प्रहरी संगठनलाई कमजोर बनाउन खोज्नेमाथि कानुनी कारबाही अघि बढाउने चेतावनी

नबराज काफ्ले
काठमाडौं, कात्तिक १३ – नेपाल प्रहरीले आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणीलाई अपुष्ट, भ्रामक, तथ्यहीन र स्वार्थकेन्द्रित भनेको छ। प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयले शुक्रबार (मिति २०८३।०७।१२) प्रेस विज्ञप्ति जारी गरी यस्ता सूचनाको पछि नलाग्न सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई अनुरोध गरेको हो।

विज्ञप्तिमा पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार वा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता फैलिने उल्लेख छ। त्यसले सुरक्षा जोखिमका बेला नागरिकले संस्थामाथि राख्ने विश्वास, संगठनको छवि र निष्ठामा समेत असर पार्न सक्ने प्रहरीको ठहर छ।

प्रहरीले सत्य, तथ्यपरक र विश्वसनीय सूचना पाउनु नागरिकको मौलिक अधिकार भएको स्वीकार गरेको छ। यही अधिकारको सम्मान गर्दै समाचार प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न, पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न र राज्यको चौथो अंगको जिम्मेवारी निर्वाह गर्न उसले आग्रह गरेको छ।

विज्ञप्तिमा प्रहरीले आफूलाई सार्वजनिक सुरक्षा, शान्ति अमनचयन, अपराध नियन्त्रण र नागरिकको जीउधनको सुरक्षाप्रति प्रतिबद्ध संगठन भनेको छ। संगठनको प्रतिष्ठा, व्यावसायिकता र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले योजनाबद्ध रूपमा भ्रामक सूचना सम्प्रेषण गरिएको दाबी पनि गरेको छ। प्रहरीलाई कमजोर बनाउन वा विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राख्ने “केही सीमित व्यक्ति” को चालबाजीलाई प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान र कारबाही अघि बढाउने व्यहोरासमेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ। विज्ञप्तिमा केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेको हस्ताक्षर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *