भारी वर्षाको सम्भावनाबीच
नबराज काफ्ले ०८३ श्रावण २८,विहिवार भक्तपुर । मनसुन सक्रिय भइरहेका बेला आज दिउँसोदेखि रातिसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले नगरवासीलाई उच्च सतर्कता अपनाउन विशेष अपिल गरेका छन् । सम्भावित वर्षाजन्य विपद्बबाट जनधनको क्षति न्यूनीकरण गर्न जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारलाई विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा उनले जोड दिएका छन् । नगरप्रमुख खत्रीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को अनुरोधलाई विशेष ध्यान दिँदै परिस्थिति गम्भीर बनेमा आवश्यकताअनुसार सवारी आवागमनसमेत रोक्न वा रोक्न लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । उनले जारी गरेको अपिलमा भनिएको छ, “आज दिउँसो र राति भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउनु हुन अनुरोध गर्दछु । परिस्थिति अनुसार सवारी आवागमन बन्द गर्नु–गराउनु तथा उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने घरपरिवारलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नु–गराउनु हुन अनुरोध छ ।” लगातारको वर्षाले खोला तथा नदीमा पानीको बहाव बढ्नुका साथै सडक अवरुद्ध, डुबान, पहिरो, भू–क्षय तथा कमजोर संरचना भत्किने जोखिम बढाउन सक्छ । विशेषगरी खोला तथा खोल्साको आसपास, भिरालो भू–भाग, पहिरोको सम्भावना भएका क्षेत्र तथा कमजोर संरचना भएका घरमा बसोबास गर्ने नागरिक थप सचेत हुनुपर्ने देखिन्छ । वर्षाको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कने, जोखिमयुक्त सडक तथा खोल्सा पार नगर्ने, सवारीसाधन चलाउँदा मौसम र सडकको अवस्थालाई प्राथमिकता दिने तथा स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने सूचनालाई तत्काल पालना गर्नु नागरिक सुरक्षाका दृष्टिले महत्वपूर्ण हुन्छ । नगरप्रमुख खत्रीको अपिलको महत्वपूर्ण पक्ष भनेको “विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण” गर्ने विषय हो । विपद् सुरु भएपछि उद्धारमा निर्भर रहनुभन्दा जोखिमको पूर्वानुमान गरी समयमै सुरक्षित स्थानमा सर्नु नै प्रभावकारी विपद् व्यवस्थापनको आधार हो । यसले नगरपालिकाको विपद् व्यवस्थापनलाई केवल उद्धार र राहतमा सीमित नराखी पूर्वतयारी, पूर्वसूचना र जोखिम न्यूनीकरणमा केन्द्रित गर्न खोजिएको संकेत गर्छ । जोखिममा रहेका नागरिकको अवस्थाप्रति स्थानीय सरकारको प्रत्यक्ष चासो र जिम्मेवारीबोधका रूपमा पनि नगरप्रमुखको यो अपिललाई लिन सकिन्छ । स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले विपद्का बेला जनताको सुरक्षा सुनिश्चित गर्नु उसको प्रमुख दायित्व हो । वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरप्रमुख स्वयंले सार्वजनिक अपिलमार्फत नागरिकलाई सचेत गराउनु र जोखिमयुक्त परिवारलाई समयमै सुरक्षित स्थानमा सार्न जोड दिनु सकारात्मक पहल हो । तर अपिलसँगै अब जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वसूचना प्रणालीको प्रभावकारी प्रयोग, उद्धार टोलीको तयारी, सुरक्षित आश्रयस्थलको व्यवस्थापन, सडक तथा खोला–खोल्साको नियमित निगरानी र स्थानीय तहबीच समन्वयलाई पनि व्यवहारमै प्रभावकारी बनाउन आवश्यक छ । सम्भावित विपद् रोक्न नसकिए पनि पूर्वतयारीबाट यसको मानवीय र भौतिक क्षति भने उल्लेख्य रूपमा घटाउन सकिन्छ । त्यसैले चाँगुनारायण नगरपालिकाका नागरिकले पनि नगरप्रमुखको अपिललाई सामान्य सूचना मात्र नभई सम्भावित जोखिमबाट सुरक्षित रहने पूर्वचेतावनीका रूपमा ग्रहण गर्दै आफू, आफ्नो परिवार र समुदायको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ ।














Leave a Reply