भक्तपुर, १७ असोज
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करसहित १५ प्रतिशत लाभांश पारित गर्दै २९औं वार्षिक साधारणसभा स्थानीय ब्रम्हायणी पीठमा शनिबार सम्पन्न गरेको छ ।
साधारणसभाको प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले हरेक प्रस्तावहरु साधारणसभाबाट छलफल, संवाद र बहसबाट पारित गर्नु साधारणसभाको महत्व रहेको बताउनुभयो । सरकारले सबै सहकारीलाई कमाइ खाने धन्दाको रुपमा केलाउँदै विभिन्न नीति तथा निर्देशनहरु ल्याउँदा बहुसंख्यक जनताबाट स्थापित सामुदायिक सहकारीहरुलाई समस्यामा पारेको बताउँदै उहाँले एउटा नीति लागु नहुँदै अर्को जारी हुनुले सरकारको कुनै दूरदर्शिता नभएको स्पष्ट पार्नुभयो । उहाँले बैंक दुब्ने कारण सहकारी ठानेकाले सहकारीप्रति आक्रामक रुपमा ल्याएका यस्ता नीति निर्देशनले ऐचोपैचोबारे सरकारलाई कुनै ज्ञान नभएको औल्याउनुभयो । साथै विदेशको शिक्षाले नेपाली जनताको चाहना बमोजिम काम गर्न नसकेको औंल्याउँदै सहकारीहरुमा थुप्रिएको तरलताको लगानी व्यवस्थापनका लागि सरकारले चासो नदेखाएको उहाँको भनाइ छ । देशमा सुशासनका नाउँमा विभिन्न नीति नियमहरु परिवर्तन गरिरहे पनि वर्तमान सरकारले देश निर्माणभन्दा बिगार्नमा महत्व दिएको बताउनुभयो । वर्तमान सरकार उच्च जीवन उच्च विचारको सोच भएका उच्च घरानाबाट चलेकाले सामुदायिक सहकारीलाई निमोठ्ने प्रकारले नीति ल्याएको स्पष्ट पार्नुभयो । साथै उहाँले समस्याग्रस्त सहकारीमा सरकारले अनुगमन गर्न नसकेको बताउँदै उहाँले अनावश्यक नीति नियम र मापदण्डको पालना नगर्न सामुहिक रुपमा प्रतिकार गर्न सहकारी सम्बद्ध विभिन्न संघ संस्थाबाट कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सधै पैसालाई मात्र हेर्न नहुने बताउँदै संस्थाले संस्था चलाउने व्यक्तिमा कुनै खोट नल्याउन भक्तपुर बचतले सहकारिता ः लगनशीलता र पारदर्शिता हाम्रो प्रतिबद्धता नारालाई २५ वर्षअघिदेखि सार्थक तुल्याउँदै काम गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले सहकारी प्राधिकरणले ल्याएका विभिन्न नीतिले संस्था चलाउने पदाधिकारीको खडेरी पर्ने बताउँदै सक्ने कुरामा सदस्यसँग आवश्यक छलफल गरी एक एक पाइला अघि बढाउने स्पष्ट पार्नुभयो । सहकारी संस्थालाई संकुचन गर्न, बन्द गर्न वा बैंकमा कारोबार गर्न लगाउन यस्तो निर्देशनहरु आएको बताउँदै उहाँले समग्र सहकारी अभियानका लागि यो संस्थाले सम्बन्धित ठाउँमा आवश्यक पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष राम प्रसाद प्रजापतिबाट प्रस्तुत आ.व. २०८२÷०८३ को सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०८३÷०८४ को अनुमानित बजेत तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिका संयोजक जितेन्द्र ज्याख्वबाट प्रस्तुत लेखा सुपरिवेक्षण समितिको आ.व. २०८२÷०८३ को प्रतिवेदन, सचिव जगनाथ प्रजापतिबाट प्रस्तुत आ.व. २०८२÷०८३ को जोखिम विश्लेषण प्रतिवेदन, वाह्य लेखा परीक्षक एस. भण्डारी एण्ड एसोसिएट्सद्वारा प्रस्तुत आ. व. २०८२÷०८३ को एनएफआरएसमा तयार गरिएको वाह्य लेखा परीक्षण प्रतिवेदन, आ.व. २०८३÷०८४ को लागि एनएफआरएस मा बि.आर.बि.एस एण्ड एसोसिएट्सका सि.ए. विजय सुकुपायोलार्य नियुक्ति र निजको पारिश्रमिक निर्धारण, सहकारी ऐन २०७४ को दफा ६९ अनुसार आ.व. २०८२÷०८३ को संरक्षित पूँजी फिर्ता कोषको रकम सदस्यलाई वितरण, स्थिरीकरण कोषको रकम जगेडा कोषमा पठाउने, आ.व. २०८२÷०८२ को सामुदायिक विकास कोषको रकम ५० प्रतिशत भक्तपुर आदर निकेतनलाई सहयोग प्रदान गर्ने, आ.व. २०८२÷०८३ को शेयर लाभांश करसहित १५ प्रतिशतका दरले प्रदान गर्ने, माइन्यूट प्रमाणिकरण लगायतका प्रस्तावहरु सभाबाट पारित गरेको छ ।
कार्यक्रममा आ.व. २०८२÷०८३ मा असल ऋणी हुन सफल ३ सय ४७ जना ऋणीको नाम घोषणा गर्दै व्यवस्थापक सत्यनारायण साँयजुले असल ऋणी हुन सफल सबैलाई संस्थाले २०८३ भाद्रदेखि २०८३ श्रावणसम्म ०.५० प्रतिशत व्याजदर छुट दिने निर्णय भएको बताउनुभयो ।
सभाको दोस्रो चरणमा सदस्यहरु केदार कुसी, विष्णुभक्त कुसी, रामकाजी खाइजू, रविन्द्र प्रसाद कुसी, सत्यनारायण प्रजापतिलगायतले राखेको जिज्ञासालाई सञ्चालक अध्यक्ष निर्मल प्रजापति, कोषाध्यक्ष राम प्रसाद प्रजापति, सचिव जगनाथ प्रजापतिले स्पष्ट पारेका थिए ।
संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले स्वागत गर्दै प्राधिकरणले ल्याएका नीति निर्देशनको खण्डन गरेको छ । उक्त कार्यक्रममा १० महिने तालिमबाट प्रशिक्षित प्रशिक्षार्थीहरुबाट नौ बाजाको प्रदर्शनी र फाकंदली नाचको प्रस्तुती भएको थियो ।
१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न












Leave a Reply