नेपालको राष्ट्रियता इतिहासमै सबैभन्दा सङ्कटमा

नेपालका विभिन्न कम्युनिस्ट पार्टीका नेता, परराष्ट्रविद् र बुद्धिजीवीहरूले नेपालको राष्ट्रियता इतिहासमै सबैभन्दा सङ्कटमा रहेको भन्दै यसको रक्षाका लागि एकजुट हुन तयार रहेको बताएका छन् । उनीहरूले साम्राज्यवादी शक्तिहरूले नेपालमा लगानीको प्रतिफल खोज्दै राष्ट्रियतामाथि सङ्कट थोपरेको, अमेरिकी सेना भित्र्याएर युरेनियम कब्जा गर्ने, चीन घेर्ने नीति अघि बढाएको र प्राकृतिक सम्पदा कब्जा गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सबै वक्ताहरूले राष्ट्रियताको रक्षाका लागि देशभक्त, क्रान्तिकारी र वामपन्थी शक्तिहरूबीच एकता र मोर्चाबद्ध सङ्घर्ष आवश्यक रहेकोमा जोड दिएका छन् । काठमाडौँ । नेपालका विभिन्न कम्युनिस्ट पार्टी नेता, परराष्ट्रविद् र वामपन्थी बुद्धिजीवीहरूले नेपालको राष्ट्रियता इतिहासमै सबैभन्दा सङ्कटमा रहेकाले यसको रक्षाका लागि एकजुट हुन आफू तयार रहेको बताएका छन् । उनीहरूले राष्ट्रिय विपद्मा राहत र उद्धारका लागि एक भएर लाग्न पनि सरकार, राजनीतिक दल र जनसमुदायलाई आह्वान गरेका छन् । राजधानीमा शनिबार समाजवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिले आयोजना गरेको बृहत् विचारगोष्ठीमा सहभागी विभिन्न राजनीतिक दलका नेता, कूटनीतिज्ञ र बौद्धिकहरूका बिच नेपालको राष्ट्रियतामाथि सुगौली सन्धियताकै गम्भीर सङ्कट आइपरेको स्वीकार गरेका हुन् । समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव अशोक सुवेदीले प्रस्तुत गरेको ‘नेपालको राष्ट्रियतामाथिको सङ्कट र मोर्चाबद्ध प्रतिरोधको आवश्यकता’ विषयक गोष्ठीपत्रमाथि विचार राख्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले साम्राज्यवादी शक्तिहरूले जेनजी विद्रोह, निर्वाचन र सरकार निर्माणका क्रममा आफूले गरेको लगानीको प्रतिफल खोजिरहेको र त्यसले पछिल्लो अवस्थामा नेपालको राष्ट्रियतामाथि थप सङ्कट थोपरेको बताए । श्रेष्ठले टीओबी, बारबरा फाउन्डेसन, अमेरिकी युथ काउन्सिल र सेनाले अमेरिकी सेना नेपालमा भित्र्याएर मुस्ताङलगायत क्षेत्रमा रहेको बहुमूल्य युरेनियम कब्जा गर्ने, नेपाललाई साम्राज्यवादी युद्धमैदान बनाउने, चीन घेर्ने नीति अघि बढाइरहेको र शनिबार प्रमुख जिल्ला अधिकारीको कार्यालय खोलेर दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न दिनु, एमसीसी पारित गराएर एसपीपी अघि बढाउन दबाब दिनु, नेपालको प्राकृतिक सम्पदा कब्जा गर्न नेपाली जेलेन्स्की तयार पार्नु यसैको उदाहरण रहेको पनि श्रेष्ठले बताए । साम्राज्यवादी फासिवाद रोक्न देशभक्त, क्रान्तिकारी शक्तिहरूका बिच एकता र मोर्चाबद्ध सङ्घर्ष आवश्यक रहेको उनको भनाइ थियो । नेपालमा अब ‘डिजास्टर म्यानेजमेन्ट डिप्लोमेसी’ (विपद् व्यवस्थापन कूटनीति) अघि बढाउनुपर्ने र शान्ति क्षेत्र नेपालको धारणालाई कार्यरूप दिनुपर्ने भन्दै श्रेष्ठले यो प्रस्तावले अमेरिका र भारतलाई विभिन्न बहानामा नेपालमा आउनबाट रोक्ने धारणा राखे । नेपालले चीनसँग विपद् व्यवस्थापन कूटनीतिक सम्झौता गरी त्रिपक्षीय हिमताल अध्ययन समिति गठन गरेर नेपालको प्राकृतिक विपद् रोक्न पहल लिनुपर्ने श्रेष्ठले बताए । माओवादी नेता हरिबोल गजुरेलले नेपालका राजनीतिक शक्तिहरू राष्ट्रियता रक्षाका लागि स्वेच्छाले नभएर बाध्यात्मक परिस्थितिले एक ठाउँमा आउनुपर्ने अवस्था उत्पन्न भएको धारणा राखे । नेपालको स्वतन्त्र परराष्ट्र नीति नहुनु, देशलाई स्वाधीन हुनबाट रोक्न साम्राज्यवादी शक्तिहरू लागिपर्नु, देशका शासकहरू बाह्य शक्तिको अनावश्यक दबाब र प्रभावमा पर्नुको कारण राष्ट्रियतामाथिको सङ्कट बढिरहेको नेता गजुरेलको भनाइ थियो । स्वतन्त्र राष्ट्रको हैसियतमा नरहेको नेपालको राष्ट्रियतामाथि सधैँ साम्राज्यवादी तरबार झुन्डिइरहेको र यसको संयुक्त प्रतिरोध गर्नुको विकल्प नरहेको नेता गजुरेलले बताए । नेपाली कम्युनिस्ट पार्टीका नेता लीलामणि पोखरेलले नेपालको सङ्कटमा परेको राष्ट्रियताको रक्षा गर्ने विषयमा कसैले कसैमाथि आरोप–प्रत्यारोप गर्ने भन्दा पनि मिलेर जानुपर्ने अवस्था उत्पन्न भएको बताए । नेपालका देशभक्त, कम्युनिस्टहरूले देश र जनताको मुक्तिका लागि लडेको उदाहरण प्रस्तुत गर्दै नेता पोखरेलले ठूलो बलिदानपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र जोगाउँदै राष्ट्रियताको रक्षाका लागि एक हुन गोष्ठीले कम्युनिस्ट पार्टी र देशभक्त जनतालाई ठूलो सहयोग पुर्याउने धारणा राखे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य दिनेश शर्माले सुगौली सन्धि, कालापानीमा भारतीय सैनिक क्याम्प राख्न दिने सहमति, महाकाली सन्धि र एमसीसी सम्झौताले नेपालको राष्ट्रियतालाई इतिहासमै सबैभन्दा खतरामा पारेको बताए ।

नेपाली काङ्ग्रेस, एमाले र एकीकृत माओवादी नेतृत्वका सरकारहरूले देश र जनताका पक्षमा काम गर्न नसकेको, बेथिति बढाएको, राष्ट्रघात र जनघात गरेका कारण जनता आजित भएको अवस्थाको दुरुपयोग गर्दै साम्राज्यवादी शक्तिले नेपालका युवाहरूलाई दुरुपयोग गरी आफ्नो स्वार्थअनुरूपको सरकार निर्माण गरेको शर्माको भनाइ थियो । नेपालको सुरक्षा निकाय, न्यायालय, सरकार सबै नयाँ खालको उपनिवेशको कब्जामा परेपछि नेपालको राष्ट्रियतामाथि सङ्कट मडारिएकाले फासिवादी सत्ताका विरुद्ध देशभक्तहरूको अग्रगामी राष्ट्रिय राजनीतिक सम्मेलनमार्फत नयाँ सत्ता र नयाँ संविधान निर्माण गर्नुपर्ने शर्माले बताए । वामपन्थी बुद्धिजीवी महादीप पोखरेलले नेपालमा हालै भोटेकोसी नदीमा भएको प्राकृतिक प्रकोपलाई बहाना बनाएर साम्राज्यवादी शक्तिहरूले चीनमाथि आरोप थोपर्ने र नेपालमा अमेरिकी सेना राख्ने षड्यन्त्र झन् अघि बढाएको बताए । मुस्ताङको युरोनियम कब्जा गर्ने, चीन घेर्ने, डाटा कम्पनी खोल्ने र नेपालका सम्पूर्ण हिमालहरूको हिउँ पगाल्ने सााम्राज्यवादी षड्यन्त्र समयमै नबुझ्ने हो भने यो क्षेत्र जीवरहित बन्ने खतरा बढ्दै गएको भन्दै पोखरेलले देशको रक्षाका लागि सम्पूर्ण देशभक्त, वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य बनिसकेको धारणा राखे ।

नेकपा मालेका महासचिव सीपी मैनालीले शासकहरूका कारण हेर्दाहेर्दै नेपाल युक्रेन बन्ने खतरामा पुगेको बताए । ‘चीनले नेपालमा बाढी पठाइदियो, भारतले नेपाललाई सहयोग गर्देन । त्यसैले नेपालमा अमेरिकी सेना भित्र्याउनुपर्छ’ भन्ने अफवाह फैलाएर चीनको बदनाम गर्ने, नेपालमा अमेरिकी सेना भित्र्याउने र नेपालबाट चीन घेर्दै नेपाललाई साम्राज्यवादी युद्धअखडा बनाउने षड्यन्त्रबाट बच्न सबै देशभक्त, वामपन्थीहरूबीच शक्तिशाली देशभक्त वामपन्थी मोर्चा बन्नुपर्नेमा जोड दिँदै नेता मैनालीले कम्युनिस्ट पार्टीहरूले सिङ्गो आन्दोलनको समीक्षा गरेपछि संयुक्त कम्युनिस्ट आन्दोलन अघि बढ्ने धारणा राखे । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको राष्ट्रियता रक्षा गर्न साम्राज्यवादी षड्यन्त्र, योजना र कार्यक्रमहरूको संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने धारणा राखे । जनताले जहिले पनि दुईतिहाइ मत दिएको सरकारको समयमा नेपालको राष्ट्रियतामाथि सङ्कट थोपरिने गरेको उदाहरण राख्दै अर्थविद् क्षेत्रीले नेपालको अर्थतन्त्रको विकास गर्नुपर्ने, त्यसका लागि कृषिमा आत्मनिर्भरता बढाउनुपर्ने, उर्वर माटो पहिचान गरी उत्पादन बढाउनुपर्ने, रोजगारी वृद्धि गर्नृ उद्योग, कलकारखाना सञ्चालन गर्नुपर्ने मत प्रकट गरे । नेकपाका अध्यक्ष ऋषि कट्टेलले देशमा भीषण प्राकृतिक प्रकोप परिरहेको समयमा पीडितहरूको उद्धार, राहतका साथै राष्ट्रियताका पक्षमा समसामयिक विचारगोष्ठी आयोजना गरेर असल सन्देश प्रवाह गरिएको बताए । अमेरिकाले नेपालसम्बन्धी नीति परिवर्तन गरेपछि नेपालको राष्ट्रियता विगतमा भन्दा झनै पेचिलो र सङ्कटपूर्ण बनेको धारणा राख्दै कट्टेलले सुगौलीदेखि महाकाली सन्धि हुँदै एमसीसी र एसपीपीसम्म आइपुग्दा नेपाल सिक्किम वा भुटान बन्ने खतरा बढिरहेको बताए । नेपालका कम्युनिस्टहरूले निरन्तर राष्ट्रियताको रक्षाका लागि सङ्घर्ष गर्दै आएकाले मात्र नेपाल जोगिएको भन्दै देशभक्त कम्युनिस्टहरू इमानदारीसाथ फेरि एक भएर लड्नुपर्ने कट्टेलको भनाइ थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, वामपन्थी विश्लेषक लोककृष्ण भट्टराईलगायतले पनि देशभक्त, वामपन्थी शक्तिहरूका बिच बृहत् मोर्चा निर्माण गरेर संयुक्त प्रतिरोध गर्दै राष्ट्रियताको रक्षा गर्नुपर्ने धारणा राखेका थिए । सबै वक्ताले भदौ १० गते भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख प्रकट गर्दै सबै शक्तिले एकताबद्ध भएर पीडितहरूको उद्धार र राहतमा लाग्नुपर्ने बताएका थिए । बाढीमा परी मृत्यु भएकाहरूप्रति सबै वक्ताले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *