामीको बुधबार ख्वप तिलगंगा आँखा अस्पतालमा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गरिएको हो।

शल्यक्रिया गरिएका बिरामीहरूको बिहीबार आँखाको पट्टी खोल्ने क्रममा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोमप्रसाद प्रधान पनि अस्पताल पुग्नुभएको थियो। उहाँले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै निःशुल्क रूपमा उपलब्ध गराइएको उपचार सेवाप्रति खुशी व्यक्त गर्नुभयो।

चाँगुनारायण नगरपालिकाअन्तर्गतका मोतिबिन्दुका बिरामीलाई आधुनिक फेको प्रविधिबाट निःशुल्क शल्यक्रिया गर्ने सहमतिअनुसार आगामी दिनमा पनि आवश्यक बिरामीलाई सेवा प्रदान गरिने जनाइएको छ।

यस सहकार्यले आर्थिक अभावका कारण मोतिबिन्दुको उपचारबाट वञ्चित हुन सक्ने नगरवासीलाई आधुनिक प्रविधिबाट उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *