भक्तपुर, ६ भदौ । भक्तपुरको कमलविनायकस्थित Hotel Yechu मा हरेक शनिबार परम्परागत लाखे नाच तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
होटल येचुले सांस्कृतिक थिएटरसँगको सहकार्यमा भदौ ६ गतेदेखि हरेक शनिबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म लाखे नाचसहित विभिन्न सांस्कृतिक प्रस्तुति आयोजना गर्न लागेको हो। आयोजकका अनुसार कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ।
भक्तपुरको मौलिक कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको होटलले जनाएको छ। कार्यक्रममा लाखेको परम्परागत नृत्यसँगै विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्। होटलले सामाजिक सञ्जालमार्फत कार्यक्रममार्फत स्थानीय संस्कृति र सांस्कृतिक अनुभवलाई आगन्तुकमाझ पुर्याउने जनाएको छ।
लाखे नाच नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक नृत्य हो। विशेषगरी विभिन्न जात्रा तथा पर्वका अवसरमा लाखेको मुखुन्डो लगाएर यो नाच प्रस्तुत गरिन्छ। भक्तपुरमा पनि लाखे नाचसहित विभिन्न परम्परागत नाच तथा जात्राको समृद्ध परम्परा रहेको छ।
होटलका अनुसार हरेक शनिबार दिउँसो ३ देखि ५ बजेसम्म हुने कार्यक्रमले स्थानीय बासिन्दाका साथै भक्तपुर भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्थानीय कला–संस्कृतिको प्रत्यक्ष अनुभव गराउने अपेक्षा गरिएको छ।
आयोजकले सांस्कृतिक कार्यक्रमलाई मनोरञ्जन मात्र नभई भक्तपुरको मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनसँग जोड्ने प्रयासका रूपमा अघि बढाइएको जनाएको छ।












Leave a Reply