मध्यपुर थिमीमा स्वबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

मध्यपुर थिमी । नापी कार्यालय भक्तपुरको आयोजनामा मध्यपुर थिमी नगरपालिका–८ मा स्वबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले स्वबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको अभावमा स्थानीयवासीले विभिन्न समस्या भोग्दै आएको बताउनुभयो। उहाँले भक्तपुर जिल्लामा भूमिहीन तथा सुकुम्बासीको समस्या हेर्दा मध्यपुर थिमी क्षेत्रमा संख्या बढी रहेको उल्लेख गर्दै भूमिहीन तथा किसानलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्य सुरु गरिएको बताउनुभयो।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै स्वबासीलाई पुर्जा उपलब्ध गराउन नगरपालिकाले गरेको लामो संघर्ष र पहलका बारेमा जानकारी दिनुभयो।
नापी कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमी नगरपालिका–८, बोडे क्षेत्रमा ४२१ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी रहेको छ। सोही कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज ११ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिका–८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेपछि भूमिहीन तथा स्वबासीले विभिन्न कानुनी तथा सामाजिक अधिकार प्राप्त गर्ने बाटो खुल्ने भएकाले कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रममा सभासद्हरू रुकेश रञ्जित, राजीव खत्री र प्रमिला कुलुजुको समेत उपस्थिति रहेको थियो।
लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको पर्खाइमा रहेका स्थानीयवासीले पुर्जा प्राप्त गरेपछि आफ्नो जग्गाको कानुनी स्वामित्व सुनिश्चित हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *