विपन्न तथा मेधावी विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजको छात्रवृत्ति

भक्तपुर — मेधावी तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेज र मधुसूदन भण्डारी मेमोरियल फाउण्डेसनबीच छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार सन् २०२६ को स्प्रिङ इन्टेकअन्तर्गत नेपाल इन्जिनियरिङ कलेजमा स्नातकोत्तर तहमा अध्ययन गर्ने एक जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्नेछन्।
छात्रवृत्तिका लागि उत्कृष्ट शैक्षिक अभिलेख भएका, आर्थिक रूपमा विपन्न तथा नेपालका दुर्गम क्षेत्रबाट आएका विद्यार्थीलाई प्राथमिकता दिइने जनाइएको छ। यसबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका योग्य विद्यार्थीलाई इन्जिनियरिङ शिक्षाको अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
नेपाल इन्जिनियरिङ कलेजले योग्य तथा प्रतिभाशाली विद्यार्थीलाई गुणस्तरीय इन्जिनियरिङ शिक्षा उपलब्ध गराउने उद्देश्यले विभिन्न संघ–संस्थासँगको सहकार्यमा नियमित रूपमा छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ।
कलेजका अनुसार विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तिमा वार्षिक करिब १५ करोड रुपैयाँ बराबरको रकम खर्च हुने गरेको छ। छात्रवृत्ति कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउँदै आएको कलेजको भनाइ छ।
मधुसूदन भण्डारी मेमोरियल फाउण्डेसनसँगको पछिल्लो सहकार्यले पनि दुर्गम तथा आर्थिक रूपमा विपन्न पृष्ठभूमिका विद्यार्थीलाई प्राविधिक उच्च शिक्षामा पहुँच बढाउन थप सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *