कालिघाट पुस्तकालयमा नेपाल पुस्तकालय संघका पूर्व अध्यक्षको अवलोकन
भक्तपुर कासन ब्यासीमा अवस्थित कालिघाट पुस्तकालयको नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष आई.पी. अधिकारीले अवलोकन गर्नुभएको छ।
अवलोकनका क्रममा पूर्व अध्यक्ष अधिकारीले पुस्तकालयलाई पाठकहरू “पढौँ–पढौँ र बसौँ–बसौँ लाग्ने” वातावरण बनाउन सकेमा पुस्तकालयमा आउने पाठकहरूको संख्या वृद्धि हुने बताउनुभयो। उहाँले पुस्तकालयमा नियमित रूपमा अन्तर्क्रिया, गोष्ठी तथा छलफल कार्यक्रम सञ्चालन गरी विचार आदान–प्रदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। साथै, आगामी भाद्र १५ गते मनाइने पुस्तकालय दिवसमा सक्रिय रूपमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो।
कार्यक्रममा कालिघाट पुस्तकालयका अध्यक्ष राजकुमार लघुले पुस्तकालयको गतिविधिबारे जानकारी दिँदै स्थानीयवासीहरूले विभिन्न विषयका पुस्तकहरू उपलब्ध गराई पुस्तकालयको विकासमा सहयोग गर्दै आएको बताउनुभयो। उहाँका अनुसार पुस्तकालय हाल बिहान र दिउँसो नियमित रूपमा सञ्चालन भइरहेको छ। पुस्तकालयको दीगो विकासका लागि अक्षयकोषसमेत स्थापना भइसकेको जानकारी उहाँले दिनुभयो।
पुस्तकालयको अवलोकनका लागि आउनुभएकोमा अध्यक्ष लघुले पूर्व अध्यक्ष आई.पी. अधिकारीप्रति आभार व्यक्त गर्दै उहाँलाई खादा ओढाएर सम्मान गर्नुभयो।
कार्यक्रममा कृष्ण महत्त्वले कालिघाट पुस्तकालयका गतिविधि तथा अवस्थाबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा पुस्तकालयका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।












Leave a Reply