काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम युद्धस्तरमा सञ्चालन गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ। महासङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ भदौ १० गते बुधबार बिहान करिब ९ बजे तिब्बततर्फबाट एक्कासी आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रु, मैलुङ, शान्तिबजार, त्रिशूली, वेत्रावती र गजुरीलगायतका बस्तीमा ठूलो क्षति पुर्याएको छ। विज्ञप्तिमा बाढीमा परी ठूलो सङ्ख्यामा नागरिकको मृत्यु भएको, हजारौँ मानिस प्रभावित तथा बेपत्ता भएको र घाइतेहरूको उद्धार तथा उपचार भइरहेको उल्लेख गरिएको छ। महासङ्घले बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। महासङ्घले बेपत्ता नागरिकहरूको यथाशीघ्र खोजी तथा उद्धार गर्न, विस्थापित तथा घरबारविहीन परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई उचित आवास, खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ। चिनियाँ सञ्चारमाध्यम तथा भूगर्भविद्हरूबाट प्राप्त जानकारीअनुसार हिमपहिरोका कारण थुनिएको भनिएको हिमनदी पुनः फुट्न सक्ने र थप ठूलो बाढी आउन सक्ने सम्भावनाप्रति पनि महासङ्घले गम्भीर ध्यानाकर्षण गराएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन तथा सम्बन्धित सरकारी निकायलाई आवश्यक पूर्वतयारी, पूर्वसूचना प्रणाली, उद्धार र राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन माग गरिएको छ। प्राकृतिक विपत्तिको यस गम्भीर घडीमा पार्टीको निर्देशनअनुसार अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति तथा सम्पूर्ण संगठनका साथीहरूलाई बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सहयोगका कार्यमा सक्रियतापूर्वक परिचालित हुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ। महासङ्घले सम्पूर्ण कलाकार, साहित्यकार, लेखक, संस्कृतिकर्मी तथा सचेत नागरिकलाई समेत मानवीय सेवाको भावनाका साथ विपद् प्रभावित जनताको उद्धार र राहतमा जुट्न हार्दिक अपिल गरेको छ। प्रेस विज्ञप्तिमा महासङ्घकी अध्यक्ष माइसा सी र महासचिव कुशल सीले हस्ताक्षर गरेका छन्।












Leave a Reply