भक्तपुर, भदौ २३ गते। नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको आयोजनामा नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक बी.पी. कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा ‘बी.पी. विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठी आयोजना हुने भएको छ।
जिल्ला कार्यसमितिले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार बी.पी. कोइरालाले प्रतिपादन गर्नुभएको राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्श तथा वर्तमान राष्ट्रिय राजनीतिको समसामयिक अवस्थाका विषयमा गहन छलफल गर्ने उद्देश्यले गोष्ठी आयोजना गर्न लागिएको हो।
कार्यक्रम कुनै गुट वा समूहको भेला नभई नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको आधिकारिक कार्यक्रम भएको विज्ञप्तिमा स्पष्ट गरिएको छ। कार्यक्रममा लोकतन्त्रवादी विचारधारामा विश्वास राख्ने नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थितिका लागि जिल्ला कार्यसमितिले आह्वान गरेको छ।
विचार गोष्ठी यही भदौ २४ गते दिउँसो १ बजे भक्तपुरको राधेराधेस्थित हेरिटेज पार्टी प्यालेसमा आयोजना हुनेछ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सभापति दुर्लभ थापा क्षेत्रीद्वारा जारी विज्ञप्तिमा बी.पी. कोइरालाको राजनीतिक विचार र वर्तमान राष्ट्रिय राजनीतिको अवस्थामाथि छलफल गरी लोकतान्त्रिक तथा समाजवादी आदर्शलाई समसामयिक सन्दर्भमा अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।












Leave a Reply